निरन्जना चन्द निरू सुर्खेतमा जन्मिएकी नेपाल प्रज्ञा प्रतिष्ठान राष्ट्रिय कविता महोत्सव तृतीय – २०७८ पुरस्कार प्राप्त गर्न सफल कवि हुन् । शिक्षण पेशामा आवद्ध उनका प्रकाशित कृतिहरूमा  ‘ निरूको साइनो ‘ छोटा कविता सङ्ग्रह -२०७६,’ निरूपण ‘ मुक्तक सङ्ग्रह – २०७७ र ‘वनफूलको विद्रोह ‘ कविता सङ्ग्रह- २०८२ पर्दछन् ।

 उनको  विमोचन हुन गइरहेको कवितासङ्ग्रह`वनफूलको विद्रोह´सँग सम्बन्धित भएर गरिएको कुराकानी प्रस्तुत छ: 

===

१) `वनफूलको विद्रोह´  कवितासंग्रह लिएर नेपाली काव्यिक जगतमा पदार्पण गर्नुभएकोमा बधाई तथा शुभकामना छ । यस कवितासंग्रहमा के कस्ता कविताहरूले स्थान पाएका छन् ? 

 नेपाली साहित्य जगतको फराकिलो फाँटमा म यो तेस्रो कृति ‘वनफूलको विद्रोह ‘ लिएर उपस्थित भएकी छु ।  यस कवितासंग्रहमा ६१ वटा कविता समावेश छन् । कविताहरूले विद्रोह गरेका छन् तर शालीन विद्रोह । ती सबै कवितामा फरक–फरक भाव उजागर गरेकी छु । विकृति, विसंगति, राजनीतिक नौटंकी, कमजोर मानवता, युगीन आवाज , सामाजिक रूपमा जीर्ण भइसकेका कवचहरू , राष्ट्र प्रेम , राष्ट्रियता , संस्कृतिप्रतिको मोह , सीमान्तकृत वर्ग , महिला हिंसा, महिलाको जीवन जिउने हिम्मत र साहस , प्रेम , प्रवासी नेपालीहरूको पीडा लगायतका विविध विषयका कविताहरूले यसमा स्थान पाएका छन् । घरमा फुल्ने फूलले संरक्षण, सम्मान, माया र सुरक्षा पाएको हुन्छ तर वनको फूल आफैँमा सुन्दर हुन्छ । उनीहरूले माया, सम्मान र संरक्षण पाएका हुँदैनन् ।  हाम्रो समाजमा राज्यबाट सम्मान , सुरक्षा र सही दृष्टिकोण पाउन नसकेका यस्ता कोही सीमान्तकृत वर्गहरू पनि छन् जो वनका सुन्दर फूलजस्तै भएर रमाएर बसेका छन् । उनीहरू आफैँमा निर्भीक जीवन बिताइरहेका छन् । उनीहरू जस्तै आदिकालदेखि राज्यबाट सही दृष्टिकोण नपाएर दबाइएका कैयौँ आवाजहरू छन् यहाँ । यो कृति तिनै सवाल-जवाफहरूको संगालो हो भन्छु म । 

२) लेख्नका लागि परम्परावादी विचार खाली हुन पनि जरुरी छ अनि त्यसमा नयाँ दृष्टिकोण भरिन पनि । एउटा लेखकले नवीन विचार, दृष्टिकोण र चेतना जागृत पारिराख्न के कस्तो अभ्यास गर्नुपर्ने हुन्छ ?

 लेखकले नयाँ विचार, नवीन दृष्टिकोण र चेतना जागृत गर्नका लागि समाज, प्रकृति र मानव जीवन तथा विश्व परिवेशका विविध आयामहरूको गहिरो अध्ययन तथा अवलोकन गर्नुपर्छ । प्रचलित मान्यताहरूलाई आलोचनात्मक दृष्टिले हेरेर ‘किन?’ र ‘किन होइन?’ जस्ता प्रतिप्रश्नहरूको माध्यमबाट मौलिक सोच विकसित गर्न आवश्यक हुन्छ । संवेदनशीलता र सहानुभूति सहित मानवीय पीडा, आशा, संघर्ष र यथार्थलाई आत्मसात् गर्न सकेमा लेखकको कलमले पाठकको चेतनामा गहिरो प्रभाव पार्छ । साथै भाषाशैली र संरचनामा मौलिकता ल्याई प्रयोगात्मक ढङ्गले अभिव्यक्ति दिनु लेखकको जिम्मेवारी हुन्छ । सत्यप्रति निष्ठावान् भई सामाजिक अन्याय र विसंगतिको विरुद्ध बोल्ने साहस तथा निरन्तर अध्ययन–अभ्यासले लेखकलाई अझ परिष्कृत बनाउँछ । यिनै गुण र प्रयासहरू मिलेर लेखकले समाजमा नयाँ विचार रोप्ने ; दृष्टिकोण परिवर्तन गर्ने र चेतना जागृत गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ र यिनै कुराहरूमा लेखकको साधना अथक हुन जरुरी छ ।

३) यहाँले कविता लेख्ने प्रक्रिया के कस्तो हुन्छ  ?

कविता लेख्ने कुनै प्रक्रिया , ढाँचा र निर्देशन एकदमै निश्चित यहि नै हुन्छन् भन्ने हुँदैन तर धेरैजसो कविहरूले अपनाउने केही सामान्य चरणहरू जस्तै मैले पनि सोही बमोजिम प्रक्रियाहरू अपनाउने गर्छु ।

प्रेरणा : आफ्नो वरिपरिका दृश्य, अनुभव, भावनाहरू, समाज, प्रेम, प्रकृति, पीडा, आनन्द आदि जुनसुकै कुरा प्रेरणाको स्रोत बन्न सक्छ। कहिलेकाहीँ त एउटा शब्द, वाक्य वा कुनै दृश्यले पनि कविता सुरू गराइदिन्छ ।

विषय : प्रेम, सामाजिक अन्याय, प्रकृति, स्मृति, ऐतिहासिक, राजनीति , दर्शन आदि कुनैपनि विषय स्पष्ट भएपछि भावनालाई दिशा निर्देश दिइन्छ । 

भाव : भाव कविताको आत्मा हो । विशिष्ट भाषा हो । खुशी , दुःख, तडपाइ , प्रश्न, रोमान्स , आक्रोश , विमत्ति , सहमति , विद्रोह आदि कुनै पनि भावको ठहर निश्चित गरिन्छ ।

विम्ब, प्रतीक र अलंकार : कवितामा चित्र जस्तै देखिने शब्दहरूको प्रयोग ; भाषिक अलंकार तथा संकेतको प्रयोग अनिवार्य रहन्छ र हुनुपर्दछ । जस्तै :

 दु:खको झरनामा मुहार धुन्छे 

 ठुली मुसुक्क मुस्कुराउँछे

शब्द छनोट : सरल तर प्रभावकारी भावना बोकेका शब्दहरू राख्नु मलाई वाञ्छनीय लाग्छ । क्लिष्ट शब्दहरूको मात्रै बढावा भयो भने कविता सम्प्रेषित नहुनसक्छ भन्ने लाग्छ । अनावश्यक भारी शब्दले कविता जटिल बनाउन सक्छ ।

लय : कविता छन्दबद्ध वा छन्दमुक्त दुवै हुन सक्छ । म छन्दमुक्त कविता लेख्छु र पनि अन्तरलयलाई ध्यानमा राख्नु त पर्छ नै । शब्दहरूको ध्वनि, उतारचढाव, दोहोराई, अलंकार आदिले कवितालाई संगीतजस्तो बनाउँछन् ।

पहिलो ड्राफ्ट : शुरुमा पूर्णता खोज्नुपर्दैन । जे आएको छ खुला रूपमा लेख्ने हो ।

सम्पादन : अनावश्यक शब्द हटाई आवश्यक शब्द थप्ने र खँदिलो  बनाई अझ स्पष्ट बनाउने । लय, शब्दचयन, प्रवाह मिलाउने । 

शीर्षक : अन्त्यमा विषय वा भाव उजागर गर्न उपयुक्त शीर्षक दिनु त पर्छ नै । 

अन्तिम : अन्तिम रूप दिई पाठक वर्गमा सुम्पिदिने ।

४) यहाँको जीवनमा कविताले कसरी प्रवेश गर्‍यो ?

लेखकको जीवनमा कविता अचानक होइन बिस्तारै अनुभव, भावना र अवलोकनसँगै प्रवेश गर्छ । उसले देखेको र भोगेको संसारले जब मन थिच्न थाल्छ तब मस्तिष्कमा अनेकौँ ज्वारभाटाहरू सल्बलाउन थाल्छन् । तिनले सुस्तरी सुस्तरी अभिव्यक्तिको बाटो खोज्छन् र कविता बन्ने प्रयास गर्छन् । लेखक निकै संवेदनशील हुन्छ । उसले अरूले नदेखेको सूक्ष्मता देख्छ । कहिले प्रकृतिमा कहिले मानिसको व्यवहारमा कहिले समाजका यथार्थमा । यही सूक्ष्म दृष्टि , मनको चञ्चलता र गाम्भिर्य नै कविता जन्माउने प्रमुख आधार बन्छन् । साथै भाषा र शब्दप्रतिको आकर्षण, सुनेका गीत, पढेका साहित्य तथा पुस्तक अध्ययन र प्राप्त प्रेरणाले पनि लेखकलाई कवितातिर तान्छ । आफूभित्र डुब्ने आदत, एकान्तसँगको सम्बन्ध, समाजप्रतिको चेतना , युगीन बोध र आफ्नै आत्म–संवादका क्षणहरू क्रमशः मिलेर हरेक कविको जीवनमा कविता सुटुक्क भित्रिने गर्छ । यसरी मेरो जीवनमा पनि भावनाहरूको उन्मेष, अवलोकनको परिष्कार र आत्माभिव्यक्तिको आवश्यकता भएर कतिबेला कविताको प्रवेश भइसकेछ । 

५) यहाँलाई  कविता के हो भनेर सोधियो भने के जवाफ दिनुहुन्छ  ?

भावहरूको घनघोर जँगलबाट विशिष्ट शब्दहरूद्वारा लडाइँ गर्दै कवि दृष्टिकोणले लक्षित ठाउँसम्म पुग्न गरेको साधना, संघर्ष , चेतना र आत्मजागरण नै कविता हो भन्छु म । यसमा रसात्मक, लयात्मक, व्यङ्ग्यात्मक, भावात्मक र कोमल भाषिक अभिव्यक्ति रहन्छ । जसले हृदयमा झंकार र मस्तिष्कमा झनझनाहट उत्पन्न गराउँँछ ।

६) यहाँलाई एकदम प्रभाव पारेको पुस्तक जसले यहाँको सोच्ने तरिका नै परिवर्तन गरिदियो ?

‘ You can win ‘  का केखक शिव खेरा जो हुनुहुन्छ उहाँलाई हार्दिक सम्मान छ । उहाँद्वारा लिखित पुस्तक जसले मेरो जीवनमा आमूल परिवर्तन ल्याइदियो । 

७) कहिलेकाहीं आफैँसँग प्रश्न गर्नुहुन्छ ‘म किन लेख्छु ?’ भनेर ? उत्तर के पाउनुभएको छ ?

किन नगर्नु ? जीवन नै प्रश्न हो नि । कयौँपटक आफैँलाई आफैँले प्रश्नहरू सोधेर सताउने गरेकी पो छु त मैले । समय र परिस्थितिसँग जुधेर बाँच्नु त रहेछ जीवन । म बाँच्नको लागि लेख्दिनँ सायद लेख्नको लागि बाँचिरहेकी छु जस्तो लाग्छ । त्यसैले कहिलेकाहीँ कविता लेख्ने प्रेरणा मनको अत्यन्तै सूक्ष्म तहबाट जन्मिन्छ ।  कविता लेख्नु आत्म–उपचारजस्तै लाग्छ मलाई । मनभित्रको चोट मन भन्नाले आफ्नो मात्रै होइन समाजको पनि मन हुन्छ । आफ्नो मन र समाजको मन दुवैलाई कवितामा कस्दा तिनको बोझ हलुका हुन्छ । कहिले त लेखिएको कविता नै आफ्नो मनको डाक्टरझैँ बन्छ । मौनतालाई स्वर दिन ; आफूसँग प्राप्त भएको अनमोल समयलाई कवितामा थुनेर राख्न तथा त्यो क्षणलाई अमर बनाउन ; आफ्नो सत्य खोज्न अर्थात् नयाँ प्रश्नको जवाफ खोज्न; विद्रोह गर्न तथा अन्याय, वेदना, समाजका कठोर संरचनालाई चुनौती दिन कविता तेज र धारिलो हतियार बन्न सक्छ। जीवनका सुन्दरता खोज्न तथा चिसो र अँध्यारो रातलाई पनि उज्यालो र न्यानोसँग बिताइ भोलि आउने दिनमा आशाको किरण छरेर बाँच्न पनि म कविता लेख्ने रहेछु । 

८) आजको युग यहाँको कविता जस्तै अक्षरहरूको युद्धमा होमिएको छ । अक्षर धार्मिक भएको छ, अक्षर वाद बनेको छ । अक्षरकै प्रयोगले मानिस मानिसमा विभेद छ, असमानता छ, युद्ध छ अनि प्रतिशोध पनि छ । अक्षरको दुरूपयोग भइरहेको  यो समयमा कविता पनि चोखो रहन सकेको छैन । कविता मेरो समूहको, मेरो वादको, मेरो विचारको भन्दा माथि उठेर युनिभर्सल र विशुद्ध मानवकल्याणकारी बन्न के गर्नुपर्छ ?

हो नि, कविता मानवकल्याणकारी नभए के कविता भन्नु ? कविता लेख्ने नै मानवका लागि हो । मानवका लागि लेखिने कविताले फेरि किन मानव मानव बिचमै विभेद, असमानता, प्रतिशोध, वाद, गुठ उपगुठका घण्टी बजाइरहनु पर्यो ?

कविताका विषयहरू नै मानव केन्द्रित रोजौँ न । कविताको मूल उद्देश्यमा नै मानवको भलाइ, पीडा, आशा वा उज्यालोको भविष्य होस् । जस्तै: गरिबी, समानता र न्याय, मानवता, प्रेम र करुणा, शान्ति, प्रकृतिसँग मानवीय सम्बन्ध, शिक्षा, स्वास्थ्य, समावेशिता, विमति र विद्रोह , युगीन चेतना, चेतावनी, संघर्ष आदि । यी चिजहरू के मानवकल्याणका निमित्त छैनन् र ? भावनालाई केन्द्रमा राखेर संवेदनशील भएर लेखियो भने कविता मानवकल्याणकारी र सकारात्मक दृष्टिकोणले भरिपूर्ण हुन्छ ।

कविता अत्यधिक कठिन बनाए मानव सन्देश कमजोर हुन्छ भन्छु म । सम्प्रेषित हुनुपर्छ नत्र क्लिष्ट भएर मात्रै कविता उच्च स्तरका हुन्छन् भन्ने विचारमा म सहमत छैन । आशा जगाउने पङ्क्ति; परिवर्तन सम्भव छ भन्ने संकेत; मानवीय मूल्यको पुनर्स्थापना र सत्यको पक्ष ; ‘ हामी ‘ भन्ने सार्वभौम सन्देशमा कविता लेखियो भने जसले सकेसम्म वास्तविकताको बोध गराउने छ भन्ने मान्यता छ मेरो ।

९) सबैभन्दा पहिला त कविता लेख्नु आफैँमा एउटा गाह्रो काम हो । लेखेपछि प्रकाशन गर्न अझै तनावपूर्ण छ । छापिएपछि पाठकको हातहातमा पुर्‍याउन झन् महाभारत छ । यहाँले यस्ता प्राविधिक झन्झट कत्तिको सहनुपर्‍यो ?

 ओहो ! धेरै समसामयिक र मन छुने प्रश्न गर्नुभयो । यसको पीडा नेपालका मात्रै हैन, संसारका कुन लेखकले नभोगेका होलान् अनि म कसरी यो पीडाबाट अछुतो रहन सकूँला र ? निकै गाह्राे छ हाम्रो जस्तो देशमा लेखेर मात्रै बाँच्न । सायद पुस्तक बजार अन्य विकसित देशको जस्तै उच्च हुन्थ्यो भने नेपालका लेखकहरूमा पनि विश्वबजार हल्लाउन सक्ने लेखन शक्ति छ तर बजार निकै सानो छ । त्यसमा पनि नेपालीहरूमा पुस्तक अध्ययन गर्ने बानी नै छैन भन्दा पनि लगभग अत्युक्ति नहोला । समस्या र प्रश्नहरू धेरै छन् जसको जवाफले मात्रै पनि मन कटक्क खान्छ ।

सबै लेखकहरूको देशका मुख्य मुख्य शहरहरूमा पुस्तक पुर्‍याउने प्रभावकारी च्यानल हुँदैन । वितरणकर्ताको नयाँ लेखक तथा नयाँ प्रकाशकप्रतिको अविश्वास चरम छ । प्रचारप्रसारको कमी र प्रतिस्पर्धात्मक बजारमा पाठकको ध्यान तान्न मुस्किल छ । लोकप्रिय लेखक वा ठूलो प्रकाशकको पुस्तक बजारमा एकलौटी हस्तक्षेप छ जसको कारण नयाँ पुस्तक ओझेल पर्नु अर्को चुनौती छ । छपाइ तथा वितरण लागत धेरै भएकाले पुस्तकको मूल्य उच्च पर्नु जसको कारण मूल्य महँगो लागेकाले पाठकले खरिद गर्न हिच्किचाउनु स्वाभाविक मान्दछु म । 

डिजिटल बजारको तीव्र उपस्थिति छ जसको कारण ई-बुक, अडियोबुक वा अनलाइन प्लेटफर्ममा पुस्तक उपलब्ध नहुँदासम्म धेरै पाठकसम्म नपुग्नु अर्को चुनौती; डिजिटल मार्केटिङ रणनीति स्पष्ट नहुनु जसको कारण प्रतिलिपि अधिकारप्रति ठुलो समस्या देखिनु तथा पुस्तकको पीडीएफ अवैध रूपमा फैलिन गई लेखक/ प्रकाशकमा नैराश्य भाव उत्पन्न हुनु; पुस्तक समालोचना र समीक्षाको अभाव हुने बित्तिकै शक्तिशाली पुस्तक ओझेल पर्नु र बिना विचारका सतही भावका पुस्तकको मात्रै थेग्न नसकिने चर्चा सहनुपर्ने आदि इत्यादि प्राविधिक कठिनाइबाट म के टाढा रहन सकूँला र ? भोग्नु त पर्छ नै ।

१०) विचार र कलाको तालमेललाई नै कविता भनिन्छ । यहाँले विचार र कलालाई कवितामा कत्तिको महत्त्व दिनुहुन्छ ?

कवितामा विचार र कलाको महत्त्व अत्यन्त परिपूरक र अनिवार्य मानिन्छ किनकि विचारले कवितालाई अर्थ, सन्देश र भावनात्मक गहिराइ प्रदान गर्छ भने कलाले त्यस विचारलाई सुन्दर, संवेदनशील, आकर्षक, प्रभावशाली र कलात्मक ढङ्गले प्रस्तुत गर्ने शक्ति दिन्छ । विचार कविताको आत्मा हो जसले कविको अनुभूति, भाव, दर्शन र समाजप्रतिको दृष्टिकोणलाई उजागर गर्छ तर केवल विचार मात्रले कविता पूर्ण हुँदैन । लय, अन्तर्लय, उपमा, प्रतीक, अलंकार तथा भाषिक प्रवाह जस्ता कलाका साधनले कवितालाई सौन्दर्यमय, आकर्षक र मनोवेधी बनाउँछन् । त्यसैले राम्रो कविता त्यही हो जसमा विचारको गहिराइ र कलाको सुन्दरता सन्तुलित रूपमा अभिव्यक्त भई पाठकको मन–मस्तिष्कमा दीर्घकालीन असर पार्न सक्षम हुन्छ । त्यसैले कविता लेख्दा यी दुवै कुराहरूमा म निकै सचेत हुन्छु ।

११) लामो समयदेखि कविता लेखिरहेको भएपनि कवितासङ्ग्रह आउन किन ढिलो भयो ?

जीवनमा धेरै प्रश्नहरूको उत्तर नदिएर मौन बसे पनि जितिन्छ जस्तो लाग्छ । यदि म सहज थिएँ भने त छिट्टै आउँथ्यो सङ्ग्रह । ढिला हुनुको अर्थ म असहज रहेछु भनेर बुझ्नुपर्यो, हैन र ? जीवन हो सधैँ सहज त कहाँ हुन्छ र ? यति हो, हरेस र निराशाको बादलमाथि उत्रिएर उज्यालो सूर्यको भावभङ्गीमा राख्न सक्नुपर्यो आफूलाई । सङ्ग्रह त आउँछ बजारमा । अझै पनि आउँछन् । साधना र लगाव निरन्तर छ । 

१२) अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा मन लागेको उत्तर दिने सुविधा छ ।

म हाँस्दा हाँस्दै रुन सक्छु । रुँदा रुँदै हाँस्न सक्छु । यही त छ एउटा जीवनको शक्ति ।