काठमाडौँ । रमा कृष्ण सृजना प्रतिष्ठानले साहित्य, संगीत र विज्ञान क्षेत्रका प्रतिभाहरूलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।
प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा २०८० र २०८१ सालका लागि ‘कवि भवानी घिमिरे स्मृति रमा कृष्ण साहित्य सम्मान’ प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. अभि सुवेदीलाई प्रदान गरिएको छ ।

सम्मानित प्रा.डा. बन्धुले नेपाली बाल साहित्यमा आफ्नो सक्रियता रहेको उल्लेख गर्दै प्रतिष्ठानको यस पहलको प्रशंसा गर्नुभयो भने प्रा.डा. सुवेदीले प्रतिष्ठानले अग्रजहरूको स्मृतिमा स्थापित गरेका सम्मान तथा पुरस्कारको महत्त्व उजागर गर्नुभयो।

‘वीर झागल गुरुङ स्मृति रमा कृष्ण जनजाति उन्नयन पुरस्कार’ संगीत साधक बुलु मुकारुङ र राजकुमार श्रेष्ठलाई प्रदान गरियो। पुरस्कृत मुकारुङले आफ्नो संगीत यात्राको स्मरण गर्दै पुरस्कारप्रति खुशी व्यक्त गर्नुभयो भने श्रेष्ठले संगीत सम्राट अम्बर गुरुङको प्रेरणाबाट नेपाली अर्केष्ट्रा संगीतमा आफू लागेको बताउनुभयो।

‘डा. हर्क गुरुङ स्मृति रमा कृष्ण विज्ञान प्रविधि पुरस्कार’ वैज्ञानिक तथा अन्वेषक डा. मनीषराज पाण्डे र डा. इन्द्रप्रसाद सुवेदीलाई प्रदान गरिएको थियो । डा. सुवेदीले कमिलाको अनुसन्धान र यसको मानव जीवनमा महत्त्वबारे प्रकाश पार्नुभयो भने डा. पाण्डेले प्रकृति तथा वातावरण संरक्षणमा आफू थप क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा प्रमुख अतिथि डा. त्रिपाठीले प्रतिष्ठानले पन्ध्र वर्षदेखि साहित्य, कला र विज्ञान क्षेत्रका साधकहरूलाई सम्मान गर्दै आएकोमा प्रशंसा गर्नुभयो। उहाँले भवानी घिमिरे, वीर झागल गुरुङ र डा. हर्क गुरुङको योगदानलाई स्मरण गर्नुभयो।

यी सम्मान र पुरस्कारहरूमा क्रमशः पन्ध्र हजार र दश–दश हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । कार्यक्रममा लक्ष्मी उप्रेतीको कवितासङ्ग्रह “तरङ्गित धुन” को अंग्रेजी अनुवाद “Whispering Tunes” को पनि विमोचन गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष इ. महेन्द्रबहादुर गुरुङले अग्रज स्रष्टाहरूका कविता वाचन गर्नुभएको थियो भने महासचिव यादव भट्टराईले प्रतिष्ठानले विशिष्ट साधकहरूलाइ सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। कार्यक्रममा डा. गीता त्रिपाठी, डा. इशान गौतम र डा. अञ्जना सिंहले सम्मानित तथा पुरस्कृत प्रतिभाहरूको परिचय गराउनुभएको थियो भने अन्नपूर्ण च्याम्बर अर्केष्ट्रा समूहले राजकुमार श्रेष्ठको निर्देशनमा वृन्दवादन प्रस्तुत गरेको थियो।