साहित्यको क्षेत्रमा प्रखर नवोदित स्रष्टा अनिता कोइरालाले उपन्यासको क्षेत्रमा एक नवीन कृति उज्यालो औंसी लिएर आएकी छन् । स्वैरकल्पनाको प्रयोग गरिएको आख्यानमा उनले कल्पनाको तीव्र उडान भरेकी छन्, जसका कारण सामान्य पाठकको लागि पुस्तक बुझ्न अलिक गाह्रो भएको देखिन्छ । कल्पना र यथार्थको मदानीले लेखककै जीवनको भोगाइ र देखाइलाई मथ्दै लेखिएको कृति अँध्यारोबाट उज्यालोको प्रकाश छरिएको जीवनीपरक उपन्यास हो ।

राजनैतिक षड्यन्त्रमा नेपाल सदियौँदेखि अल्झिएको देश हो । त्यही राजनैतिक शक्ति र सत्ताले उन्मुक्त भएकाहरूले कैयौं अबोध व्यक्तिहरूको हत्या गरेर आफू सत्तामा गएको इतिहास हामी सामु उभिएको छ । राजनैतिक षड्यन्त्रमा पारी हत्याराहरूले लेखक अनिता गर्भमै छँदा पिताको कारुणिक हत्या गरेको कुरालाई उपन्यासमा चित्रण गरिएको छ । त्यो राजनैतिक हिंसाको प्रक्रिया हिजो पनि सोही किसिमको थियो र आज पनि यथावत् नै छ ।

पुस्तक पढ्दै गर्दा बीच–बीचमा निःशब्द भएँ म । वर्षात्को भेलझैं मन भारी भएर उर्लियो । गर्भमा छँदै गर्भबाट नै उनले पिताको हत्या रोक्न अनेकौं प्रयास गरिएको प्रसङ्गबाट शुर भएको आख्यान चङ्गाले  लट्टा नछोडे जस्तो पिताकै वरिपरि घुमेको छ । विराट चेतनाबाट बाहिरी जगत्को दृश्यावलोकन गरिएको छ आख्यानमा ।

यसरी पिताको मृत्यु पश्चात् कमजोर चेतना भएका गाउँलेहरूले गर्भे छोरीलाई बाबु टोकुवीको संज्ञा दिनुले हाम्रो समाजको चेतनास्तर कति निम्न रहेछ भन्ने देखाउँछ । कति दर्दनाक छ उनको अवस्था, कति व्याकुल छिन् पिता बिना । साथीहरूको पिताको प्यारसँग आफ्नो पिताको प्यार साट्छिन्, कल्पिन्छिन् आफ्नो पनि पिता भइदिएको भए भनेर । त्यही पनि यो समाजले बाबु टोकुवीको संज्ञा दियो । पिताको अभावमा विक्षिप्त हुँदा बहुलाईको संज्ञा दियो ।

कसको रहर हुन्छ र पिता बिना रहन तर पनि हाम्रो समाजले बालमनोविज्ञान तथा समाज–मनोविज्ञानलाई किन बुझेन र अझै पनि समाजले ओढेर बसेको छ औंसीको बर्को । किनभने अहिले पनि समाजमा उजेली आमाजस्ता विधवा र निरीह महिलाहरूलाई बोक्सीको लाञ्छना लगाइन्छ र विष्ठा खुवाइन्छ । यो कारुणिक परिपाटी अझै पनि हाम्रो समाजमा कायम नै छ । के विधवा हुनु महिलाको रहर हो रु किन बुझ्दैन समाज रु तसर्थ समाज बलियाबाङ्गाको पक्षमा हुन्छ भने बिचरा विधवा महिलाहरूले हिंसा भोग्नु परेको हुन्छ भन्ने कुरा यस कृतिमा देख्न सकिन्छ  ।

पुस्तक पढिसकेपछि अनौठो उत्सुकताले छोएको थियो मनमा । भिमानबाट अनु जनकपुर आइसकेपछि यिनको जीवनयात्रा कतातिर बहने हो, पढाई के होला ? कतै एकोहोरो प्रेमले विक्षिप्त पार्ने हो कि ? सुमिरनसँगको प्रेम कस्तो रहला जस्तो लाग्थ्यो तर असल शिक्षक र जानकी मन्दिरमा हुने आध्यात्मिक मार्गबाट नै औंसीको अन्धकारलाई चिर्दै उज्ज्वल भविष्य निर्माण गर्न पुगिन् नायिकाले ।

गुरुको निर्देशनलाई उनले मानिन्, जसले अँध्यारोबाट उज्यालो मार्गमा आफ्ना शिष्यलाई लैजान्छ, उनैलाई अब्बल गुरु ठानिन् । काठमाडौं आइसकेपछि जीवन दर्शन भन्नु नै भौतिकता र आध्यात्मिकताको मियो हो भन्ने बुझिन् । यसरी अनेकौं औंसीहरूले अनिताको जीवनमा खेल खेले तापनि त्यसलाई छिचोल्दै आध्यात्मिकता, सकारात्मकता तथा बाह्य ज्ञान र आन्तरिक ज्ञानबाट नै सूर्य उदाएको देखिन् ।

औंसीलाई बिम्ब बनाई लेखिएको उपन्यास शुरूमा दिग्भ्रमित पार्ने गरी अल्झिएको जस्तो लाग्छ तर  पढ्दै गएपछि सकारात्मक सोच, विचार र सङ्कल्पमा आएको परिष्कार र परिवर्तनले नै लेखकको जीवनमा अँध्यारोबाट उज्यालो छर्दै गएको दृश्यले पनि हामी पाठकको मनलाई आनन्दित तुल्याएको छ । मृत्यु भइसकेका पिताले सेतो घोडा लिएर आएको कथाले सामान्य पाठकको मनलाई अलमल्याई रहेको छ । यही नै स्वैरकल्पनाको प्रयोग हो । पुस्तकको अध्ययन पश्चात् लेखकको जीवन र हाम्रो मस्तिष्कमा उज्यालो पार्दै गरेको दृश्यले हामी पाठकको मनलाई आह्लादित तुल्याएको छ ।

आफ्ना भावनाहरूलाई पिताको मायासँग पुस्तकको रूपमा साटेर पाठकको सामु कृतिका रूपमा पस्किनु पनि सारगर्भित विषय हो ।

“असल कर्मका कारण सबैका हृदयमा आज पनि बुवा जीवित नै हुनुहुन्छ” (पेज नं.१४९) भन्ने वाक्यले लेखक मन र पाठक संवेदनालाई उजागर गरेको छ । जसरी जताततै ईश्वर रहेको यथार्थतालाई समग्र मानवले स्वीकार गरेको अवस्था छ, त्यसरी नै उनले यत्रतत्र पितालाई देखेकी छन् ।

समय चक्र र परिवेश समय आएपछि उज्यालो आफैं उदाँउदो रहेछ । गर्भे टुहुरी भनेर हिजो समाजले  लाञ्छना लगाएकी अनिता आज चर्चित लेखक बनेकी छिन् । आफू भित्रको अन्धकार चिरेर झलमल्ल उज्यालो देखाएकी छन् । मीठो लेखन शैली छ यिनको । भाषा-शब्द सुन्दर छन् । शब्द मार्फत पिङ खेलेकी छन्, नाचेकी छन्, गाएकी छन् । उज्यालो औंसी – उपन्यासका साथै समाजको यथार्थ चित्रण सहितको सामाजिक दस्तावेज पनि हो ।

जे होस् कृति पठनीय छ । उपन्यासकारको साहित्यिक यात्राले सगरमाथाको शिखर चुमोस् ।

यही नै शुभकामना छ अनिताजी ।