निधारमा
एक चम्किलो तारा
एक दशक बढी पहिरिएर
मेरा बा
अमन्यु दमाईले
राखेका थिए मेरो नाम; जनयुद्ध
अहिले, म तीस वर्षको हुन लाग्दा पनि
अहँ ! केही बदलिएन –
म गरिबको गरिबै रहेँ
अछुतको अछुतै रहेँ
भर्खरै आरनबाट निकालेका हुन्
मानौँ बा’का आँखाहरू
रापले छट्पटिएको मुद्रामा
बा’ले भन्नुभयो;
तेरी आमाको पेटमा हुर्किरहेकी
तेरी बहिनीको नाम
अब
छिट्टै –
क्रान्ति राख्ने हो !
यसपालि क्रान्ति
उत्तराको गर्भ चिर्दै,
अश्वत्थामाको ब्रह्मास्त्र निल्दै जन्मिनेछिन् !
धनगढी उपमहानगरपालिका १३, राजपुर, कैलाली



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२० असार २०८३, शनिबार 









