![]()
बाइसाैँ चरणकाे मुक्तक प्रतियोगिताका लागि साहित्यपोस्टले पुनः मुक्तक आव्हान गरेकाे छ । मुक्तक प्रतियोगिताकाे बाइसाैँ संस्करणलाई प्रेम दिवस विशेष घाेषणा गर्दै प्रेम, विवाह र सम्बन्ध गरी तीन विषय दिएर मुक्तक आव्हान गरिएकाे थियो ।
गत माघ २८ गते नै बाइसाैँ चरणका लागि मुक्तक आव्हान गरिएकाेमा साइटलाई एक डाेमेनबाट अर्काे डाेमेनमा स्थानान्तर गर्दा प्राविधिक समस्याका कारण प्राप्त मुक्तकहरू सुरक्षित नरहेकाले क्षमायचनासहित पुरानै व्यहाेरानुसार पुनः मुक्तक आव्हान गरिएकाे प्रधानसम्पादक अश्विनी काेइरालाले जनाएका छन् । काेइरालाले अघिल्लाे साता प्रतियोगिताका लागि पाेस्ट गरिएका मुक्तक पुनः यसै पेजकाे तलपट्टि पाेस्ट गरिदिनसमेत अनुराेध गरेका छन् ।
यसअघि यसका २१ चरण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
साहित्यपोस्टका अनुसार प्राप्त मुक्तकहरूलाई विज्ञ समालोचक एवं मुक्तक विधामा नाम चलेका व्यक्तिहरूको रहोबरमा छानिने छ । यसरी छानिएका तीन मुक्तककारका तीन–तीन मुक्तकहरूलाई वर्षको अन्त्यमा उत्कृष्ट मुक्तकहरूको संगालो प्रकाशन गरिने छ ।
त्यसैगरी पुस्तकको डिजिटल कपी साहित्यपोस्टमा पढ्न र सुन्नसमेत पाइने छ । साथै, उत्कृष्ट मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरूलाई सार्वजनिक अभिनन्दनसहित आकर्षक नगद पुरस्कार पनि प्रदान गरिने छ ।
मुक्तकका निर्णायकहरूमा चर्चित समालोचक, साहित्य अन्वेषक प्राध्यापक डाक्टर लक्ष्मणप्रसाद गौतम रहेका छन् । त्रिभुवन विश्वविद्यालयमा दुई दशकदेखि अध्यापनरत गौतमका दर्जन बढी अनुसन्धानात्मक–समालोचनात्मक कृति प्रकाशित छन् । गौतमले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गरेका छन् । नेपाली साहित्यमा मुक्तकको पहिलोपटक सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने व्यक्ति पनि गौतम नै हुन् ।
अर्का निर्णायकमा ज्ञानु अधिकारी रहेकी छन् । समालोचनामा विशेष रुचि राख्ने ज्ञानुका १५ कृति प्रकाशित छन् भने ६ वटा फरक विषयमा अनुसन्धान गरेकी छन् । पद्मकन्या क्याम्पसमा अध्यापनरत ज्ञानु नेपाली साहित्यकी चर्चित समालोचकमध्येकी एक हुन् ।
अन्य दुई निर्णायकहरूमा साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी र प्रधानसम्पादक अश्विनी कोइराला रहेका छन् ।
पहिलो मुक्तकको विषय
‘प्रेम’ (यसलाई छुने जुनसुकै विषय वा घटना)
दोस्रो मुक्तकको विषय
‘विवाह’ (यसलाई छुने जुनसुकै विषय वा घटना)
तेस्रो मुक्तकको विषय
‘सम्बन्ध’ (यसलाई छुने जुनसुकै विषय वा घटना)
नियम यसप्रकारका छन्ः
— सहभागीहरूले प्रत्येक विषयमा एक–एकवटा गरी तीनवटा मुक्तक तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ ।
— मुक्तक चतुष्पदीय हुनुपर्नेछ । यसका प्रथम, दोस्रो र अन्तिम हरफको अनुप्रास मिलेको र तेस्रो हरफ स्वतन्त्र हुनुपर्नेछ ।
— प्रत्येक मुक्तकको पूर्णाङ्क पाँच रहेको छ । प्रत्येक मुक्तकले संरचना, भाव, सटिकता, मौलिकता र नवीन कथ्यका आधारमा एक-एक नम्बर प्राप्त गर्नेछन् ।
— पूर्ण वा आंशिक नक्कल गरिएका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन ।
– एकपटक पुरस्कृत भइसकेका मुक्तककारलाई प्रतियोगितामा समावेश गरिने छैन ।
— यसअघि अनलाइन, छापा वा स्मारिकाहरूमा प्रकाशन भइसकेका मुक्तकलाई प्रतियोगितामा सामेल गरिने छैन तर आफ्नो फेसबुक वालमा राखिएका मुक्तकहरू भने स्वीकार गरिने छन् ।
मुक्तक प्रतियोगिताकाे याे चरण गत साताकै संस्करणकाे निरन्तरता हाे । यो प्रतियोगिता अहिल्यैबाट सुरु भई अर्को साताको बिहीबार (फाल्गुन १३ गते) रातको ११ बजेर ५९ मिनेटसम्म रहनेछ ।
पुनः स्मरणका लागि यो साताको विषय यस प्रकार रहेका छन्;
पहिलो मुक्तकको विषय
‘प्रेम’ (यसलाई छुने जुनसुकै विषय वा घटना)
दोस्रो मुक्तकको विषय
‘विवाह’ (यसलाई छुने जुनसुकै विषय वा घटना)
तेस्रो मुक्तकको विषय
‘सम्बन्ध’ (यसलाई छुने जुनसुकै विषय वा घटना)
यो खुला प्रतियोगिता हो । यसका लागि यही पेजको तल कमेन्ट बक्समा आफ्ना तीनवटा रचना पोस्ट गर्नुपर्नेछ । प्रत्येक विषयमा एउटा मात्र मुक्तक स्वीकार गरिनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 






