मणिकुमार श्रेष्ठ सिजन/मेनुका श्रेष्ठ
पुनर्जन्म
कसैले भन्छन्
जीवन फेरि आउनेछ
नयाँ रङ दिनेछ
अँध्यारोको गर्भको
आशामा लुकेका सपनाहरू
हृदयका गहिराईमा बाँचिरहेका छन्
पछाडि फर्केर हेर्दा
भुतको छाया देखिन्छ
कसैले बाँच्यो यहाँ
अर्कैको मायामा ओढेर
धारणामा लुकेको त्यो चाँदनी क्षण
कति खतरनाक छ
यो पुनर्जन्मको भजन
जीवनका चक्रहरूमा
दुःखका रागहरू बिलाउँदैन
दिवा सपना भइसक्यो
रातका ती मागहरू
पुनर्जन्मको डरले
छोपिएका हरियाली फाँट
कुन चक्रमा बाँधिन्छ
कस्तो शान्तिको फेरमा
अडिन्छन् मायाहरू
यो जीवनको कथा
अनन्त कालको खेल रहेछ
पुनर्जन्मको यात्रा
बुझ्न सके सम्बन्धको मेल रहेछ
खतरनाक हो र जीवन
यो गहिरो पर्खालभित्र
पुनर्जन्मको सन्देश दिएर
जानुछ एकदिन धर्तिबाट विलिन भएर ।
*
आत्माको खोज
म खोज्दैछु त्यो आत्मालाई
जसले बोकेको छ शान्तिको स्वर
जीवनका संघर्षहरू
अमर, अटल र अमूल्य रहने आधार
शरीर नाश हुन्छ, माटोमा मिल्छ
आत्मा त अमर छ, जहाँ जीवन छ
न जन्मको, न मृत्युको भय
केवल पिँजडामै उडिरहन्छ
त्यो शून्यमा रम्ने दिव्य प्रकाश हो आत्मा
जसले बुझाउँछ जीवनको आश
आँशु पिएर बाँच्न सिकाउँछ
प्रेमको फूललाई फुलाउँदै त्यो गगनमा
आत्माको न धर्ममा हुन्छ, न कुनै जातमा
ऊ त सबैको एकतामा लीन छ
जसले जोडी राखेको छ सबलाई
हृदयको धड्कनमा अविरल धड्किएर
त्यो नै हो जीवनको सच्चाई हो
अमर, अजर, अविनाशी बनेर
हाम्रो हृदयमा बसेर ऊ बोलेको छ
सत्यको मार्ग देखाई आत्मा हाँसिरहेको छ ।
*
मन
मन त बगेको खोला रहेछ
जहाँ विचारका बाछिटाहरू आउँछ
कहिले खुशीका तरङ्ग भरिएर
कहिले दुःखका गहिराईमा हराउँछ
मन त खुल्ला आकाश रहेछ
जहाँ सपनाका पक्षीहरू उड्छन्
कहिले आशाका पातमा विश्राम लिएर
कहिले निराशाको बादलमा लुकेर आउँछ
मन त एउटा काँचका झ्याल रहेछ
जसमा सम्झनाका चित्रहरू सजिन्छन्
कहिले रून्छ बिदाइका खण्डहरमा बसेर
कहिले मिलनको मुस्कानमा झुल्किन्छ
मन त एक रहस्यमयी किताब रहेछ
जहाँ छ अनगिन्ती कथाको बास
कहिले दोधार हुन्छ आफैँलाई नचिनेर
कहिले आत्माको गहिराईमा पुगेर बस्छ
केवल मन तिमीलाई थाम्न गाह्रो छ
कहाँ पुग्ने हो ?
नयाँ बाटो कहाँ पाउने हो ?
यो प्रश्न निरन्तर उब्जिरहन्छ आफ्नै मनभित्र
तर पनि यो मन कहिल्यै रोकिँदैन
निरन्तर निरन्तर बगिरहन्छ नदी झैँ बनेर ।
भोजपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 






