घुप्प चकमन्न रातमा
झ्याँउकीरी गनगन सँग
सम्झौता गर्छ रात र बिहानीको बाटो हेर्छ,

बिहानी,
चिसो शीतमा अलमस्तिएर,
सुस्तरी आँखा उघार्छ, मुसुक्क हाँस्छ,

सुशील नेपाल

उज्यालो छर्छ र सुस्तरी आङ तान्छ,
र भूइँलाइ लम्पसारिएर,
अभिवादन गर्छ ।

र दिन ,
यौवनको पूर्ण आवरणमा सजिएर
दैलौमा आँफूलाइ फैलाएर
प्रकाश छर्न पाएकोमा
धन्य ठान्छ,

उज्यालो हुनासाथ
चराहरू चीरवीर चीरवीर गर्दै
बाच्ने जोहो गर्छन्,
पानीहाँसहरू पोखरीमा अलमस्तिर तैरिन्छन्,
भूराहरू बल्छी हालेर माछा मार्न बस्छन्,
खर्पनमा रायोको साग, चमसुर पालुङ्गाेहरू,
काँध चढेर शहर पस्छन् !

हुस्सु लागेको बिहानी,
पाहाडको कुहिनोबाट घाम शनै शनै
चियाएर विस्तारै सारनकोटको कफी टेवुलमा
थपक्क लम्पसारिन्छ,
हिमाल हाँसेर उज्यालो अनुहारले
आकासतिर हेरेको देखिन्छ,
चारैतिर जीवनका प्रतिक र विम्वहरू,
चलमलाउँछन्,
फेरि रात पर्छ,

थकान मेटने वहानामा रक्सी धोक्छन कोही,
त कोही भोकै सुत्छन्,
फेरि बिहानी आउँछ,
फेरि,चराहरू चीरवीर चीरवीर गर्छन,
फेरि उज्यालो हुन्छ,
जीवन सलवलाउछन्,
फेरि अविरल कथा बन्छ
र, यसरी शुभारम्भ हुन्छ,
एउटा नयाँ बिहानीको कथा !

अमेरिका