
सुबोध राई छुट्टिमा घर आएको थियो । बेलुकाको खाना खाएर गाउँतिर गफिन निस्कियो । गाउँमा उसका दामली साथी को नै पो बाँकी थिए र ! संजोगले एकै समय छुट्टी परेछ भने न हो, भेट हुने भनेको । कि दशैं तिहार छुट्टि पारेर आउनपर्यो । सबै जसो, ऊजस्तै बाहिरै छन् । आफ्नो गच्छे र पुर्पुरोअनुसार कोही मलेसिया छन्, कोही दुबई, कोही कतार, कोही कोरिया–जापान ।
धुसन, केही वर्ष मलेसिया बसेर आयो र बिहे गर्यो । परार भेट हुँदा छोरा–छोरी भएपछि फेरि भिसा झार्न पर्ला भन्थ्यो । अहिले, धुसनले गाउँमै किराना पसल खोलिसकेको रहेछ । यतै जमेछ, छोरा–छोरीको रहर भने अझै उस्तै थियो, उसको ।
धुसनले दिएको चुरोट सल्काएर सुबोध स्कुलको चौउरतिर लाग्यो । चौरमा झुरुम्म परेर भुराहरु खेलिरहेका थिए । खेलको नाम थियो, “भित्र–बाहिर” । एउटा वृत्तकार घेरा वरिपरि खेलाडीहरु झुरुम्म परेर उभिएका थिए । केही दुरीमा बसेर खेलको रेफ्री “भित्र–बाहिर–भित्र–बाहिर” भनेर चिच्याउँथ्यो । यसको कुनै निश्चित क्रम भने थिएन । खेलमा रहन “भित्र” भन्दा वृत्तकार घेरा भित्र र “बाहिर” भन्दा घेरोबाहिर रहनु पर्ने हुन्थ्यो । जो यो शर्त पूरा गर्न सक्दैनथ्यो, ऊ खेलबाट निस्कन्थ्यो । शर्त पूरा गर्दै अन्त्यसम्म रहने खेलाडी विजेता घोषित हुन्थ्यो । आफू भुरो हुँदोताका सुबोधले पनि यो खेल खेलेको हो । अहिले आएर उसको जीवन नै त्यही खेलमा परिणत भएझैँ थियो । बाहिर जाने, एकाध वर्षमा छुट्टी मिलाएर भित्र र फेरि बाहिर जाने । इन्डिया भागेको पनि गणना गर्ने हो भने विगत २० वर्षदेखि सुबोध यो “भित्र–बाहिर” खेलोमा अल्झिएको थियो ।

मनोज पनेरू
सुबोध खेल हेर्दै धेरैबेर एकोहोरियो । खेल अझै जारी थियो । चुरोट सकेर सुबोध घर फर्कियो । भित्र–बाहिर भनेको वर आइन्जेलसम्म सुनिन्थ्यो । राती ओछ्यानको भित्तापट्टिको कुनामा निदाउन लागेकी विनितालाई कोट्याउँदै सुबोधले भन्यो, “यसपटक “फिनिस” बस्नुपर्यो । नत्र, तोसँग बिहे गरेपछि धितमरुन्जेल घरमा सँगै बस्ने चाहनामै जिन्दगी सकिने भो ।” विनिता लिम्बु छक्क परी ।
सुबोधतिर कोल्टो फर्केर च्याब्रिदै भनी, “आबो बुढेसकालमा, अण्डा पारेर ओथारो बस्छौ ? बाहिरको पैसा नल्याए कसरी चल्छ ? स्कुल सकेर छोरी नर्सिङ्ग पढ्छु भन्छ । छोरोको ताल त्यही हो । त्यसले कहिले कमाउने ? बाइक भनेर रडाको छ । कसरी धान्ने ?” बिनिताले अझै एकाध वर्ष बाहिर जानुपर्ने कारणहरु उसका अगाडि भर्रर उमारिदिई ।
“होइन, आबो यतै केही गर्ने हो । धुसने त किराना पसल खोलेर यतै जमेछ,” सुबोधले तत्कालको लागि त्यही नै गतिलो उदाहरण भेट्यो ।
“किराना त नाममात्र । पछाडि आफ्नै भान्सामा रक्सी–मासु बेचेर जमेको हो । तरुनी स्वास्नी कम फुर्तीकी छे ?” बिनिताले कुरो काटी, “जाबो गाम्को बजारमा कति नै किराना पसल चल्छन् र फेरि ?” बिनिता डग्नेवाला थिइन ।
“किराना होइन लाटी अरु नै केही बिचार गरेको छु । गाउँमा धमाधम पक्की घरहरु बन्दै छन् । हार्डवोयर कसो नचल्ला । हामीले घर बनाउँदा कम्ता पैसा बुझायो, तल ठूलो बजारको रेग्मी–हार्डवोयरलाई । अझै पनि सबै ठूलो बजार नै जान्छ ।” सुबोध रोकिएन, “यत्रो वर्ष डाइभिङ्ग गरियो, बिदेशको कन्स्ट्रक्रसन कम्पनीमा । एउटा पिकअप ट्रक किनौँला । आफ्नो पसल, आफैँ डेलिभरी ।” सुबोधले पुरै बिजिनेस प्लान नै सुनायो ।
“पैसो कहाँबाट जुट्छ ?” विनिता अझै विश्वस्त थिइन ।
“डिलरबाट बाँकीमा सामान ल्याएर हार्डवोयर थाल्ने, अहिलेसम्म बचाएको केही रकम त्यसैमा खन्याउँला,” सुबोध एकछिन रोकियो र अँध्यारोमै बिनिताको अनुहार निहाल्ने प्रयास गर्यो ।
“ठूलो बजारको घडेरी राखेर फाइदा देख्दिनँ म ! सलाईको बट्टा जत्रो छ । त्यो बेच्नी हो । पिक–अपको खर्च त्यसैले बोक्छ । बाटो जताततै ग्रयाभिल हुँदैछ । बजारमा सर्ने होइन, आबो बजार यतै सर्छ ।” सुबोधले साँझ चौउरमा खेल हेदै एकोरिएको बेला बिनाक्रम फुलाएका सोचाइलाई क्रम मिलाएर फूलबारीझैँ बनायो र विनितालाई सुनायो ।
“सुखमा पाल्छ, सधैंसँगै राख्छ भनेर पोइला आकी, गर, म नाईं भन्दिनँ,” अब भने विनिता मानिसकेकी थिई ।
केहीबेरको धपेडीपछि बिनिता भित्ता कोल्टो फर्केर निदाई । सुबोधको मनमा भने विगतको घोडा दगुरी रहेको थियो ।
०००
सुबोधले एस्.एल्.सी. त जसोतसो पास गर्यो । एक वर्षजस्तो क्याम्पसमा हल्लिएपछि पढेर खाइएला जस्तो लागेन, उसलाई । जति छाती तन्काए पनि लगातार दुई पटक ब्रिटिस आर्मीमा फेल भएर निराश थियो । बितिसकेका बुवा उमेरमा इन्डियन आर्मी थिए । आमाले भन्दा नदेलिन् भनेर सुबोध भागेर इन्डिया गयो । तीन वर्ष सम्म इन्डियाको बम्बई शहर खाएर घर फर्कदा उसको हातमा केही पैसा र कन्सट्रकसनका हेभी गाडी चलाउने सीप थियो ।
सुबोधकी आमाले फर्केको छोरोलाई बाधेर राख्न बिहे गर भनेर कर गरिन् । स्कुल पढ्दै आँखामा बसेकी विनिता लिम्बुका बाबु हङ्कङ्गे लाउरेले भने उसलाई पत्याएनन् । जात–रिती नमिल्ने बहानामा ऊ चिसो राईलाई, ताता लिम्बु परिवारको अनुमति मिलेन । बूढाले सधैँ लाहुरे फौजी ज्वाईं चाहिन्छ भन्थे, उनको नजरमा सुबोध चाउरे ठहरियो । त्यसैछेक विनिताले एस्.एल्.सी. दोहोर्याएर फेल गरी । घरमा नमाने पनि विनिता सुबोधसँग भागेर पोइला जान राजी भई । महान् उद्देश्यलाई गाउँमै बेवारिसे छाडेर ऊ काठमाडौँ हानियो । यो पटक भने सुबोधले आमालाई भाग्नुको कारण सम्झाएर केही पैसासमेत मागेर भागेको थियो ।
काठमाडौंमा आफ्नो सीपको काम पनि पायो सुबोधले, क्रसर उद्योगमा । विनिताले गर्छु भनेर ब्युटिपार्लर सिक्न थालेकी थिई तर आएको वर्ष नबित्तै छोरो जन्मियो । विनिता छोरो सिङ्गार्नै व्यस्त भई । सुबोधको कमाइले दुखः सुख पुगेकै थियो । आमाले गाउँको खेतमा खेताला लगाएर उमारेको अन्न बेलाबेला छोरालाई ठेल्दिन्थिन् । सुबोधलाई आफ्नो जीवनप्रति त्यस्तो कुनै गुनासो थिएन । एक वर्षको अन्तरालमा फेरि छोरी जन्मिई । सुबोधलाई अझै पनि कुनै गुनासो थिएन ।
आमा भने अब त बिनिताका परिबार पनि मान्छन् फर्के हुने भनेर गुनासो गर्थिन् । खेताला खोज्न सक्न पनि छाडिन् रे, पहिला जस्तो पाउन पनि छाडे रे । सुबोधलाई भने यतै ठिक थियो ।
छोराछोरी हुर्किएसँगै धमाधम खर्च शीर्षक थपिन थाल्यो । सुबोधको कमाईले मात्र के पुगोस् ! पहिला पुग्दो लाग्ने कमाई, अहिले अचारजस्तो भएको थियो । खर्च शीर्षकमा थपिएको आमाको दबाईले खेतको आम्दानी उतै निख्रिन्थ्यो । सुबोधको आम्दानीको धारोमा अब चुहिन छाडेको थियो । छोरोको नर्सरी बीचैमा छोडाएर सुबोध गाउँ फर्कियो ।
खेत सह्यारेर खर्च धानिने न सम्भावन थियो न त सुबोधलाई त्यसो गर्ने रहर नै । आमालाई फकाएर खेत बेचेर तल ठूलो बजारमा सर्ने सोचमा थियो । एक्लो छोरोको आग्रह आमाले नमान्ने कुरै भएन तर घर–बारी भने आफ्नो शेखसम्म राखिदिऊन् भन्ने आमाको एक मात्र सर्त थियो ।
खेत बेचेर ठूलो बजारमा सुबोधले घडेरी किन्यो । गाउँका मान्छे सबै ठूलो बजार सर्न थालेका थिए । भाउ आकासिएको थियो । सटर भएको घर बनाउन पुग्ने पैसा उभ्रिएला कि भनेर सोचेको थियो सुबोधले । तर, जसै गरे पनि मिलाउन सकेन । जनआन्दोलन/क्रान्ति सफल हुँदै थियो तर सुबोधको बजारमा केही थालौँला भन्ने योजना भने सफल हुन सकेन । चक्काजाम र नेपाल बन्द मात्रै हुन्थ्यो । नयाँ नेपालमा धमाधम नयाँ नयाँ राजनैतिक मुद्दाहरु उम्रिन्थे ।
टुँडिखेलजत्रो खेत बेचेर सलाईको बट्टाजत्रो सोतो जोडेको छ त्यसबाट के उमारेर खाने, सुबोधकी आमा पीर गर्थिन् । अब भने सुबोधलाई पनि आफ्नो जीवनदेखि गुनासो लाग्न थालेको थियो । गुनासोले व्यवहार चल्ने कुरो त भएन । गाउँका प्रायः घरका कोही न कोही वैदेशिक रोजगारमा थिए । केही वर्ष मलेसिया बसेर आएको धुसनले आफूभन्दा धेरै भर्खरी केटीसँग धुमधामसँग बिहे गरेको सुबोधले देखेको थियो । सुबोधले पनि पास्पोर्ट बनायो, भर्खरै हुर्किदै गरेका आफ्ना छोरा–छोरीको भविष्य सम्झेर ।
सुबोध एक्लै काठमाडौं जाने भयो । विनिताले सानो मुख लगाएकी थिई । आफ्नै आमाले जस्तो लोग्नेको छुट्टी कुरेर बस्ने जीवन सुरु हुँदैथियो, उसको ।
सुबोध राम्रो म्यानपावर खोजेर पासपोर्ट पेस्ने सुरमा थियो । ऊसँग हेभी गाडीको लाइसेन्स पनि थियो । यसमा राम्रै कमाई हुन्छ भनेर उसलाई दलालले भरोसा दिएको थियो । काम भयो पनि । ऊ कतार जाने भयो । उसैको सीपको काम । कन्स्ट्रक्सन कम्पनीमा । अरुले के गरे कुन्नी ? सुबोधले पुरा एक लाख बुझायो । भिषा खर्च, टिकट खर्च, स्वस्थ परीक्षण खर्च, श्रम अनुमति खर्च, अन्य मसलन्द खर्चजस्ता मुख्य खर्च शीर्षक बाहिर । मिलाइदिएको खर्च ।
कतारमा सुबोधलाई राम्रै ठाउँ परेको हो । उसको काम बिल्डिङ्गको फाउन्डेसन खन्ने । “हात्तिसुँडे” गाडी चलाउन पर्ने । दलालले “कन्फम” भनेको भन्दा आधा कम तलब बुझेको पहिलो महिना सुबोधभित्रको हिसाब डामाडोल भएको थियो । आउँदा–आउँदै आकाशमै बनाएको तीन वर्षमा फर्कने योजनामा एक वर्ष थपेर उसले हिसाब मिलान गर्यो ।
तर ३ वर्षपछि नै सुबोधले नेपाल फर्कन पर्ने भयो, पहिलो छुट्टी मिलाएर ।
विनिताका बुवाले फोनमा खबर सुनाउँदा, कतारमा सुबोधको मुटु भित्रैदेखि निचोरिएको थियो । मुटु निचोर्दा निस्कने होला, आँशु । आँशु बुझेर साहुले त्यो दिन आधा ड्युटीमै बिदा दिएको थियो । लगत्तै छुट्टी मिलाउन खोजेको थियो सुबोधले तर साहुले कसैगरे पनि मानेन । उसले आमा खसेको भोलिपल्ट दिनभरि खाल्डो खनेको थियो, बिल्डिङ्गको फाउन्डेसन । उता उसकी आमाको माटो पुर्ने अन्तिम संस्कार छिमेकी–कुटुब्ब मिलेर छिनेका थिए । आमा खसेको एक महिनापछि बल्ल सुबोधको ३ बर्ष पुरा भयो ।
आमा बिनाको रित्तो घरमा छिर्दै सुबोधले भने त्यही घर–बारीमा नयाँ घर बनाउने निर्क्यौल गरेको थियो । “आमाको शेखपछि पनि घर भने रहोस्,” उसले विनितालाई यतीमात्र भन्यो । विनिताको भित्री इच्छा ठूलो बजारमा सर्ने थियो । उसका माइती त्यतै थिए । विनिताले आफ्नो लोग्नेलाई निहाली र आफू भित्रको इच्छा लुकाई ।
दुई वर्षपछिको दोस्रो छुट्टीमा आएर घर पूरा गर्ने सोचमा थियो, सुबोध । तर अरु आवश्यकताहरु जन्मिए । छोरा–छोरीले रङ्गीन टेलिभिजन भनेर साह्रै कर गरे । विनिता पनि उनैपट्टि लागी । तिनैका लागि त हो, ऊ विदेशिएको, नाइँ भन्न सकेन । केही पैसा त्यता खर्च भयो । छोराछोरीको पढाई खर्च वर्षेनी बढ्थ्यो । कमाईको स्रोत एकै थियो तर खर्च शीर्षक थपिदै गएका थिए । घर खर्चमा पानीको पैसा, बिजुलीको पैसा, ग्यासको पैसा, अब थपिने केबलको पैसा, पोहोरदेखि थपिएको टेलिफोनको पैसा समय क्रमसँगै नयाँ-नयाँ खर्च शीर्षक थपिन्थे र पुराना खर्चहरु हलक्कै बढ्थे ।
सासू खसेपछि गाउँको बजारमा विनिताले खाजा–पानीको होटल चलाएकी थिई । आफैँले जाँड रक्सी बनाउँथी । “छोरा छोरी स्कुल, म एक्लै घर बसेर के गर्नु । यसो नून–भुटुनको भरथेग हुन्छ,” विनिताले सुबोधलाई फोनमै सम्झाएकी थिई । पछि छुट्टीमा आएकोबेला सुबोधले पसल बन्द गर्न कर गर्यो ।
“छोरा–छोरी ठुला भए, नराम्रो असर पर्छ,” सुबोधको तर्क थियो । बिझेको भने उसलाई धुसनले सुनाएको गाइँगुइँ हल्लाले थियो । धुसनले सम्झउँदै भनेको थियो, “रक्सी खान कस्ता–कस्ता मान्छेहरु आउँछ ।” मनले विनिताप्रति शंका गर्न नसके पनि धुसनको कुरो एक कानले सुनेर अर्को कानले उसै उढाउन सकेन सुबोधले । विनिताले होटल बन्द गरी ।
सुबोधसँग घर एकैचोटी सक्न, पुग्दो पैसा कहिल्यै भएन । पटक–पटको भित्र–बाहिरमा सुबोधले बल्ल घर सकायो । त्यही घरको ओछ्यानमा निदाउन प्रयासरत सुबोधभित्र विगतको घोडा दगुर्दै थियो । सुबोधले बल गरेर घोडा अँठ्यायो । हरेक पटक सुबोधको मन उडेर भित्रिए पनि घिस्रिएर बाहिरिन्थ्यो । “कति घिसार्नु, अब यतै (भित्रै) केही गर्ने हो,” अठोटका साथ सुबोध निदायो ।
०००
सुबोधले हार्डवेयर राम्रैसँग थाल्यो । आफ्नै सालो पर्ने जग्गा दलाललाई केही दिएर बजारको घडेरी सल्टायो । किनेको पिकअपले राम्रै ट्रिप पाइरहेको थियो । सुबोध आफ्नै धन्दामा हराएको थियो । तर सायद नियतिलाई त्यो स्वीकार थिएन । उसले कुदाएको पिकअपले बाइकलाई हान्यो । बाइक कुदाउनेको दुवै हात भाँचियो । जोगाउन खोज्दा बाटोबाहिर मोडिएर पिकअप पनि पिल्टियो । सुबोधका खुट्टा ठनक्कै भाँचियो ।
आक्रोशित भिडले उसको पिकअप जलाइदिए । बाइकको तुलनामा उसको पिकअप ठूलो थियो । सुबोधले सम्पूर्ण उपचार खर्च र हर्जना तिर्नपर्ने भयो । उसको पक्ष लिएर केही मान्छेहरु लागे, कुरो मिलाइदिन । तिनले सकेसम्म घटाइदिए । घटाए बापत आफूले केही लिए पनि । हार्डवेयर पसल मासेर सुबोधले सबै तिर्यो र आफू नाङ्गै घरमा थन्कियो ।
केही उपाय निस्किएन । अब विनिता बाहिर जाने भई । भाषा सिकेर, इजरायल ।
सुबोध तङ्गरियो । उसको जीवन प्रतिको गुनासो भने झाङ्गिदै गयो । अब, ऊभित्र थियो, विनिता बाहिर । ऊ घर खर्च चलाउँथ्यो, विनिता खर्च पठाउँथी । फेसबुक च्याटमा अनुहार हेरेरै बेलामौका विनितासँग कुरा हुन्थ्यो । यता रात पर्दा उता अझै दिउँसो हुने । कहिले ओभर टाइम डियुटी आवर । प्रायः अधुरै कुरा सकाउनु पर्थ्यो ।
सुबोधको पुरानो साथी धुसन, फेरि मलेसिया उढेको थियो । बाहिर गएन, पैसो कमाएन, भनेर बुढी गनगन गर्छे भन्थ्यो । अब, धुसनकी स्वास्नी किराना पसल र पछाडि भन्साघरको व्यपारको साहुनी भएकी थिई ।
“नाना किसिमका आउँछन् धोक्न । नदिउँ, आफ्नो मेलो यही छ,” धुसनकी स्वास्नी गुनासो गर्थी ।
“तपाईं हुँदा भने मलाई ढुक्क र भर हुन्छ,” सुबोधलाई भन्थी । सुबोध पनि सबै ग्राहक नगइन्जेल अबेरसम्म बस्न थालेको थियो ।
सुबोधका छोरा–छोरी दुवै तल ठूलो बजारमा डेरा बसेर पढ्न थालेका थिए । मध्यरातमा घर आउँदा पनि भएकै थियो सुबोधलाई । टोक्ने–रोक्ने कोही थिएन । मध्यरातमा, विनितासँग कहिलेकाहीँ कुरा हुन्थ्यो । विनिता छोरीको नर्सिङको पैसा पुर्याएर आउनपर्ला भन्थी, कहिले । कहिले आफूले स्यहार गरिरहेको आफ्नो बूढो साहु मरेपछि ।
एक दिन आफ्नै घरमा ताला लगाएर सुबोध गाउँबाट भाग्यो । धुसनको पसल पनि खुल्न छाड्यो । सुबोधसँगै भागेकी धुसनकी स्वास्नी गर्भवती भएकी थिई । सुबोध र धुसनकी स्वास्नी कता गए, कसैलाई थाह भएन ।
०००
“अब भने म सधैँको लागि भित्र आएँ,” सोच्ने क्षमता अझै बाँकी भए, सुबोध यो सोचिरहेको हुँदो हो । कुन छुट्टी थियो, अब त गन्ती पनि हराइसकेको थियो । बाकस भित्रको सुबोध यस्तै सोच्दो हो ।
देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टर्मिनलमा धुसनकी स्वास्नी (भूतपूर्व), छोरो च्यापेर बाकस भित्रको सुबोधको लाश कुरिरहेकी थिई । कुनै भाव नै थिएन उसको अनुहारमा, के लेखौँ ?
त्यही विमानस्थलको प्रस्थान टर्मिनलमा विनिता छोरोलाई बिदा गर्न आएकी थिई । विनिताको छोरो पहिलोपटक बाहिर जाँदै थियो ।
नयाँ–नयाँ वैदेशिक रोजगारका गन्तव्य खुल्थे । देश चल्दो थियो । भित्र–बाहिर खेल, अघोषित राष्ट्रिय खेलमा परिणत भएको थियो । खेलाडी फेरिन्थे तर खेल भने जारी थियो । भित्र–बाहिर–भित्र–बाहिर…..।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ असार २०८३, मंगलवार 










