प्रिय झरी,
कहाँ छ तिम्रो गन्तव्य ?
मलाई पनि तिम्रा रंगहीन
थोपाहरूसँग बग्नु छ
जसभित्र मैले
सहजै लुकाउन सकूँ
दर्दका सम्पूर्ण बाछिटा
अनन्त संसार र
धर्तिको अन्तस्करणसम्म
पुग्न सकूँ नदेखिने गरी,
प्रचण्ड गर्मीका बस्तीबाट टाढा
शान्ति पथको यात्रामा
तिम्रा अन्तिम बनावटका
थोपा कति शुद्ध, पवित्र र निराकार
जसलाई कति आनन्दले
सहजीकरण गर्यौ
समयले, वाष्पभित्र लुकाएर
दिएका तीता, धमिला र दुर्गन्धित
सरोबर र नदीनालाबाट बटुलेर
आफ्नो पोल्टामा लुकाई,
पुनः धर्तिमा फर्कायौ
अत्यन्तै ऊर्जामय शुद्धीकरण
गरी धर्ती र प्राणी सिन्चित गर्न
तिमीले अशुद्ध थोपालाई
शुद्ध बनाउन के मात्र गरेनौ,
कहिले चिसो थोपालाई तातो बनायौ
कहिले बादलका गर्जनलाई अपनायौ
कहिले चम्किलो बिजुलीका तरंगमा
समाहित भयौ
कहिले कुहिरोभित्र हरायौ
कहिले ठोस आकृति बनी
धर्तिमा बजारिनुलाई आफ्नो प्रारब्धको
नियति मानी स्वीकार्यौ !
थोपा थोपालाई समेटेर शक्तिशाली भएपछि
नपस्नु गरीवका बस्तीतिर
नबगाउनु यात्रीलाई भेल बनेर
न उजाड्नु निमुखाको चुलो
बाढी बनेर
तर,
बगाउनू
अराजकका रणनीति
निमुखाको पीडा
सामन्तीका घमण्ड
अमानवीय र क्रूर
समय चक्रका डोबहरू
र पनि प्रिय झरी तिमीलाई
आफ्नो जीवन यात्रामा
बतासको झंकारले
यता उता उडाइदिँदा
संवेगलाई कैदमा राखी
आफ्नो प्राणी, बीज र वनस्पतिको रक्षार्थ
पट पट फुटेको धर्तिको छाती
डढेलोले निमिट्यान्न पार्न लागेको जंगल,
तिर्खाएको मरुभूमि,
अमृतजलको पर्खाइमा रहेको
सम्पूर्ण सृष्टिको निमित्त तिमी बर्सिन्छेउ,
र त यो ब्रह्माण्ड जीवित छ,
शितल छ,
सुन्दर छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 









