साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा विभिन्न कार्यक्रम मनाइरहेको संघले पुस्तक समालोचना र समीक्षामा योगदान पुर्‍याएका दुई दुईजना समालोचक तथा समीक्षकलाई सम्मानित गर्ने भएको छ ।

सम्मानतर्फ ‘सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान–२०७९’बाट वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीलाई सम्मानित गरिने भएको छ ।

सोही कार्यक्रममा ‘सापस स्वर्ण महोत्सव समीक्षा सम्मान–२०७९’बाट समीक्षकहरू ज्ञानु अधिकारी र छविरमण सिलवाललाई सम्मानित गरिने भएको छ ।

संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

दुवै सम्मान छनोटका लागि वरिष्ठ साहित्यकारहरू श्रीओम श्रेष्ठ “रोदन” संयोजक, हिरण्यकुमारी पाठक र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समिति बनेको थियो ।