काठमाडौं । ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ग्रन्थको पूर्व प्रधानन्यायाधीश श्री अनुपराज शर्मा, शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मा र महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले आज राजधानी काठमाडौँमा सामूहिक लोकार्पण गर्नुभयो ।

समारोहमा समालोचक प्रा.केशव सुवेदीले सो ग्रन्थबारे समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले ग्रन्थका बारेमा मन्तव्य प्रकट गर्नुभएको थियो ।

नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईबाट सम्पादित ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ग्रन्थमा पूर्वप्रधानमन्त्री विष्टको राष्ट्रिय राजनीतिक योगदानको चित्र प्रस्तुत गरिएको छ । सो ग्रन्थ नइ प्रकाशनको १८३ औँ कृतिका रुपमा प्रकाशित भएको हो ।

‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक ५८८ पृष्ठको ग्रन्थमा प्रधानमन्त्री केपी शर्मा वली, पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल, राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, सीपी मैनाली, पशुपतिशमशेर राणा, नवराज सुवेदी, अर्जुननरसिंह केसी, कमल थापा, डा.भेषबहादुर थापा, भद्रकुमारी घले, कृष्णप्रसाद भण्डारी, लोकमानसिंह कार्कीसमेत ६९ जना स्वनामधन्य व्यक्तिहरूका लेखहरु समेटिएका छन् ।