ज्यादै थाकेको थिएँ । मनैदेखि गलेको थिएँ । लखतरान भई पीपल चौतारीमा थचक्क बसेँ । मनमा केही शान्ति छायो । तनमा केही ऊर्जा आयो । आँखा चिम्लन मन लागेन । पल्टिएर रूखलाई हेरिरहेँ ।

बाल्यकालदेखिका अविस्मरणीय यादहरू लुकाएर राखेको त्यो प्रिय रूखलाई नियालेर नहेरेको बर्सौँ भएछ । अहो! हाँगाहरू गिँडिएछन्, मेरा सपनाजस्तै । बोक्राहरू खस्रा भएछन्, मेरो छालाजस्तै । ठाउँ ठाउँमा धोद्रो परेछ, मेरो थोते मुखजस्तै । जराहरू जमिन छोडेर माथि माथि आएछन्, मेरा बाँकी रहेका दाँतहरूजस्तै । पहेँला पातहरूको डङ्गुर लागेछ, मेरो सेतो कपालजस्तै । मैले समपीडा अनुभूति गरेँ ।

अझै नियाँलेँ । चराहरूले डालीलाट गीत गाउँदै रहेछन् । गुँड लगाई बच्चा कोरल्दै रहेछन् । रूखमा त नयाँनयाँ मुनाहरू पलाउँदै रहेछन् । पाउलाहरू आकाशतिर फर्केर फर्फराउँदै रहेछन् । चिचिला लाग्दै रहेछन् । शीतल छहारी त अझ विशाल पो भएछ कस्तो अचम्म ! उसले त कत्ति पनि हरेस खाएको रहेनछ ।

मलाई सरम लाग्यो । मनले आफैँलाई धिक्काऱ्यो, “थुक्क कायर । एउटा रूखको जति पनि साहस नभएको ।”

म जुरुक्क उठेँ । लौरौ टेकेर हिँड्दाहिँड्दै सङकल्प गरेँ, “अब गएर, चस्माको पावर थपेरै भए पनि दुईचार थान साहित्यिक रचनाहरू त गर्छु गर्छु ।”

इलाम नगरपालिका ७