तिमीले उसको ‘जय-जय’ भन्यौ भने
उसको हात तिम्रो शिरमा हुनेछ
तिमीले उसको वास्तविक कुरा खोल्यौ भने
तिम्रो शिर उसको पाउँमा हुनेछ
किनकि ऊ ठूलो कुर्सीमा छ ।

तिमी कर्तव्यनिष्ठ होऊ वा न होऊ
तर जय-जयकार भन्न चाहिँ न छोड
तिम्रो मूल्याङ्कन गर्ने यहाँ एउटै छ
त्यही भएर जय-जयकार निरन्तर जप
किनकि ऊ ठूलो कुर्सीमा छ ।

अरूको जय-जयकार गर्नु पर्दैन तिमीले
अरू त केवल थपना मात्रै हुन्
तिनीहरू पनि साँझ परे पछी
त्यही गएर जय-जयकार भन्ने हुन्
किनकि ऊ ठूलो कुर्सीमा छ ।

उसले जे गरे पनि हुन्छ
उसको आदेश नै नियम बन्छ
कालोलाई सेतो, सेतोलाई कालो भनो भने
अरूले ‘हो हो’ भन्दै ताली बजाउनै पर्छ
किनकि ऊ ठूलो कुर्सीमा छ ।

उसको स्वार्थ पूरा हुन्छ भने
अयोग्यलाई नि योग्य बनाइन्छ
नत्र योग्यलाई नि मूर्खको दर्जा भिराइन्छ
ऊ अहंकारले मस्त हाति बनेको छ
किनकि ऊ ठूलो कुर्सीमा छ ।

इमान्दारी र मिहिनति जति नै भए पनि
उसको जय-जय भन्न न जान्नेलाई
अवसरबाट वंचित गराइन्छ
मनोबल गिराउने, अपमान गर्ने खेल खेलिन्छ
किनकि ऊ ठूलो कुर्सीमा छ ।

तिमी उसलाई रिझाउन तिर लाग
के भन्दा खुशी हुन्छ ऊ त्यही गर
रिसाई हाले ऊ ‘हजूर माफी पाऊँ’ भन
‘मेरा लागी त तपाँई भाग्यविधाता’ भन
किनकि ऊ ठूलो कुर्सीमा छ ।

तिम्रो मनले उल्लाई धिक्कारछ
ऊ अहंकारी हो भन्ने नि थाहा छ
उसको अत्याचार सबैले झेलेको नि थाहा छ
तर तिमी चूप छौ विवशताले व कायरताले
किनकि ऊ ठूलो कुर्सीमा छ ।