डा. राजकुमारी दाहाल

प्राचीन भारतीय ग्रन्थहरूमध्ये रामायण र महाभारतप्रति विद्वानहरूको विशेष आकर्षण रहेको पाइन्छ | यी ग्रन्थहरूलाई नयाँ नयाँ प्रकारले व्याख्या गर्ने, पुनर्पाठ गर्ने, पात्रहरूका चरित्रगत विशेषताहरूलाई केलाउने जस्ता कार्य विभिन्न भाषा साहित्यमा भइरहेका छन् |

भारतीय साहित्यमा सीता-राम, राधा-कृष्ण, द्रौपदी-अर्जुन, उर्मिला-भरत आदिका कथालाई आधार मानेर अनेकौ कृतिहरूको रचना भएको पाइन्छ | युग अनुरुप यी चरित्रहरूलाई कवि/ लेखकहरूले भिन्न भिन्न रुपमा प्रस्तुत गरेका छन् | भक्तिकालमा यी चरित्रहरूलाई भक्ति भावनासहित प्रस्तुत गरिएको पाइन्छ भने श्रृङ्गारकालमा लेखिएका कृतिहरूमा यी चरित्रहरूको प्रस्तुतिकरणमा युगअनुरुप परिवर्त्तन भएको पाइन्छ | आधुनिककालमा यस्ता पौराणिक चरित्रहरूलाई नयाँ परिप्रेक्ष्यमा प्रस्तुत गरिएको छ अनि कथावस्तुमा नयाँ अर्थको अन्वेषण गरिएको छ | आधुनिककालमा पौराणिक आख्यान र मिथकहरुको यथार्थपरक पुनर्व्याख्या तथा पुन: संरचना गरिएको छ |

तेलुगु भाषाकी सशक्त नारीवादी लेखिका  पोपुरी ललिता कुमारी भारतीय साहित्यमा भोल्गा नामले परिचित छन् | उनले कथा, कविता, उपन्यास, नाटक, लेख, अनुवाद जस्ता विधाहरुमा कलम चलाएकी छन् | उनले आफ्ना लेखनका माध्यमबाट नारीवादी र प्रगतिवादी विचारधाराहरू प्रस्तुत गरेकी छन् अनि पौराणिक आख्यानहरूलाई खोतल्ने काम गरेकी छन् | तेलुगु भाषामा लेखिएको भोल्गाको प्रसिद्ध कथासङ्ग्रह ‘विमुखता’ सन् २०१५ सालको साहित्य अकादमी पुरस्कार प्राप्त कृति हो | हिन्दी भाषालगायत भारतका विभिन्न भाषामा यस कृतिको अनुवाद भइसकेको छ | सिक्किमकी वीणाश्री खरेल प्रधानले नेपाली भाषामा भोल्गालिखित ‘विमुखता’ कृतिको अनुवाद गरेकी छन् |

‘विमुखता’ कथा सङ्ग्रहमा ‘समागम’, ‘मृष्यमयनाद’, ‘सैकत कुम्भ’, ‘विमुखता’ ‘बन्धित’ गरेर जम्मा पाँचवटा कथाहरू परेका छन् | रामायणकी सीतासँग सम्बन्धित यी कथाहरू नारीका जीवन भोगाइ र जीवनवृत्तलाई लिएर नारीकै केन्द्रीयतामा रचना गरिएका छन् |

  ‘समागम’ कथामा रामद्वारा नाक काटिएकी कुरूपा शुपर्नखा र रामद्वारा परित्याग गरिएकी सीताका हृदयका वेदना र व्यथा समान छन् | सीता र शुपर्नखा दुवैले त्यस अपमान र कष्टलाई जितेर जीवन सार्थक बनाउनमा प्रकृतिको अनन्त रहस्यमाझमा आफैँलाई समाहित गरेका छन् | रामद्वारा नाक काटिएर कुरूप बनेकी शूपर्नखालाई आफ्नो अपमान र वेदना भुल्न प्रकृतिले नै सिकायो | यसैले उ भन्छे, “त्यस प्रतिकारको ज्वालाबाट बाहिर निस्केर पुन: सौन्दर्यसित प्रेम गर्नुको लागि रूप अनि अरूपको सारलाई बुझ्नको लागि मैले आफैँ नै आफूसित एक ठूलो युद्ध लड़नु परेको थियो अनि त्यस युद्धमा मेरो साथ दिएका थिए, यी अनन्त प्रकृतिले | प्रकृतिले सुन्दर अनि कुरूपताको कुनै भेदभाव गर्दैन |”

सत्य अनि सुन्दरताको गुढ रहस्यलाई हाम्रा सतही हृदयले बुझ्न र वाह्य चक्षुले देख्न असमर्थ छन् | यसका निम्ति तप, ध्यान, मानसिक एकाग्रता, तटस्थता, निस्पृहता आवश्यक हुन्छन् | मानव चरित्र निर्माणको एउटा मुख्य आधार प्रकृतिको उदारता र सहायकता पनि हो | प्रकृतिले मानव जीवनलाई सुख, शान्ति र समृद्धि प्रदान गर्नुका साथै आफ्नो उदारता अनुरूप मानव हृदयलाई पनि उदार बनाउँदछ, जसको फलस्वरूप स्वार्थ र सङ्कीर्णतादेखि माथि उठेर मानवमा उदात्त भावनाको स्फुरण भएको पाइन्छ |

‘मृष्मयनाद’ कथामा अहिल्या, सीता र रानी कौशिल्याका चरित्रबाट नारी हृदयको कोमल भावनालाई समग्र रूपमा नारी हृदयले मात्र बुझ्नसक्छ भन्ने विचार व्यक्त गरिएको छ | इन्द्रले गौतम ऋषिको भेषमा आएर अहिल्याबाट आफ्नो कामना पुर्ति गर्दछ, त्यसैसमय गौतम ऋषि आइपुग्छन् र सत्य कुरो प्रकासमा आउछ | पत्नीको चरित्रमा शंका गर्दै गौतमले उसलाई त्यागी दिन्छ ; सत्य जानेर अहिल्या जड़वत बन्छिन | अहिल्या ढुङ्गा बनेको कथाको पछाडीको सत्य बुझ्ने कति पुरुष हृदय छन् होला र? समाजले दोषी इन्द्रलाई देवताको आसनमा राखेर पुज्ने गर्छ र  सत्य नबुझी श्राप दिने गौतमलाई महर्षिको उच्च स्थानमा  राख्छ, अनि निर्दोष अहिल्याको शीलतामा शंका गर्दै उसलाई पतिता ठान्छ | यसैले  सीताले ‘सत्य के हो ?’ भनेर सोधेको जवाफ अहिल्याले यसरी दिन्छिन्- “ सबैको अ-अफ्नो सत्य बेग्ला बेग्लै हुन्छन् , सत्य अनि असत्यको निर्णय गर्ने शक्ति यो संसारमा कसैसँग छ ?”

प्रजालाई विश्वास दिलाउनका निम्ति रामले सीताको अग्निपरीक्षा लिन्छन् | आदर्श र मर्यादा रक्षार्थ गर्भवति पत्नी सीतालाई जङ्गलमा बाल्मीकि आश्रममा छाडिदिन्छन् र उसैलाई समाजले पुरुषोत्तम मान्दछ | तर सीता भन्छिन्, “म रामको लागि दोषीको स्थानमा उभिए, स्वयंका लागि होइन्” |

कुनै पनि व्यक्तिको प्रतिष्ठाको आकलन उसको जीवन-मूल्यद्वारा गरिन्छ | जीवन सत्य र आदर्शद्वारा संचालित हुन्छ, अनि यसैद्वारा जीवन-मूल्य स्थापित हुन्छ | कुनै पनि नारीले आफूलाई पूर्णरूपले समर्पित गरे पनि पुरूषमा अझ बेसी पाउने इच्छा सदैव रहेको देखिन्छ, सीताले जब यस सत्यलाई बुझिन तब उनमा नारीत्वको आत्मसम्मान जागृत हुन्छ अनि राममा आत्मसमर्पित हुनुको सट्टा आफूलाई भूमिपुत्री मानेर धरतीको गर्भमा विलिन हुन्छिन् |

‘सैकत कुम्भ’ कथामा रेणुकाले परपुरुषलाई हेर्दा मात्र पतिव्रत भङ्ग भयो भनेर क्रोधित जमदग्नि ऋषिले आफ्नो छोरा परशुरामलाई आमाको शिर काट्ने आदेश दिन्छन् अनि छोराले पिताको आज्ञा पालन गर्दै आमाको शिर काट्छ, आधा शिर काटिएपछि ऋषिको क्रोध शान्त हुन्छ र छोरालाई रोक्छन्  |  पौराणिक कथामा यसलाई पौरुषेय कार्य ठानिएको छ  | धेरै महिनासम्म मृत्युसित संधर्ष गरेर अनि वनका अदिवासी स्त्रीहरूको सेवाले रेणुका बाँच्छिन | पति र पुत्रबाट त्यागिएकी रेणुकाले आफ्नो आत्माबल,कर्मठता र स्वावलम्बनले स्वाभिमान अर्जन गरेकी छन् | स्वाभिमानले नै कुनै पनि नारीलाई नौनी जस्तो कोमलताबाट फलाम जस्तो कठोर बनाउनसक्छ |

    ‘विमुखता’ कथामा रामायणको कथामा ओझेलमा परेकी भरतकी पत्नी उर्मिलाको कथा पाइन्छ | रामायणकी मुख्य नारी पात्र सीता झै उर्मिलाले पनि लक्षमण आफ्ना दाजु र भाउजुसित वनवास जाँदा चौध वर्ष एकलै विरहिणी भएर एकान्तवास गरेकी थिइ | लक्षमण वनवास जाँदा उर्मिलाको विचार जान्ने आवश्यकता बोध कसैले गरेनन, न उसलाई एकवचन सोध्ने काम नै गरियो | रामसित वनवास जाने सीताको त्यागलाई समाजले उच्च दृष्टिले हेर्ने गर्छ तर उर्मिलाको व्यथालाई अदेखा गर्छ | उर्मिलाको वेदना व्यथालाई यस कथामा प्रस्तुत गरिएको छ | शुरूमा क्रोधवश उर्मिलाले आफैँलाई कोठाभित्र थुनेर राखेकी थिइन तर त्यही एकान्तवासबाट बिस्तारै उनले इर्ष्या, द्वेष, प्रेम माझको भेद बुझिन | अधिकार र बन्धनबाट मुक्त भएर नै मानिसले आफ़्नो अन्तरआत्मालाई चिन्न सक्छ र आफ्नो अस्तित्व बुझ्न समर्थ बन्छ भन्ने गुढ रहस्य बुझ्न सकिन अनि सीतालाई पनि बुझाउन सफल बनिन | यसैले लव र कुशलाई रामले स्वीकारे पछि एकली भएकी सीतालाई ‘ लोकको सामु आफू निर्दोष भएको प्रमाणित गरेमा पटरानीको पद प्राप्त हुनेछ’‘ भन्ने सन्देश पाँउदा पनि उनले कुनै उद्वेग, पीढा, कष्ट र अपमान बोध गरिनन् |

‘बन्धित’ कथामा कर्त्तव्य र प्रेम माझको द्वन्द्वमा राम फसेका छन् | वंश परम्पराअनुसार जेष्ठपुत्रलाई प्राप्त हुने राज्यधिकारलाई स्वीकार गर्नु नै रामको पहिलो कर्त्तव्य थियो | आर्यधर्म, क्षत्रीयधर्म, राजधर्म निर्वाह गर्नुपर्दा रामले चाहेर पनि आफ्नो हृदयको कुरा सुन्न सकेनन् यद्धपि पटक पटक सीताले रामको मर्यदा रक्षा गर्नकै निम्ति  अपमान सहेर अग्निपरीक्षा दिनु, गर्भवती अवस्थामा वन जानु, लव र कुशलाई हरेक क्षेत्रमा सक्षम बनाएर रघुवंशको उत्तराधिकारीका रूपमा रामलाई सुम्पिनु जस्ता कार्य स्वीकार गरेकी थिइन् |

अनुवादको प्रवृत्ति र प्रकृति :- सन् २०११ मा प्रकाशित तेलुगु भाषामा लेखिएको भोल्गाको विमुखता कथा सङ्ग्रहले सन् २०१५ को साहित्य अकादमी पुरस्कार प्राप्त गरेको हो | यो कथा सङ्ग्रह विभिन्न भाषामा अनुवाद भएको छ | यसको अङ्ग्रेजी अनुवाद ‘द लिबरेसन अफ् सीता’ लाई अनेकौं विद्वानहरूले चर्चा गरेका छन् ; अनि सन् २०१३ मा वीणाश्री खरेल प्रधानले यस कृतिलाई नेपालीमा अनुवाद गरेकी हुन् | आफ्नो अनुवाद कार्यमा वीणाश्री खरेलले हिन्दी भाषामा अनूदित ‘विमुखता’ लाई स्रोत भाषाको रूपमा लिइएकी छन् भने नेपाली भाषा लक्ष्य भाषाको रूपमा रहेको छ | मूल भाषाबाट कुनै अन्य भाषामा गरिएको अनुवाद कृतिबाट अनुवाद गरिए त्यसलाई परोक्ष अनुवाद भनिन्छ अर्थात् कुनै पाठ वा कृतिलाई मूल भाषाबाट अनुवाद गर्नका साटो मध्यवर्ती पाठबाट अनुवाद गरिएमा त्यो परोक्ष अनुवाद हुन्छ | भोल्गा रचित ‘विमुखता’ मूल तेलुगु भाषामा लेखिएको छ अनि वीणाश्री खरेलले हिन्दी भाषामा गरिएको अनूदित पाठबाट नेपालीमा अनुवाद गरेकी हुन् यसैले यस अनुवाद कार्यलाई परोक्ष अनुवादको उदाहरण मान्न सकिन्छ |

अनुवादक वीणाश्री खरेलको अनुवाद पाठमा मूल पाठमा दिइएको सामग्री वा सन्देशको पूर्ण प्रेषण भएको पाइन्छ | सरल र सरस भाषाशैलीको प्रयोगले कृतिको मूल आशय सम्प्रेषणीय बनेको छ | कतिपय ठाँउमा उनले झर्रो भाषा प्रयोग गरेका करणले अनुवाद प्रभावकारी पनि बनेको छ | जस्तै: ”मेरा प्रिय राम ! सीतालाई एकपल्ट अधाउञ्जेल आँखाभरि हेर्छु (पृ.३६); “निभेका अङ्गार हरर जल्यो” (पृ.९४); भारी बिसाएको स्थितिलाई शरीरले प्रथमपल्ट अनुभव गर्यो” (पृ. १०१); त्यससमय सीतालाई आफ्नो आँखामा लुकाएर राखेका थिए रामले” (पृ.१०२); “रामकी आँखाकी नानीलाई अपहरण गरेर लाने राक्षस त्यति कोमल पनि थिएन” (पृ. १०३); केहीदिनपछि त्यो घाउ थाक्नेछ” (पृ. १०५); त्यही घाउलाई अझ नुनचुक दलेर गहिरो काटेर, सीतालाई वन पठाइदिए” (पृ.१०५); रामको ढुङ्गा बनेको मन पग्लिने सम्भावना छ” (पृ.१०६) इत्यादि |

यद्धपि यस पाठमा कतिपय व्याकरणिक त्रुटिहरू पनि पाइन्छन् | जस्तै: “सीताको आँखा दीयो जस्तै प्रज्ज्वलित थिए” (पृ.१८); “आमा त्यो बघैंचा जति सुन्दर छ, त्याहाँकी मालिकनी त्यति नै कुरूप छ”  (पृ. १९); “लवले कुशको राय जान्न चाह्यो” (पृ. २०); “यसरी किन आन्दोलित हुनुभएको?” (पृ.४३ ); “पूर्णरूपले मनलाई प्रचालन गर्न सक्नेछु” (पृ. ५०) इत्यादि |

निष्कर्ष,

पौराणिककालका नारीका  जीवन भोगाइ र जीवनवृतलाई लिएर नारीकै केन्द्रीयतामा यस सङ्ग्रहको रचना भएको छ | शारीरिक बनावट अनि मानसिक र भावनात्मक रूपमा कमजोर ठानिने नारीले समयका चुनौतिहरूलाई स्वीकारेका छन् | परिस्थितिसँग तालमेल स्थापित गर्नमा पुरूषहरूको तुलनामा अधिक दह्रिलो र धैर्यवान् सिद्ध भएका छन् यस कथाका नारीहरू | स्वअस्मिताका लागि सचेत भइ आत्मनिर्णय लिनसक्ने नारीहरूको वर्णन छ |

यस कृतिले विभिन्न दृष्टिकोणमा मानवीय चिन्तनका भिन्न भिन्न आयामहरू उद्घाटित गरेको छ अनि उत्तरआधुनिक वैचारिक धरातलमा उँभिएर परम्पागत मूल्य र मान्यताको विरोध गर्दै नवीन मूल्यहरू स्थापना गरेको छ | यस कृतिका नारी पात्राहरूका मनमा भएका आत्मगौरवको भावना आधुनिक नारीका मनका भावना हुन् | भारतीय नारीहरूको अघि सैद्धान्तिक र व्यावहारिक अनेकौं प्रश्नहरू छन् | नारी अस्तित्वको निम्ति लडाइँ कसैको व्यक्तिगत लडाइँ होइन अनि पुरूष जाति विरुद्ध लडाइँ पनि होइन | पितृसत्तात्मक मानसिकताविरुद्ध यो एउटा सामाजिक लडाइँ हो | वर्तमान समयमा नारी भावनामा क्रान्तिकारी परिवर्त्तन आएको छ | आजका नारीको आफ्नै व्यक्तिगत सत्ता र पहिचान छ | आधुनिक नारी आफ्नो मूल्य र महत्त्वप्रति सचेत छन् एवम् वौद्धिक धरातलमा आफ्नो छुट्टै व्यक्तित्व बनाइराख्न सचेष्ट छन् |