सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको हास्यव्यङ्ग्य कविता प्रतियोगितामा ५ कविहरू पुरस्कृत हुनु भएको छ ।
वैशाख १९ गते स्थापना दिवसको सन्दर्भमा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा भक्तपुरका डिल्लीप्रसाद मुलतिहुनको कविता जाँडरक्सी महोत्सव पहिलो, मकवानपुरका कवि प्रभास घिमिरेको कविता बाँदर द्वितीय, सुनसरीका कवि सुरज पराजुलीको कविता फलानोले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्यो।
यस्तै कास्कीका कवि संयोग बस्यालको हामी तथा कमल घिमिरेको नेताज्यूलाई स्वागत छ कविताहरूले सान्त्वना स्थान प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमशः रु. १५ हजार, १० हजार र ५ हजार रहेको थियो भने सान्त्वना २ जनाका लागि रु. ३ हजार रूपैयाँ रहेको छ । साथै अन्य सहभागीहरूलाई बाटो खर्चबापत केही रकम प्रदान गरिएको थियो ।
देशभरबाट प्राप्त ८१ कवितामध्ये २५ कविता पहिलो चरणमा समावेश गरी वाचन गराइएको थियो । जसमध्ये ५ जना कविहरू अनुपस्थित रहेका थिए । विषयवस्तु लेखन, हास्यव्यङ्ग्यको प्रयोग तथा वाचन लगायतका विविध विधालाई आधार मानी गरिएको मूल्याङ्कनमा १०० पूर्णाङ्कलाई आधार मानिएको थियो । पहिलो चरणमा नरनाथ लुइँटेल, निमेष निखिल तथा आरसी रिजाल निर्णायक रहनु भयो भने दोश्रो चरणमा नरनाथ लुइटेल र निमेष निखिलले मूल्याङ्कन गर्नु भएको थियो ।
कार्यक्रम सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता, सिस्नुपानी नेपालका संस्थापक तथा सल्लाहकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । अध्यक्ष सिग्देलले स्थानीय सरकारले बाटोघाटो, स्लाब ढलान, भवन निर्माण मात्र नभई साहित्य सिर्जना, कला, भाषा, शिक्षा आदिको विकासमा जोड दिन शुरु गरेको बताउनु भयो । साथै साहित्य तथा बौद्धिक क्षेत्रमा गरिएको लगानीले उन्नत भविष्य निर्माणमा ठूलो टेवा पुग्ने तथा हास्यव्यङ्ग्यले समाजका विभिन्न क्षेत्रमा रहेका विसंगति, विकृतिलाई उठान गर्ने र सुधारका लागि सुझाव मिल्ने समेत बताउनु भयो ।
कार्यक्रममा सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले हास्यव्यङ्ग्य विधा समाजको ऐनाका रूपमा विकास हुनुपर्ने तथा यस्ता प्रतियोगिताहरूले हास्यव्यङ्ग्य लेखनमा हौसला पुग्ने बताउनु भयो । कार्यक्रममा मकवानपुरका सर्जकहरूको तर्फबाट सर्जक सञ्जालका संयोजक निमेष निखिल तथा आँचल साहित्य कलाकी अध्यक्ष भावना सापकोटाले सम्पूर्ण साहित्यकारहरूको तर्फबाट प्रतिनिधित्व गर्नुभयो ।
मकवानपुर बाहिरका सहभागी प्रतियोगी, सर्जकहरूलाई खाना तथा आवासको व्यवस्थाका लागि सहयोगस्वरुप कैलाश ढकालले सूर्यान्स होटल, होटल लियो इन, होटल एभोकाडो तथा होटल क्वीक ट्वेन्टी सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा मकवानपुर लगायत विभिन्न जिल्लाका साहित्य सर्जकहरू, साहित्य अनुरागी, समाजसेवी, साहित्य सेवी, पत्रकार, कर्मचारी, तथा नवसर्जकहरू उल्लेख्य उपस्थिति रह्यो ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को प्रवर्द्धनमा आयोजना गरिएको हो । २०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपालको जिल्ला शाखा मकवानपुर हास्यव्यङ्ग्य सिर्जना, बहस, वाचन तथा प्रतियोगितामार्फत् सक्रिय रही आएको छ । रोयल पार्टी प्यालेस हेटौंडामा आयोजित कार्यक्रम सिस्नुपानी मकवानपुरका सचिव गोविन्द पौडेलले सहजीकरण गर्नु भएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 









