
अजित विश्व ‘वियोगी’ (दार्जीलिङ)
रूखका हाँगाहरूलाई थाहा छ
एकदिन
उसलाई पातले छाडेर जानेछ ।
गुलाबका बोटहरूलाई पनि राम्ररी थाहा छ
कि कोपिलादेखि सँगै फक्रिएर पनि
एकदिन
फूलले माया मारेर जानेछ ।
गाउँकी ठूलीदिदीलाई थाहा छ
कलकल बगिरहेको खोल्छी धारा
हिउँद लागेपछि
सुके रनै जानेछ ।
हेर्दाहेर्दै यो उज्यालो
अँध्यारोसित लुकेरै जानेछ ।
धर्तीका झारहरूलाई पनि
थाहा भइसकेको थियो
कि रातभरिसँगै भएर पनि
घाम देख्नासाथै बिलाएर जानेछ शीत
हारलाई अगावै थाहा थियो
कि उसको कहिल्यै हुने छैन जित ।
यी सबैलाई
सबै कुरा थाहा भए पनि
कसैले छाडेर गए पनि
तिमीले भने मलाई
यसरी छाडेर जानेछौ भनेर
मलाई केही थाहै थिएन ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ असार २०८३, सोमबार 







