सम्बन्धमा बाँच्छ मान्छे, त्यसमै पूर्णता पाउँछ
सम्बन्धका आयामबाट जीवन उर्जा जुटाउँछ
सम्बन्धका रक्तनली हुन् स्वच्छता र निस्छलता
बन्द्भए ती यदि भने, जीवन उसै अस्ताउँछ |
(१)

सम्बन्धको शून्यतामा मनमा बेचैनी छाउँछ
साँघुरिए सम्बन्ध- वृत्त, तन आफैँ सुस्ताउँछ
नाफा नोक्सानीको खातामा सम्बन्ध कसरि अड्छ र
कल्पतरू हो सम्बन्ध मुकाम भेट्न सघाउँछ |
(२)

ओंठको मुश्कानले मनको क्लेश कहाँ छोप्न सक्ला ?
गुलिया शब्दका जन्जालमा कपट कहाँ छिप्न सक्ला ?
संग्लो सम्बन्ध झाँगिन्छ निश्छल ब्यबहारमा
कन्चन सागरमा कालो धब्बा कहाँ लुक्न सक्ला ?
(३)

सम्बन्धले दूर दूर क्षितिजका दैला उघार्न सक्छ
सम्बन्धले प्रेमको अकल्पित बर्षा गराउन सक्छ
सम्बन्ध जीवनको सर्बकालिन अक्षय सम्पत्ति हो
व्यवस्थापन गर्न जाने यसले सबथोक दिन सक्छ |
(४)

सम्बन्धको दुरुपयोग जहिले भारी पर्न सक्छ
घुम्तिमय जीवन जहिले अक्करमा पर्न सक्छ
सरल रेखा हैन जीवन यो एक गम्भीर रहस्य हो
सोचेझैं संधै हुन्न जहिले आकस्मिकता पर्न सक्छ |
(५)