नेपालमा निबन्ध लेखनीको इतिहास धेरै लामो छैन् । निबन्ध लेखन परम्पराको थालनी भएको करिब अढाई सय वर्ष मात्र भयो । यसमा पनि आत्मपरक निबन्ध लेखनीको इतिहास त अझै छोटो छ । आत्मपरक निबन्ध लेखनी अरु विधामा जस्तो बाढी आएको छैन । यसो हुनुमा आत्मपरक भएर अभिव्यक्त हुन निबन्धकारलाई गाह्रो भएको हुनसक्छ । सत्यको सन्निकट भएर, आफूलाई जस्तो हो त्यस्तै ढंगले लेख्ने काम गाह्रो हुन्छ नि । आफ्ना अनुभूतिहरूलाई यथार्थको कसीमा घोटेर लेख्नु निश्चय नै गाह्रो कर्म हो । यही गाह्रो कर्म आत्मपरक निबन्धमा हात हालेर भर्खरै आएकी छिन् पोखराकी रीता न्यौपाने पहारी । उनको ‘बेरीतका रीतहरू’ शीर्षकृत आत्मपरक निबन्धसङ्ग्रह हालै प्रकाशित भएको छ ।

वास्तवमै स्रष्टाको नीजत्व र विचार, सोच र चिन्तनलाई निबन्धमा पोख्नु गाह्रो छ । रीता पनि आफ्नो कृतिमार्फत भोगाइका अनगिन्ती श्रृङ्खला, मनका उद्वेग र भावनाका उच्चवासहरूलाई मिठासको चास्नीमा चोपेर लेख्छिन् । उनका निबन्धहरू तथ्य र यथार्थको सन्निकट रहेर लेखिएका छन् । भावनाको गहिराइबाट उम्रेका शब्दहरूको अनवरत भेल अन्ततोगत्वा निबन्ध बनेर बगेका छन् । सबै निबन्धहरू उनका निजी विचारका उपज हुन् । वैयक्तिक भोगाइहरूका लहर हुन् । भावात्मक रुपले गहिरा, विभिन्न कहरपूर्ण समयले ल्याएका बाछिटाहरू स्पष्टै देख्न सकिने छन् ।

रीताका निबन्धहरूमा प्रायः छोटामोटा प्रलापहरू परेका छन् । कतै आँखा रसाउँछन् । आँशु भरिन्छन् आँखामा । मनले मान्दैन् भावुक बनाउँछ । अनेकानेक कुराहरूले मनभित्र घर गर्न थाल्छन् । उनको भोगाइको अनवरत सागरमा कहिलेकाहीँ निराशाको छाल उचाल्छन् । कहिले मनमा घोर विद्रोहका भावहरू पैदा गर्छन् । कहिले आँधी आउँछ र तहसनहस पार्छ, सबकुछ । यस्तै अलगथलग जीवन बाँचेकी छिन् रीता ।

ह्रदयविदारक घट्ना र प्रसंगहरू पनि उनका निबन्धमा आउँछन् । मायावी संसारमा उनले खप्नु परेको बुहार्तनका घाउ, झेल्नु परेका आँधी र हुरी, चढ्नु परेका दुःखका पहाड, सबै सबै छन् निबन्धमा बल्ग्रेल्ती । गुनासा, चिन्ता, पीडा खातैखात, तर पोख्नु कसलाई ? पोखी साध्य भए पो । फेरि यही हो समाज, स्वार्थको घर गरेर बसेको । उल्टै कमजोरीमा अनूचित लाभ उठाउने यत्न समाजको । महिला, त्योमाथि एक्ली । चुनौती नै चुनौतीका गोदाममा जिन्दगी बिताउँदा के हालत हुन्छ ? सबै यहाँ पोखिएको छ । मान्छे न हो, चाहेको मात्र सधैं हुँदैन् । नचाहेको भैदिन्छ । आवश्यकताभन्दा फरक बाटो गइदिन्छ जिन्दगी । बज्रपात पर्छ । अनि चट्किन्छ मिल्किएर चट्याङ्ग । सधैं कहाँ आउँछन् र प्रिय कुराहरू ? अप्रिय भैदिएर आउँछन् लामबद्ध सत्यहरू जहाँबाट उम्कन सके पो । धेरै धेरै दुःख छामेको अनुभव छ रीतासँग । सबै सबै पोखिएका छन् निबन्ध भएर । रीताको जिन्दगी पढ्न अरु केही गर्नु पर्दैन्, यिनै निबन्धहरू काफी छन् । उनले आँशुको रंग कस्तो छ ? देखेकी छिन् । कहरको प्रहर कस्तो हुन्छ ? काटेकी छिन् । पुरुषको नराम्रो नजर कस्तो हुन्छ ? नजिकबाट गुजारेकी छिन् । उल्लासमय समय र उजाड फुङ्ग उडेको समय भोगेकी छिन् । कालो बादलले फणा फैलाउँदाका व्यथाहरूबाट चिप्लिएर आएकी छिन् । साँच्चै खाटा बस्न सकेका छैनन् गहिरा घाउहरू । पटक पटक चहर्याउँछन् । पोल्छन् भतभती बेस्सरी । तर पनि विश्वासमा छिन् । सत्मा छिन् । समयका क्रममा आएका दुःखका बाछिटाहरूसँग जोगिँदै जोगिँदै यहाँसम्म आइपुगेकी छिन् । उनले दुःखसुखलाई जीवनको दुई किनाराको रूपमा लिन सुझाएकी छिन् । वास्तवमै जीवनको गजबको चिन्तनमा उनी पुगेकी छिन् । समयसँग पौठेजोरी खेल्ने दुस्साहस गरेर जीवनलाई सत्मार्गमा लगाएकी छिन् ।

भित्री दिलदेखि सबै परिवेशहरूलाई सहज रूपमा लिने उनको वैयक्तिक सामार्थ्य देखिएको छ । यी निबन्धहरू ती सबै कुराहरूको दृष्टान्तको रूपमा प्रस्तुत भएका छन् । कसरी जिइन होला– दुःखैदुःखका खोपिल्टाहरूमा फसेर । कस्तो भोगाइ होला– मनोवैज्ञानिक त्रासका टोट्काहरूमा बन्दी झैँ जीवन खपेको । कति कुँजियो होला– जिन्दगी एउटा सानो फ्रेमरूपी दैनिकीमा । यी सबै सबै कुराहरूको फेहरिस्त हो बेरीतका रीतहरू ।

‘उनी हामी, मोबाइल र फेसबुक’मा चिठी चपेटा आदानप्रदान हुँदा पुलकित भएकी रीता फोन, पेजर, इमेल,मोबाइल चलाउँदा अनि पहिलो पटक फेसबुक आइडी बनाएर चलाउँदाका बेलगाम अनुभूतिहरू उतार्छिन् । सबै कुरा तिनमा रहेको बताउँदै भन्छिन्– ‘फेसबुके जीवनका अवधिमा धेरैले आफ्नो अनुहार देखाए । बदमास र अनैतिकहरूले तनाव दिए । इमानदार र सुविचार भरिएकाहरूबाट स्नेह, उर्जा र सकारात्मक विचार पाइयो । जे होस्, फेसबुकबाट मख्खन झिक्न सक्नुपर्यो । मोही छुट्याउन सक्नुपर्यो ।’

‘न्यानो ओतलाई कदर’मा श्रीमान्को नाउँमा स्थापित पुरस्कार र निर्णायक चयन सम्बन्धमा अनुभूतिहरू व्यक्तिएका छन् भने ‘सोच थरीथरीका’मा आफूमाथि उमेरले डाँडा उक्लेका पुरुषपात्रले देखाएको आसक्तिका कुराहरू छन् । अरु क्षेत्रजस्तै साहित्यक्षेत्र पनि विकृत मुक्त नभएको उनको ठोकुवा छ । भोगाइहरूलाई पर्गेलेर लेखेकी छिन् । कैयन् विषम परिस्थितिसँग मुकाविला गरेकी उनीमाथि सुकिला साहित्यकार भनौदा पुरुषहरूले आँखा गाड्छन् । अनेक बहानामा नजिकिने धृष्टता पाल्छन् । तर उनी अन्देखा बनिदिन्छिन् । पाठक निबन्ध पढ्दा भावविह्रल हुन्छ । पाठकका आँखा डबडबाउँन सक्छ ।

‘एकल पुरुष’ कसैको व्यक्तिवृत्त लाग्छ । एकल पुरुष भएर बाँच्नुका कहरहरू पनि त्यहाँ पोखिएका छन् । एकलका समस्याहरू मिहीन ढंगले खिपिएका छन् । ‘यसले लेखेकी होइन’ बाल्यकालीन यादगर पलहरू सुन्दर आवरणले सज्जिएर कैद भएका छन् । यसमा पहिलोपटक कविता लेखेको, पहिलो कविता प्रकाशन, आफ्नो श्रीमान हेमराजको कृति प्रकाशन लगायतका सन्दर्भहरूको दृष्टान्त रोचक छ । साहित्यिक कार्यक्रममा जाँदा धक लाग्ने गरेको, रचना छापिएपछि पहिलोपटक पारिश्रमिक पाएको लगायतका कुराहरू यसमा परेका छन् ।

सम्झनामा कृष्ण पहारीमार्फत उनी पहारीहरूको वंशावली निकाल्न स्वदेश तथा विदेशका विभिन्न स्थानमा डुलेका कृष्णलाई स्मरण गर्छिन् । ननिभ्ने दियोको रूपमा चित्रण गर्छिन् । यसले मान्छेका सम्बन्धका अनेकानेक आयामहरू हुन्छन्, जुन चाहेर पनि भूल्न सकिन्न भन्ने पुष्टि गरेको देखिन्छ ।

‘अरुको पीर बोकेर’ले सदैव अरुका निम्ति केही गरुँ भन्ने हुटहुटीले रीताको मनमा घर गरिहेको आभास गराउँछ । वि.सं. २०७२ को भुइँचालोमा गरिएका अनुभूतिहरू स्मरण गराउँछ निबन्ध– ‘बोध दिने विनाश’ले । ‘आँशुका चाडबाड’, ‘हुनु र नहुनुका दोसाँधमा’मा उनले आफ्नो जीवनसाथीप्रतिका उद्वेगहरू अभिव्यक्त गरेकी छिन् । जीवनसाथी नहुँदाका पीडाहरू यहाँ पोखिएका छन् । ‘जीवन विविधा’ उनका भोगाइको आलेख लाग्छ । अन्तरमनका आवाजहरू प्रशस्तै पढ्न पाइन्छ – ‘मसिना कुरा ठूला सास्ती’मा । जीवन संघर्ष हो भन्ने उनको दृढमनले बोलेको छ ।

विभिन्न भोगाइका फेहरिस्तहरूलाई विविध प्रसङ्गमार्फत जोडेर व्यक्त गरिएको छ – ‘खर्च र काम नै नभएकी म’। पूर्वका लेखनाथमा स्रष्टाहरूले सम्मान पाउँदाका यादगर पलहरू राखिएको छ । यसमा लेखनाथ घिमिरे दम्पत्तिको रथारोहणको प्रसंग छ । लेखनाथ पौडेल देख्न नपाए पनि उनले पाएको सम्मानलाई सगरमाथाभन्दा अग्लो रूपमा दाँजिएको छ । महिलाले यात्रामा पाउने सास्तीको फेहरिस्त हो ‘महिला र यात्रा’ । ‘कार्लोस’ स्पेनिस पात्र हो । उसको व्यवहार, चरित्र र चाहको वर्णन छ यसमा । ‘सरल मान्छे’ साहित्यिक पत्रकारका शिखर नगेन्द्रराज शर्माप्रतिको रीताको बुझाइ हो ।

‘बेठीका यादहरू’ कोभिड कहरको भोगाइ हो । कोभिडले आक्रान्त दिदी भेट्न आउँदाका भोगाइ र अनुभूतिहरूको बल्ग्रेल्ती खात हो । केही किशोरवयका स्मृतिहरू पनि कोरिएका छन् – ‘खाँडादेवी स्कूल’मा । स्कूलका सरहरूको नाम सम्झेर नोस्टाल्जिक भएकी निबन्धकारले उतिबेलाका थुप्रै कुराहरू स्मरण गरेकी छिन् ।

प्रथमपुरुष शैलीमै प्रायः निबन्ध अटेका छन् । विषयवस्तुको विस्तृतीकरण र प्रस्तुतिमा बडो सचेत हुन खोजिएका छन् । आफ्ना विचार र धारणाहरूलाई मज्जैले राखिएका छन् । उनले विगतका यावत् भोगाइका पलहरूलाई समावेश गरेर लेखेका छन् । उनका संघर्षका क्षणहरूसँग गरिएका मुकाबिला र त्यसले पारेको प्रभाव लगायतका विषयमा आत्मपरक अभिव्यक्ति दिइएको छ । व्यक्तित्वको प्रकाशन निबन्धकारले मज्जैले गरेको पाइन्छ । नेपाली समाजमा अरु एकल महिलाले जस्तै भोगेका वैयक्तिक भोगाइहरू जसमा हाम्रै सामाजिक, साँस्कृतिक पक्षले पारेको प्रभाव राखेकी छिन् । मीठासपूर्ण र सरल भाषाशैली, रुचीकर लेखाइले निबन्धहरूलाई जीवन्त पारेका छन् । कथा पढेजस्तो भान पार्ने स्वच्छन्दताको उडान भरेका निबन्धहरू साँच्चै पठनीय लाग्छन् ।