साहित्यकार अनुराधा ढकालकाे मुक्तकसङ्ग्रह ‘आरब्ध’माथि चैत्र २९ गते बुधबार रूपन्देहीको सिद्धार्थनगरमा परिचर्चा कार्यक्रम सम्पन्न गरियो ।

नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँद्वारा प्रकाशित तथा सोही संस्थाद्वारा चैत १८ गते राजधानीमा लोकार्पित ४ सय ८ वटा मुक्तक समाविष्ट उक्त कृतिको परिचर्चा गरिएको हो ।

सिद्धार्थ साहित्य परिषद्, रूपन्देहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. कपिलदेव लामिछानेले आफ्नो पहिलो कृतिमार्फत अनुराधा सशक्त रूपमा साहित्यमा अग्रसर भएको औंल्याउनुभयो । उहाँले आगामी दिनमा योभन्दा अब्बल कृतिमार्फत आउन कृतिकार ढकाललाई शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा उक्त कृतिको सैद्धान्तिक र संरचनागत रूपमा चिरफार गर्दै मुक्तककार रुद्र ज्ञवाली र कवि तेजप्रसाद पन्थले समकालीन मुक्तक लेखनमा अनुराधा ढकाल बलियो सम्भावनाको खम्बा बनेको उल्लेख गर्नुभयो ।

समीक्षकले गर्ने प्रशंसा र आलोचनाभन्दा पाठकवर्गबाटै कृतिको साँचो र सार्थक मूल्याङ्कन हुनेमा उहाँहरूको जोड थियो।

परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता र साहित्यकार विजय सागरको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा गजलकार प्राज्ञ बूँद राना, आख्यानकार वनमाली निराकार, साहित्यकार डा. लक्ष्मी पोख्रेल, लक्ष्मण ज्ञवाली, यज्ञलाल सुवेदी, सरु ज्ञवाली, विजय पाण्डे, नारायण भण्डारी लगायतले कृतिबारे आफ्ना धारणा प्रस्तुत गर्दै कृतिकारलाई बधाई एवम् शुभकामना प्रकट गर्नुभयो।

मुक्तककार अनुराधा ढकालले समीक्षकबाट आफूलाई प्राप्त हौसलामा गौरवबोध गर्दै कमीकमजोरीलाई सच्याई आगामी दिनमा साहित्य लेखनमा क्रियाशील भइरहने उल्लेख गर्नुभयो । उहाँले भैरहवामा आफ्नो बसाइको पन्ध्र वर्षको अवधिमा भएको सक्रियता एवम् साहित्यिक सङ्गतका उपजका रूपमा ‘आरब्ध’ प्रकाशन हुन सफल भएको बताउनुभयो ।

सिद्धार्थ साहित्य परिषद्का सहसचिव कृष्णप्रसाद बस्यालको स्वागत तथा सचिव लक्ष्मीप्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। शब्दपथ