भावनाको प्रचुरताले कविता सुन्दर बन्छ । विचार र अनुभूतिको गहिराइमा डुबेर गरिएको सिर्जना मीठो हुन्छ । वास्तवमै कविता विराटतामा बाँच्छ । जीवनका आरोह अवरोह छिचोलेर पोखिन्छ । आँशु र वेदनाका मर्महरूबीच कविता अभिव्यञ्जित हुन्छ । यसैले विशाल छ काव्यको क्षेत्र । आकाश जस्तै फराकिलो छ काव्यको फैलावट ।
यता अर्काको दुःखमा दुख्ने संवेदित मन हुन्छ मान्छेसँग । अरुको भावना बुझ्ने मन हुन्छ । समाजका उहापोहहरू देख्ने पनि मान्छे र तिनलाई भोग्ने पनि मान्छे । मान्छे हरेक परिवेशको साक्षी हुन्छ । सहजता र असहजता, सुख र दुःख सबैलाई बेहोर्ने ताकत पनि मान्छेमै हुन्छ । यही मान्छे त हो आफ्नो परम्परागत मूल्य र मान्यतामा च्युत हुन चाहन्नन् । आफ्नो परम्परा, सामाजिक मूल्य र मान्यता र आफ्ना पूर्खाका आदर्शहरूको विरासत थाम्न पनि चाहन्छ मान्छे । यति सरल मान्छे कहिले वर्तमान राजनीतिक विकृति र विसङ्गतिबाट आकुल व्याकुल भएर तनाव बेहोर्छ र आक्रोश पोख्छ । उसलाई मन पर्दैन यस्ता विकृतिका भङ्गालाहरू । र विद्रोहको भयावह लप्ला ओकल्छ । प्रकृतिको प्रेम कसले नगर्ला ! प्रकृतिको विनाशमा को खुशी होला !
यस्तै हो कविमन । अनि यस्तै यस्तै भावहरूमा “सिमल भुवा” नामक कवितासङ्ग्रह लिएर आएका छन् कवि डा.श्यामप्रसाद न्यौपाने । विभिन्न शीर्षकमा छत्तिस थान कविताहरू कृतिमा समावेश छन् । भावलाई अभिव्यक्त गर्न कुशल कलम चल्छ । विषयगत अनेकतामा सिर्जना फूलेको छ कविको ।
डा.न्यौपानेका कवितामा जीवनका भोगाइहरू बग्रेलती छन् । उनी जीवनको महिमा बुझ्ने कवि हुन् । कल्पनामा उडान भर्ने र विकृतिविरुद्ध कलम चलाउने कवि हुन् । कवितामार्फत प्रकृतिलाई हृदयमा सजाउने कवि हुन् । सगरमाथा, फूल, सुवास आदि कविताहरूले पर्याचेत र प्रकृतिको सौन्दर्यलाई कवितामा उधिनेका छन् । कवितामा आफ्नालाई बिम्ब बनाइएको पनि छ । ‘बा’ को जीवनलाई मध्याह्नको टन्टलापुर घाम खाँदै र सुकेको आलुलेझैँ सुकाएर नाकमुख जस्ता विम्बहरूद्वारा चित्रण गरिएको छ ।
नेपाली कृषि र किसानको दुरावस्था देखेर उनी किसानप्रति सहानुभूति भाव राख्छन् । कृषि प्रधान देशमा क्रमशः मर्दै गएको कृषिसंस्कृतिप्रतिको चिन्ताभाव प्रकट भएको छ । कवितामा पुर्खाको इतिहासको विरताको गाथा गाइएको छ– पुर्खाको पुर्पक्ष, स्वाभिमान गिराइन्न आदि कविता यसैतिर लक्षित लाग्छन् । जस्तै नालापानी युद्धलाई बिम्व बनाएर रचिएको कविता हेरौँः
वैभवशाली ऐश्वर्यशाली र
सर्वशक्तिसम्पन्न विरुद्ध
पानीले घाँटीमात्र भिजाएर
कुदेका हौँ युद्धमैदानमा
बाल, बनिता र वृद्धहरू । ( पुर्खाको पुर्पक्ष)
मानवीयताको पक्षधर हुन् । मानवताका पुजारी । ब्रह्मले देखेको कुरा अक्षरमा कविताको भावमा अभिव्यक्त गर्छन् । युगवोध गर्छन् कविता । त्यसैले त सपनालाई आफैँसँग उभ्याउँछन् । कामना गर्छन् सुखको । कविताहरू जीवनको अन्तर्लयको सन्निकट छन् । कविले मानवीय भावको मर्मलाई बोकेका छन् । चिन्ता र चिन्तन छ जिम्मेवार व्यक्तिका रूपमा । उज्यालोको खोजी छ । सकारात्मक बाटोमा लाग्ने अनुरोध छ । भोक्ता भएर प्रस्तुत भएका कविता छन् । निर्निमेष कवि हेरिरहन्छन्, सोचिरहन्छन् र देखेका र उब्जिएका भावहरू कवितामा पोखिरहन्छन् । कविताहरू भावप्रधान मात्र छैनन् । वेद र उपनिषदका मन्त्रहरूको यथोचित प्रयोगले आध्यात्मिक र दार्शनिक गाम्भीर्यलाई समेत कविले समेटेका छन् ।
बोझिला छैनन् कविताहरू । अमूर्त छैनन् । कतिपय कविताहरू प्रतीकात्मक छन् । कतिपय कविताहरू भावप्रधान छन् । आशावादी भावका कवितामा सपना र यथार्थ जस्ता कविता पर्छन् । बिहानको सूर्य जति आशालाग्दो हुन्छ, मानिसका सपनाहरू पनि उस्तै आकर्षक र नयाँ उत्साह बोकेर आउँछन् भन्ने कविको राय छ । कविता गहिरो भावको छ:
हरेक दिन लालिमे सूर्यको
न्यानिलो, उज्यालो र आकर्षक झुल्कोसँगै
उदाउँछन् रहर लाग्दा सपनाहरू
सपनाहरू उदाउँछन् मात्र (सपनाहरू)
कविताहरूमा अनेकानेक विम्बहरूको प्रयोग छ । अझ केही कवितामा त मिथकहरू पनि प्रयुक्त भएका छन् । जस्तै: धृतराष्ट्र, कर्ण, शकुनी, मेनका, रम्भाजस्ता पौराणिक पात्रहरू प्रयोग भएका कविताहरूले यो कुरालाई पुष्टि गर्दछ । व्यङ्ग्यचेतका कविता पनि छन् । मानिस डराएर बोल्न नसक्ने, चुपचाप गुम्सिएर बस्नुपर्ने अवस्थालाई सन्नाटाको रजाइँ जस्ता कविताले सान्दर्भिकतासहित चित्रण गरेका छन् । उनले सम्बन्धको खडेरीलाई औँल्याएका छन् । डर र त्रासका मनोविज्ञानको कविता कोरेका छन् । यस्तै राजनीतिक र सामाजिक व्यङ्ग्य भएको अर्को कविता बुख्याँचा पनि हो । शीर्षक प्रतीकात्मक छ । यसमा जनताको मानसिकतामाथि निर्मम प्रहार गरिएको छ ।
राजनीतिमा स्वार्थको खेती गर्नेहरूले हालिमुहाली गरेको वर्तमान यथार्थलाई चित्रण गर्छन् कविताहरूमा । तिनमा वर्तमान राजनीतिको अत्यन्तै घिनौना हर्कत र त्यसले आम मान्छेका जीवनमा पारेका नकारात्मक असरप्रति कविले कटाक्ष गरेका छन् । उनको मन किन नदुखोस् ? उनी बहुजन हिताय पक्षका कवि हुन् । वर्तमान समयको स्वार्थीमान्छेका सादृश्य चित्रण गरेको छ कविता –मेरो बस्तीमा । देश हामीले हँसाउने हो आह्वानमूलक र उत्प्रेरणा जगाउने कविता हो । यसले सकारात्मक सन्देश प्रवाह गर्छ । राष्ट्रप्रेमको नाउँमा ढोङ र स्वार्थ बोक्नेहरूप्रति कटाक्ष लक्षित छ कविता । देशको पछिल्लो समयसम्म आउँदा पनि आशावादी हुन नसक्दा निराश भएका कवि भन्छन् :
आफूलाई नढाँटेर आउनुहोस्
र हटाउनुहोस् स्वार्थको भकारी
र बनाउनुहोस् मन
जस्तो कि वृन्दावन
बन्नुहोस् शिवि र दधीचि
र बन्नुहोस् महिन्द्र मल्ल (देश हामीले हँसाउने हो )
सरलताभित्र हुर्केका उम्दा कविता छन् । सरल, सजिला र प्रवाहमय । कतिपय ठाउँमा भने कविले तत्सम र कम प्रचलित संस्कृत शब्दहरू प्रयोग गरेर बौद्धिक गहिराइ दिन खोज्दा पाठकले जटिल अनुभव गर्लान् कि भन्ने आशंका गर्ने ठाउँ छ । बिम्ब र मिथकको प्रयोगमा कुशलता पनि देखिएको छ । नेपाली ग्रामीण परिवेशका बिम्ब जस्तै ह्वारह्वार्ती बलेको आगोको लप्को सारङ्गीझैँ धुरुक्क रुनु, आदिले त्यो संकेत गरेका छन् ।
कृतिको शीर्षक ‘सिमल भुवा’माथि तीनवटा कविता समावेश छ । सिमल भुवा पुस्तकको शीर्षक आफैंमा शक्तिशाली प्रतीक हो । जसरी यो भुवा हावाको मर्जीमा यताउता उड्छ र कतै गएर अडिन्छ, वसन्त मासमा फूल्छ सिमल । गुलियो सिमल । गुनिलो सिमल । उपयोगिताको दृष्टिले, स्वास्थ्यका दृष्टिले, सुन्दरताका दृष्टिले उस्तै । औषधीको गुणवेत्ता छ सिमलमा । भुवा त हलुङ्गो हुन्छ । तर अर्थमा अस्थिरताको प्रतीक लगाइए पनि सिमल भुवा जहिल्यै लाभप्रद । सामान्य प्राकृतिक वस्तुलाई पौराणिक अप्सराहरूको नृत्यसँग जोडेर सिर्जना भएका छन् कविताहरू । कविताहरूले मानव नियतिको अनिश्चिततालाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । मानिसको जीवन, नियति र अस्तित्वको गतिशीलता आएको छ कविताहरूमा ।
यति भएपछि भन्न सकियो– कविका अनुभव, अनुभूति र चिन्तनको त्रिवेणी बनेर आएको छ– सिमल भुवा । सरल र गाम्भीर्य भावका गद्य कविताकृतिको निम्ति कविलाई हार्दिक बधाई ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










