डा रामहरि पौड्याल

बाटोमा प्रभातकालीन हिँडाइमा थिएँ
रिभर आउजको किनारै किनार
जीवनका चौध वर्ष
रामचन्द्रले बनवास गए जति
पाण्डवले बनवास गए भन्दा दुई वर्ष बढी
यही नदी किनारमा चक्कर लगाई रहेको म !

कहिल्यै नसोचेको, नदेखेको
बेवारिस डुंगाले आर्तनाद पूर्ण स्वरमा बोलायो
म टक्क अडिएँ र त्यसको फोटो खिचिदिएँ
खिचिक्क ! खिचिक्क !! खिचिक्क !!!
डुङ्गाले आफ्नो विगत र विरह फुसफुसायो-
मलाई आजसम्म कसैले पुछेनन्
कसैले सोधेनन् मेरो विरासत
कसैले देखेनन् मेरो गौरवपूर्ण इतिहास
टीन एजरहरू लुकामारी खेले मेरै छातीमा
मेरो ऐकान्तिकतामा सबै थोक गरे
मैले लाजले मुख छोपेँ, तिनका कृत्य देख्न नसकेर
युरोपमै बढी टीन प्रिग्नेंसी भएको देश
हिजो म सबैको प्यारो थिएँ
सबैलाई गन्तव्यमा लाँदो थिएँ
औधोगिक क्रान्ति / पहिलो विश्वयुद्ध/दोश्रो विश्वयुद्ध
सबै सबैलाई देखे भोगेको मेरो विरासत

तिनताका जेम्स वाटले वाष्प इन्जिन पत्ता लगाएकै थिएनन्
न त राइट ब्रदर्सले जहाज नै उडाएका थिए
गाडी रेल धेरै परका विषय थिए
तिनताका मेरो साम्राज्य थियो यात्राको दुनियाँमा
भिस्को डिगामाले अमेरिका पत्ता लगाउँदै गर्दा
क्याप्टेन भेन्कोभरले क्यानडा र किन्ग्स्लिन जोड्दै गर्दा
मेरै नाम लिन्थे दुनियाँ
मेरै शरणमा पर्थे
तिनताका यो किन्ग्स्लिन व्यस्ततामा सामुद्रिक यात्राको ठूलो हव थियो
क्यानाडाको भेन्कुभरबाट आएका क्याप्टेनको नाममा टाउन सेन्टरको नाम राखियो
भेन्कुभर टाउन सेन्टर !
उनको मुर्ति ठडाइयो !
सम्मान गरियो
आफ्नै बारी र टारीको रुखको काठबाट बनेको डुंगाको यो बिरूप गति ?
नदी किनारमा काम नलाग्ने ठाडो बनेर
अभिशप्त भएर कुहिँदैछु, रित्तिदैछु माटो बनेर
सोचेनन् कसैले मेरो इतिहासको संरक्षण
लेखेनन् कसैले मेरो गौरवपूर्ण इतिहास
ए साउथ एसियन रामु भाइ
लौन एउटा सानु कविता नै सही
आज विश्व कविता दिवस
अस्ति आफ्नै बाउको नाम मिल्ने ढुङ्गो शालिग्रामको कविता लेखिस्
आज म अभागी डुंगालाई सम्झी दे
डुंगाको कविता लेखिदे
छरी दे फेसबुक, टुइटर, इन्स्टाग्राम सबैतिर
हेरम् कति लाइक आउँदो रहेछ ?