
सुजता बस्याल
छोरा
पटक पटक
इस्टकोटको
च्यात्तिएको खल्तीतिर
आँखा नडुला
तेरो बा सँग
न
खल्तीमा राख्नका लागि केही छ
न
खल्ती सिउन सक्ने हैसियत छ
छोरा
पूँजीका नाममा
पूँजीवालाहरुले
धेरैथोक गरे
आन्दोलन भयो
योजना थपिए
बजेट थपियो
सबैको जमिन बढ्यो
तर छोरा
तेरो बा को भने
खातामा ऋण र
थाप्लोमा पीर बाहेक
केही बढेन
छोरा
तैँले पढेको छस्
संसार बुझेको छस्
तर छोरा
यिनीहरु खतरा छन्
यिनीहरु
सोझो गरिबी पुर्न
खाडल खन्न लगाएर
निस्किएको माटोले तँलाई छोप्नेछन्
र
भन्नेछन्
गरिबी हराइसक्यो
यिनीहरुको अगाडि
आँसु नदेखाउनु
आँसु बटुलेर
मरूभूमिमा पोख्नेछन्
र
तँलाई नै खोज्न लगाउनेछन्
यही देखाउन कि
अब दुःखी कोही रहेन
तँ
आफ्नो आँसुको मुल्य
रगतको भाउमा
आफै चुकाउनु पर्ने ठाउँमा जन्मिएको छस्
दलालहरु
बेच्छन् जान्छन्
हत्याराहरु
मार्छन् जान्छन्
यिनीहरु त
हत्या गरेर बेच्छन्
त्यसैले
विपत्तिको सङ्केत दिई
विद्रोह अल्झाएर
विनाश गर्नेबाट
प…रै बस्नु
तैँले
यो पत्र पढ्दासम्म
धावा बोलेका
शासकको निजि धारा बमोजिम
पठाउनेको अघि
स्व. लेखिनेछ
छोरा
तेरो बाबु
स्वर्ग पुग्दैछ
तर
तँ
मलाई
नपछ्याउनु है ।
उमेरः १७
पाल्पा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 







