बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।
जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।
बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिले विषयवस्तुको उठान गर्नुपर्छ।
बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रो पंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।
बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा  प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।
बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।
बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ?  प्रतीक के हो ?  वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ?  लेखनमा यसको प्रयोग कसरी गर्नसकिन्छ ?  भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई
प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदै आएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको   “बाछिटा प्रकाशनमाला-२२ मा हरिभक्त सिग्देल ‘महेश’, तोयनाथ सुवेदी, रामशरण न्यौपाने, राई सौगात पुन मगर र राई सायुसुमनका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो।

पाँच दर्जन बाछिटा

१.हरिभक्त सिग्देल’महेश’

नेपाल
अस्मिताचुली
हिमाल

मन हो
स्नेह सागर
धन हो

आमाको
ममता छाया
आत्माको

श्रीमती
शीतल स्वर्ग
सम्पत्ति

देशको
इज्जत शोभा
भेषको

पिताको
ममता छाया
माताको

कोदालो
कृषक शक्ति
उज्यालो

सपना
साकार सृष्टि
बिपना

नाटक
नेतृत्व काँडो
घातक

प्रेमिल
भावनासिन्धु
उर्मिल

कालो छ
मनमा स्वार्थ
जालो छ

माताको
ममता ओत
छाताको

~~<>~~

२. तोयनाथ सुवेदी

सर्वाङ्ग
सत्ताको अङ्ग
उदाङ्ग

पञ्चक
रीतिमा क्षति
वञ्चक

प्रचण्ड
सत्यको सूर्य
अखण्ड

पहल
यात्रा उन्मुक्त
टहल

पवन
प्राणरक्षक
पावन

पतेरो
श्रमनाशक
अँधेरो

विलाप
आगोमा आँसु
मिलाप

समास
श्रमको शक्ति
आकाश

बर्कत
चुलीमा टेक्ने
हर्कत

हजार
फूलमा बास्ना
बहार

लोकन्ती
माकुरा जाले
आफन्ती

खुलस्त
प्रेम उज्यालो
समस्त

~~<>~~

३. रामशरण न्यौपाने

अस्मिता
अक्षय शक्ति
वीरता

अस्तित्व
सृष्टिको फूल
नारीत्व

कविता
बाछिटाबिम्ब
वनिता

खोलाको
गति उमेर
चोलाको

पानस
बत्तीको ज्योति
मानस

ऊर्वशी
षोडसी रूप
राजसी

साधना
श्रमको फल
सिर्जना

सृष्टिको
ऊर्जा धरामा
कृष्टिको

छायामा
विश्वासघात
मायामा

वसन्त
पिरती आभा
अनन्त

कृषक
जीवनशक्ति
पोषक

मातृत्व
सृष्टि सौन्दर्य
अस्तित्व

~~<>~~

४. सौगात मगर

रातको
कालो अन्तर
जातको

धर्मको
मोतीमा ज्योति
कर्मको

पिताको
ज्ञान सागर
गीताको

मूलको
शुद्धता उच्च
कुलको

व्यथा छ
भित्र अँध्यारो
कथा छ

संस्कृति
फूलमा काँडा
विकृति

बाछिटा
निर्झर भाव
कविता

झाडीमा
हुर्केको शक्ति
खाडीमा

देशको
सौन्दर्य शान
भेषको

हिमाल
काखको स्वर्ग
नेपाल

रातमा
प्रेयसी जून
साथमा

प्रभात
लालित्य कर्म
सौगात

~~<>~~

५. राई सायुसुमन

पिरती
फुल्ने गृहस्थी
धरती

सम्बन्ध
प्रीत रोपाईँ
प्रबन्ध

मायामा
मेल अनन्त
छायामा

भोगीको
नक्कली रूप
जोगीको

रोजेको
कर्मको मोती
खोजेको

जवानी
फूलको रूप
कहानी

साकेला
किराँती गाथा
उज्याला

हर्कको
जीवन कर्म
खर्कको

खोजीको
संस्कार राम्रो
रोदीको

रीतिको
विबाह सभ्य
मागीको

देउडा
गुरुङ नृत्य
उच्चता

मदानी
घर्षण घिउ
उब्जनी

~~<>~~