पहिला पहिला
कसैको उपनिवेश नभएको
यो देश
कुनै परायाको हातमा नगएको
इतिहास पढ्दा
गर्वले ढक्क छाती फुलेर आउँथ्यो
तर आजभोलि
आफ्नै छाती हराएजस्तो लाग्छ
साँच्चै मेरो छाती
तुना फुकाएर
दौराको फेर पसारेर विदेशी सडकहरुमा
कामको याचना गरिरहेछ कि !
खचाखच पासपोर्टहरूमा
भिसाको छाप पर्खिएर बसेको छ
उसैलाई थाहा नभएको विषय पढ्ने बहाना बोकेर
काम नलाग्ने डिग्रीको लागि
कतै उमाल्ने र कतै जम्ने डिग्रीमा भासिंदै छ कि !
कतै अनन्त अनन्तताको लागि बतासिंदैछ

ढुङ्गा, गिटी र बालुवा
कालो अलकत्राको सडक

कङ्क्रिटका जङ्गलहरूले
मेरो हराएको छातीलाई खोज्न सकेन
सपनाको सडकमा तीव्र दौडने
मोटर रेल र जहाजहरूले
मेरो विक्षिप्त छातीलाई भेट्टाउन सकेन
ऊ हराएर गयो
ए हजुर ! म आमा-बाको काखमा लुक्न पाउँ भन्दै
कराएर गयो

सुन्नु भो !
कथम कदाचित फर्क्यो भने नि मेरो छाती
मैजस्तो बूढो भएर फर्कने छ

माथि आकाशमा उड्दै हराउँदै गरेका तरुना छातीहरूलाई
कौशीबाट बाई भन्नेछ

नेताज्यू !
पहिला हामीलाई रोजगारी दिनोस्
छाती बचाउन साह्रै गाह्रो भो ।

गौरादह