
फेसबुकमा जताततै बधाई देख्छु
अबिर सिन्दुरको गाईजात्रा देख्छु
गाली प्रत्यारोपको ओइरो देख्छु
आफैँले गरेको मात्र ठीक भन्ने रोइलो देख्छु ।
बधाई दिनेको कमी छैन यहाँ
बधाई लिनेको नि कमी छैन यहाँ
कित्ताकाटमा उभिनेको कमी छैन यहाँ
आफ्नै दुनो सोझ्याउनेको कमी छैन यहाँ ।
तर म बधाई केका लागि दिऊँ ?
जनतालाई अमनचयनमा राखेकोमा दिऊँ ?
देशलाई समृद्ध बनाएकोमा दिऊँ ?
गरिबी न्यूनीकरण गरेकोमा दिऊँ ?
आर्थिक विकासको मूल फुटाएकोमा दिऊँ ?
देशमा स्थायित्व ल्याएकोमा दिऊँ ?

मोहन सिंह साउद
शैक्षिक चमत्कार गरेकोमा दिऊँ ?
सबैमा मेलमिलापको भावना ल्याएकोमा दिऊँ?
देशलाई विदेशी गुलामबाट मुक्त गराएकोमा दिऊँ ?
जातीय, धार्मिक र लैङ्गिक विभेद अन्त्य गरेकोमा दिऊँ ?
रोजगारीका अवसर जुटाएकोमा दिऊँ ?
बन्द कलकारखाना सञ्चालनमा ल्याएकोमा दिऊँ ?
युवालाई खाडीमा जान नपर्ने बनाएकोमा दिऊँ ?
सर्वहाराको नारा लगाएर अर्बहारा बनेकोमा दिऊँ ?
अहँ, मलाई बधाई शब्द त्यति सस्तो लागेन
जुन, देशलाई कित्ताकाट गरेकाहरूलाई दिऊँ
अस्थिरता सृजना गर्नेहरूलाई दिऊँ
जनताको अभिमतलाई कुल्चिनेहरूलाई दिऊँ
स्वार्थमा पार्टी नै फोड्नेहरूलाई दिऊँ
एकले अर्काको खुट्टा तान्नेहरूलाई दिऊँ
पद, पैसा र पावरका लागि लड्नेहरूलाई दिऊँ
बहुमत हुँदा पनि मध्यावधि गराउनेहरूलाई दिऊँ
भ्रष्टाचार संस्थागत गर्नेहरूलाई दिऊँ
विदेशीको गुलामी गर्नेहरूलाई दिऊँ
देशलाई आर्थिक कङ्गाल बनाउनेहरूलाई दिऊँ
कलकारखाना बेच्नेहरूलाई दिऊँ
देश लुटेर विदेशका धन थुपार्नेहरूलाई दिऊँ
शैक्षिक-आर्थिक क्षेत्र डामाडोल बनाउनेहरूलाई दिऊँ
गरिब सोझा जनतालाई चुस्नेहरूलाई दिऊँ ।
मैले त बधाई दिन लायक पात्र नै पाएको छैन
जसले राजनीतिलाई सेवा ठानेको होस्
देश र जनताको हितलाई शिरोधार्य गरेको होस्
देशमा स्थिरता ल्याउन निहित स्वार्थ त्यागेको होस्
देशको सर्वोपरी विकासमा कम्मर कसेको होस्
विदेशीको गुलाम नगरेको होस्
भ्रष्टाचार, कमिसन, सेटिङ तस्करमा नबिकेको होस्
गरिब जनताको आँसु पुछेको होस्
देश लुटेर आलिसान जीवन नबिताएको होस्
राजनीतिलाई कमाउने थलो नठानेको होस्
आफू हारेर देशलाई जिताएको होस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 









