ध्रुवकुमार सापकोटा (नेदरल्यान्ड्स)

रातको अन्तिम प्रहर देखि
ढिकी जाँतो गरेको
भालेको पहिलो डाकसँगै
चारकोस परबाट उकाली ओराली गर्दै
पानीले भरी गाग्रो ल्याएको
अनि मध्यान्नको टन्टलापुर घाममा
दाउरा-घाँस गर्न जङ्गलतिर पसेकी
तिम्री आमाका
जिकिर धेरै गर्यौ तिमीले !

म, तिम्रो आमाको लोग्ने – तिम्रो बाउ
सँगैसँगै जिन्दगी जिउँदै आएको
एउटै घाम, एउटै पानी खाएको
एउटै छहारीमा बास बसेको
कहिले पनि जिकिर गरेनौ तिमीले मेरा कथाहरूको ।

मुटु फुट्ने गरी फुटाएर चट्टान – खेती आर्जन गरेको
असार-साउनको दर्के पानीमा
त्यो गैह्री खेतको हिलोमा
तारे र माले नारेर हलो जोतेको
कहिले जिकिर गरेनौ ।

आमाले तिमीलाई नौ महिना गर्भमा राखेको कुरा
उखान, उपमा र थुप्रै थुप्रै उदाहरण समेत बनायौ जताततै !
तिमी गर्भमा छँदा
जोरजाम गर्न
दुई छाक मिठो मसिनो
तिम्री आमाको लागि
रातदिन पसिना बगाउने
तिम्री आमासँगै
त्यो अस्पातल, वैद्यखाना धाउने
जसोतसो दु:ख, सापट गरी डाक्टरको फिस जुटाउने
तिमीलाई जन्माउन अस्पतालको शैय्यामा तिम्री आमा सुतिरहँदा
बाहिर चिसो छिँडीमा रात बिताउने
अनि प्रशव पीडाले छटपटाइरहेकी तिम्री आमाको
पीडासँगै आँसु बहाउने
त्यो तिम्रो आमाको लोग्नेको जिकिर कहिले गरेनौ !

तिमीलाई यो पनि थाहा होला –
तिमीहरूको मुखमा चारो हाल्न
रातदिन हाड घोट्टिँदा पनि धौधौ हुन्थ्यो
तिमीले फगत देख्यौ –
आमाले घरमा चुलो बालेको

यो देखेनौ –
तिम्रो बाउ दुई चार पैसा कमाउन
मुग्लान छिरेको
पटना,
लखनउ,
मद्रास,
हैदराबाद,
कलकत्ता,
दिल्लीको
गर्मीमा पिल्सियो तिम्रो बाउ

बन्धकी राखेर आफैँलाई
भान्से भएँ, नोकर भएँ
महाजनको सुरक्षाको ठेकेदार भएँ
नाम फेरियो मेरो –
कान्छा भएँ, बहादुर भएँ , चौकीदार भएँ !

म खाडीको मरुभूमिमा
उँट र भेडा चराउने गोठालो
यो सब कस्का लागि !
तिमीले कहिले सोचेनौ
कहिले जिकिर गरेनौ !

पढ्यौ तिमीले जताततै
सुन्यौ धेरैको मुखबाट
गोर्खाली सेनाको वीरगाथा

फकल्यान्डको लडाईंमा
प्रथम विश्वयुद्धमा
दोस्रो विश्वयुद्धमा
हिटलर र मुसोलिनीलाई साथ दिने
कहिले बेलायतको पक्षमा
गुर्खाले देखाएको बहादुरी
पाएको सम्मान ‘भिक्टोरिया क्रस’

तर

तिमीले कहिले सोचेनौ – म त्यो बहादुरीको लागि लडेको थिइनँ
कुनै तक्मा र सम्मानको निम्ति घर-परिवार छाडेको थिइनँ
दुई चार पैसा कमाउने आशले सेनामा भर्ती भएको थिएँ
यही परिवार पाल्न तिम्रा लागि ।

निदरल्यान्ड्स