भूगोलको
यो सन्तप्त आकाश मुन्तिर
धेरै वर्षहरू हराएका छन्
हराउनेहरूका अनन्त कथा
प्रथम विश्व युद्धले लेख्यो
द्वितीय विश्व युद्धले लेख्यो
मेक्सिकोका जंगलले लेख्यो
कंगारुको आँगनले लेखी रहेछ
मस्को र क्रेमलिनले लेख्यो
जेरुसेलमले लेख्यो
मध्यपूर्वले लेखी रहेछ वर्षौंदेखि मरुभूमिमा
अफ्रिकी डान्स बारहरूले लेखी रहेछन्
श्री श्री श्री महलहरूले लेखे
ठमेल र जिबी रोडहरूले लेखी रहे
यही आँगनका अक्षरहरूले लेखी रहेछन्
प्रकाश तामाङहरुको कथा
उता
यही सन्तप्त आकाशको तल्तिर
कोही अन्तरिक्ष यात्राबाट फर्किएका छन्
ती खोज्दै छन्
कुन कुन ग्रहहरूका
कति लामा वर्षहरू छन् ?
कति छोटा दिनहरू छन् ?
समय
ऊ कहाँ कति लम्बिन सक्छ ?
कति छोटिन्छ ?
खगोलका हरेकका वर्षहरूमा
यता
द्वापरका कृष्ण पनि अलमलमा छन् ?
कृष्ण कथामा हराउनेहरूका
कति वर्षहरू हराए होलान् ?
हो, म पनि खोज्दै छु
वर्तमानको अर्को कृष्ण
उन्का कति वर्षहरू हराए ?
ती चाँडै भेटिऊन्
तर
प्रकाश तिमी भेटियौ
तिमीलाई
यही माटोमा
मेरो पनि स्वागत छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










