१. कसुर

विष्णुप्रसाद आचार्य “अतृप्त”

-“मान्छे चिनियो नि त, भो छाडिदिऊँ!”
यसो भन्दै उसका सयौं कसुर माफ गरिदिएँ

जब कसुर हजार नाघ्यो
अनायासै यसरी भाषा फेरिएछ
-“नाङ्गै नाच्नेको सामु आँखा छोपेकै वेश
भो, छाडिदिऊँ!”

चाङमाथि चाङ कसुर थपिदै गएपछि
एक दिन आँट गरेरै प्रश्न सोधेँ
-“आखिर के कसुर गरेको छु मैले?”

उसले नधकाई कन जवाफ दियो
-“मेरा कसुरहरू सहिरहने कसुर गरेका छौ।”

 

२. निषेधाज्ञा

ए हठी बादल !
तिमीलाई
घामको भूगोल ढाक्ने गरी
विरोधको कालो झन्डा फहराउन
सख्त निषेध गरिएको छ

तल हेर त
एउटा कवि
साहित्यको मान्द्रोमा
विचारको बिस्कुन फिँजाएर
परिवर्तनको पहारिलो घाम कुरिबसेको छ!

विदुर- ५, नुवाकोट
हाल: तारकेश्वर- २, काठमाडौँ ।