नेपालजस्तो पवित्र देवभूमिको
मुटु शहर राजधानी
र त्यसैमा कलकल बगेर
जुगौँदेखि रहेकी प्रिय बागमती

युगको अशोभनीय बदलाव वा भनौँ
जुगको नवीनतम विकासको चरम गति
जसमा नचाहेर पनि
आधुनिकताको प्रकोपले पेलिएकी
प्रिय बागमती

यात्रुका भिडबाट नियालिन्छ
एक नजर बागमती नदीतर्फ
देखिन्छिन् उजाड र बेसहरा
जसका हृदयभित्र
मडारिएका र गुम्सिएका अपूर्ण सपनाहरू
जसले आफ्नै हिमवत् क्षेत्रबाट
राजधानी भित्रिएर
आफूलाई बनाउने सपना देख्ने
प्यारा सन्तानहरू दिनदिनै
अस्ताउँदै
उदाउन पुगेका छन् अन्यत्र
वागमती भुलाउने ठूला महासागरका
किनारतिर

केही सपुतले सफाइको अभियान चलाए
धेरै नेतृत्वकर्ताले सुधारका कथा सुनाए
केहीका एजेन्डामा बहाव बढाउने
एवं जलसम्पदा रक्षा गर्ने
हस्ताक्षर संकलन गरिए
तर, कालो रात पछिको बिहानीमा
कहिले आएन वागमतीको
मुहारमा सङ्लो पानीको तरङ्ग
आयो त केवल घरी घरी
दूषित लहर मात्र
जहाँबाट वारपार गर्दा बटुवा
नाक मुख थुन्दछन्
जहाँको दुर्गन्धले मानिस नजिक आएर
पनि निसासिन्छन्

त्यसैले, आजकल वाग्मतीमा पानी बग्दैन
बग्छ त केवल
मानवताहीन केही थान शहरियाका
रवैया
बेरोजगार र संकटले जेलिएका
आँखाबाट बगेका थोपाहरू
गगनचुम्बी महलभित्र गुम्सिएका
कुनै कुनै अदृश्य हिंसाका
रंगहीन क्रन्दनहरू
विवेक नभएका कुनै
प्राणी जमातद्वारा पोखिएका दूषित
पदार्थहरू
महँगीले र अभावले थिचिएका
मानवको चिसो मुटुबाट सुस्काएका
सुसेलीहरू
निरीहलाई र शक्तिशालीबाट
पोखिएका ईर्ष्या, विभेद र
अन्यायका बतासहरू
न्यायालयमा यदाकदा हराउन पुगेका
पीडाका वहावहरू !

त्यसैले,
अब बागमतीको मुहानबाट नै
शुरु गरेर
दूषित शहरका सम्पूर्ण
फोहोरी थोपाका लहरहरू
लुकाउने ढलको निर्माण गरि,
स्वच्छ सुन्दर जलाधारको
बाटो तय गरेर मात्र पुनः हरभरा बनाउनु
सक्नु पर्छ
गरेर मानवताको बिजारोपण
वागमतीका रहेका जीवित
प्राणीलाई
भर्नु पर्छ शान्तिका बहाव
मेट्न सक्नुपर्छ असन्तुष्टि र अभावका तिर्खा,

बनाउनु पर्छ सबै मिली सुन्दर कान्तिपुरी
नगरी र बग्न दिनुपर्छ
कलकल स्वच्छ निर्मल पानी ।