
सन्तोष राज भट्ट
तिमीले कालो पाटीमा सेतो ‘क’ लेख्दै गर्दा
म मेरा बा’लाई त्यै कालोपाटी बनाउन सघाउँदै थिएँ
त्यो बेला मेरा बा’ले ८ रुपियाँ मोल तोकेको त्यो पाटी
साहुजीले ६ रुपियाँमा किन्दा मेरो १ छाक खाना घट्थ्यो
तिमी त्यो कालो पाटी बोक्थ्यौ, म त्यो कालो पाटी बनाउने दाउरा बोक्थेँ
आज तिमी पैसाले थोक किन्छौ, म पसिनाले थोक किन्छु
म शिक्षित छैन, त्यसैले मेरो हिसाब गर्ने तरिका नि बेग्लै छ
म १ लिटर पसिनाले घरको १ छाक खाना किन्छु
१ किमि पैदल यात्राले छोरीको बिस्कुट किन्छु
केही जाडो सहेर छोराको जुत्ता किन्छु ।
त्यो फोहोर मलाई नि फोहरै लाग्छ
म एक बोरा फोहोरले केही सफा किन्छु ।
मदिरा हानिकारक छ भनी लेखिएका
खाली बोतलहरूले म मेरा बा’को औषधी किन्छु ।
१२ घण्टा हिन्ने यी मेरा पैतलाले सधैँ धर्तीलाई छुन्छन्
पैतलाको पीडा म सहन्छु, यो पीडाले म मेरो घरको छाना किन्छु
कहिले मलाई आफ्नै व्यापार अनौठो लाग्छ
म भोलि किन्न आज बेच्छु
जिन्दगी किन्न म जिन्दगी बेच्छु ।
सन्तोष राज भट्ट
महेन्द्रनगर, कन्चनपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 









