कविता मानिसमा अन्तर्निहित अलौकिक गुणको प्रकटीकरण हो । मानिसभित्रै दैवी गुण र दानवीय गुण सँगसँगै रहेका हुन्छन् र जब दैवी गुण प्रखर रूपमा प्रकट हुन्छ, अनि मानिस कवि हुन्छ । हुन त लौकिकतामाथि मात्र विश्वास गर्नेले यसै बातलाई फरक तरिकाले बुझ्ने र अभिव्यक्त गर्ने पनि हुनसक्छ । यसलाई कसरी बुझ्ने भन्ने कुरा व्यक्तिको आफ्नै बोध क्षमतालाई छामछुम गरेर पहिल्याउने प्रयास हो । कविताका अनेक आयाम छन् । अनेक स्वरूप छन् । अनेक बनोट र बुनोट छन् । अनेक विषयवस्तु छन् । अनेक प्रकारका बिम्ब र प्रतीक प्रयोग भएका छन् । अनेक शैली छन् । र कवितालाई हेर्ने, पर्गेल्ने तथा पहिल्याउने पनि अनेक दृष्टिकोण छन् । त्यसैले यही नै कविताको रूप,रङ, आकार, स्वरूप, विषय, प्रस्तुति हो र अर्को हैन भन्ने कुनै सीमा छैन । यसको अर्ध हो, कविता असीम छ । किनभने मानवीय अनुभूति असीम छ र त्यसको निकासीको बेहोरा पनि विविध छ ।
कवितामा अनेक भाव, रूप, रङ र प्रकार भए पनि कविता संसारकै सबै मानिसको सर्वप्रिय विधा हो । मानिसलाई कविताले नदेखिने, नजानिने र नसोचिने किसिमले तानिरहेको हुन्छ । कविताप्रति आफूलाई निरपेक्ष देखाउने वा प्रतिकित्तामै छु भनेर दाबी गर्ने व्यक्ति पनि आफ्नो बोलीमा, भावमा, देह भाषामा, कतै न कतैबाट काव्य अभिव्यक्तिको अनुराग प्रदर्शित गरिरहेकै हुन्छ । यानि कुनै पनि व्यक्ति निरपेक्ष रूपमा काव्यको प्रतिकित्तामा बसिरहन सक्दैन । यही जादु नै कविताको सामर्थ्य हो । त्यसैमा मानिस प्राचीन कालदेखि नै कविताप्रति अनुरक्त भई आएको छ । विद्युत् गतिमा लहराउँदै धर्तीको कोख चुम्न आउने घामका चञ्चल किरणमा, सरस सरिताको नागबेली चालमा, पहाडबाट हुत्तिँदै हाम फाल्ने पानीको आलोकमा, समीरणको सुगन्धमय चञ्चलतामा, चर्को घामका बीचमा हरिया पातको सरसराहटमा, गाजलजस्ता बादलका गडगडाउँदा थुप्रामा, मानिसले कहाँ देखेन कविता ? यति कुरा सही हो कि मानिसले कविता अनुभूति गरेको लामो समयपछि कविता लेख्यो । कविताको कुरा गर्यो । कविताको बारेमा छलफल गर्यो । कविताका साँध सीमाना छुट्याई पर्खाल खडा गर्यो र कवितालाई पिँजडाको सुगा बनायो ।अहिले हामी त्यही पिँजडाको सुगाजस्तो कविताका बारेमा चर्चा, परिचर्चा, छलफल, समीक्षा आदि गरी आत्मरतिमा अलमलिएका छौँ ।
पोखरा निवासी कोकिलकण्ठी लोक गायिका हरिदेवी कोइराला वास्तवमा बढी गायिका हुन् कि कवि ? यो प्रश्न आफ्नो ठाउँमा छँदैछ । तर लोक गायिकाका रूपमा उनले पाएको ख्याति लोभलाग्दो छ । तर उनको काव्य साधना पनि उत्तिकै जोडदार छ । उनका सयौं गीत रेकर्ड भई बजारमा आएका छन् भने ‘मायाको भूगोल’ तेह्रौँ काव्यकृति हो । यसको मतलब उनको साधना गीत र कवितामा तुल्य तुल्य छ । तैपनि उनलाई बढी प्रसिद्धि गीतले नै दिएको छ । विश्वभरका नेपाली भाषीहरूले लोक गायिकाकै रूपमा चिन्छन् । यसले उनको साहित्यिक पाटोलाई छायामा पारेको हो कि झैँ लाग्नु स्वाभाविकै हो । गीत श्रव्य विधा भएकोले सबैले सहजै ग्रहण गर्न सक्छन् । त्यसमा पनि लोकगीत जनजीविकाको अभिन्न अङ्ग हुनाका साथै जन जनका श्वासप्रश्वास र रक्त नलीमा प्रवाहित भइरहेका हुनाले सहजै सम्प्रेषणीय हुन्छ । ‘पाइन खबर’जस्तो कालजयी गीत गाइसकेपछि एउटा व्यक्तिको एक जीवनका लागि पुग्ने सिर्जना भइदिन्छ । त्यसमा पनि ‘चरैवेति चरैवेति’ भन्ने स्वभाव भएकी अथक हरिदेवीले सुस्ताउने वा थकाई मार्ने भन्ने सवालै रहँदैन ।
हरिदेवी कोइराला समाजप्रति जिम्मेवार दृष्टिकोण भएकी कवि भएकोले उनका कवितामा जीवन र जगतको गहिरो बुझाई, अनुभव, सचेत अनुभूति, संवेदना र आदर्शवादी दृष्टिकोणले खारिएको सुगन्ध पाइन्छ । उनका कवितामा भाव, विचार, कला र मूल कथ्यको लय मुखरित भएर आएको पाइन्छ ।कविताको शक्ति, सौन्दर्य र सीमान्त आवाजले कवितालाई कालजयी बनाउँछ । हरिदेवीका कवितामा ती गुण पाइन्छन् । उनका कविता सरल र सहज हुनाले वोधगम्य पनि छन् । उनले आफू र आफ्नो वरिपरिको वातावरणलाई अमूर्तभन्दा मूर्त भावले हेर्न रुचाउँछिन् ।
संसारका सारा सुख,यश आराम चाहिएन भो
गुनियो छ घरबुनाको तास, कुचिन लाइएन भो
कहाँ मिल्छ यो सौन्दर्य सुगन्ध यो वन फूलको
यहीँ छ मेरो अग्लो चुली पहिल्यै पर्छ घामको झुल्को
हामी कविताको माथिल्लो पत्र हेरेर त्यसले दिने अर्थलाई अन्तिम अर्थ हो भन्ने भ्रममा पर्दछौँ । तर कविताका भित्री तहमा पत्र पत्र लुकेका हुन्छन् । जति भित्री तहमा पुग्न सक्यो, त्यति नै अर्थ घना, गहकिलो र अमूर्त बन्दै जान्छ । एउटै वस्तुलाई फरक फरक नजरले हेर्दा फरक फरक रूप, आकार र अवस्थाको देख्न सक्छ । यो कुरा मानिसको अन्तर्मनको चेतनाले देखेको कुरा अथवा चेतनाले देख्न चाहेको कुरा मात्र चर्मचक्षुले देखाई दिन्छ । त्यसै कारणले एउटालाई उचित लागेको कुरा अर्कोलाई अनुचित लाग्छ । एउटालाई सुन्दर लागेको कुरा अर्कोलाई असुन्दर लाग्छ । जति आँखा, उति नजर !
हरिदेवी समाजको पिँधमा रहेका, अधिकारबाट वञ्चित, अवसरबाट वञ्चित, किनाराकृत र मानवीय मानकबाट अवमूल्यन गरिएका मानिसप्रति गहिरो समवेदना राख्ने कवि हुन् । यसलाई दार्शनिक भेदका नजरले हेर्ने हो भनेँ उनी प्रगतिशील चेत भएकी कवि हुन्, अझै विभेदको आँखीझ्यालबाट हेर्ने हो भनेँ प्रगतिवादी कवि हुन् । हुन त अधिकांश कविमा प्रगतिशील चेत हुने कुराको दाबी गरिन्छ । दाबी गर्नु र हुनु फरक कुरा हुन् । लेखाई र भनाई जस्तै जीवन बाँच्न सक्नु नै यथार्थमा प्रगतिशील हुनु हो । यो अप्ठ्यारो कुरा होला । तर प्रयोग सिद्ध कुरा पनि हो ।
कैले फेर्छौ धुरी खाँबो कैले फेर्छौ पाली
बाँझो धर्ती जोतिरहन्छौ आशा दियो बाली
वर्षैपिच्छे साँवा व्याज नून तेल दुख्छ
झोलुङ्गामा लालावाला दूधे ओठ सुक्छ ।
चिन्तनको अतल गहिराई हो कि अनुभूतिको अनन्त बगाई हो कविता ! कविताबाट चिन्तनको चौतारी भत्काइ दियो भनेँ के होला ? कविताबाट अनुभूतिको नदी सुकाई दियो भनेँ के होला ? जे त होला, तर कविता अवश्य बन्ने छैन । किनभने कविता चिन्तनको अतल गहिराइमा बग्ने अनुभूतिको अजस्र सरिता हो । हरिदेवीका कवितामा त्यही चिन्तन र अनुभूतिको सुन्दर सम्मिश्रण भेटिन्छ ।
देश भन्नु प्राण भन्नु दुवै यौटै माया रै’छ
देहसँग नछुट्टिने दुवै यौटै छाया रै’छ
आकाश झैँ फैलिएर हेरि दिनु पर्ने रै’छ
मक्किएका भावनालाई फेरि दिनु पर्ने रै’छ ।
हरिदेवी भित्र देश प्रेम छ । माटोको सुवासप्रति अनुराग छ । आफ्नो संस्कृतिप्रति मोह छ । भाषाप्रति लगाव छ । प्रकृतिप्रति अभिन्न नाताको अनुभूति छ । त्यसैले उनी प्रकृतिवादी रोमान्टिक कविलाई पच्छ्याउँछिन् । ‘सौन्दर्य सत्य हो र सत्य नै सौन्दर्य हो’ भन्ने कवि जोन किट्स झैँ प्रकृति, सौन्दर्य, कल्पना, भावना र मानवीय अनुभूतिलाई कलात्मक ढङ्गले खिप्न गर्न खप्पिस छिन् ।
प्रकृतिको बीज म त प्रकृतिको रङ्ग
इन्द्रेणीकै गीत गाउँछु प्रकृतिकै सङ्ग ।
हुन त हरिदेवीका कवितामा रोमान्टिज्म मात्र हैन, सन्तान बिदेसिएपछि उजाड बन्दै गइरहेका गाउँ, शून्य चौतारी, छानो खसेको घर, सुनसान बाटो सबै सबै दुःखेका छन् । गोल्डस्मिथको उपन्यास ‘द डेजर्टेड भिलेज’ले औद्योगिक क्रान्तिपछिका बेलायती गाउँले भोगेको दुर्दशा जस्तै दुर्दशा सायद नेपालका गाउँले पनि भोगिरहेका छन् । गाउँबाट शहर र शहरबाट विदेश पलायन वैश्विक नियति हो । सङ्ग्रहमा समेटिएका कवितामा करुण रस मात्रै बगेका छैनन् । वीर रसका जोसिला कविता पनि छन् ।
सँधियारा हेपाहालाई
साँध मिच्ने मिचाहालाई
सहन्न म ठेगान लगाउँछु
स्वाभिमानको शान जोगाउँछु ।
हरिदेवीका कवितामा वीरताको शौर्य छ भनेँ व्यङ्ग्य चेतका मारक क्षमता पनि छ । विद्रोहको राँको पनि छ भनेँ आदर्शको शान्त सरोवर पनि छ । प्रेम र समर्पणको अमरदीप पनि उनको मनमा जाज्वल्यमान भइरहन्छ ।
यो धर्तीमा कसको होला हाम्रोजस्तो माया
कतै एक्लै हिँड्दा पनि सँगसँगै छाया ।
व्यक्ति, स्थान, समय र घटनालाई टपक्कै टिपेर काव्यमालामा खिप्ने आशु कवित्व हरिदेवीमा छ । आफूले भ्रमण गरेका स्थान विशेषका कविता पनि सङ्ग्रहमा सङ्ग्रहित छन् । योगमाया, पारिजात, भानु, राष्ट्रकवि, सत्यमोहन, चेतन कार्की, जनकवि केशरी, भेडीखर्के साइला, अम्बर गुरुङ, बुद्धि परियार, झलकमान, अली मिया, जनकवि गोकुल, डाँफे मामा, विनोद गौचन, सरोज गोपाल, प्रकट पगेनी, हरिहर सबित, चूडामणि रेग्मी, रविलाल अधिकारी, मिथिला शर्मा, मुकुन्दशरण उपाध्याय, जर्ज जोन, तीर्थराज अधिकारी, सदानन्द र उषा शेरचनका नाममा सिर्जित कविता समेटिएका छन् ।
हरिदेवी मूल रूपमा लोकलय र लोक छन्दकी काव्य साधिका हुन् । अत्यन्त सरल भाषामा गेयात्मकता भएका छोटा कविता लेखनमा सिद्धहस्त र गायनमा निपुण छन् । त्यसैले कार्यक्रममा दर्शक/श्रोताले उनीबाट गायनकै अपेक्षा गरिरहेका हुन्छन् । यस सङ्ग्रहमा केही स्वच्छन्द शैली यानि गद्यात्मक शैलीका कविता पनि समावेश भएका छन् । ती कविता सापेक्षमा अझै बलशाली भएको अनुभूत हुन्छ । तिनमा प्रस्तुत भएका विषय, प्रस्तुति , बिम्ब र प्रतीकले कवितालाई अर्थगत रूपमा चमत्कारिक, लोचपूर्ण र भावगत गहिराइको अनुभूति गराउँछन् ।
ज्योतिर्मय जीवन कलाको चुलीमै टेकौँ
आऊ प्रिय
एउटा युग बिउँझाउन
आजै थालौँ त्यो दूरगामी शुभयात्रा
आजै बालौँ त्यो अखण्ड दीपशिखा ।
समग्रमा हरिदेवीका कविता ओज एवं कोमलताको मखमली रङले बनाइएका सुन्दर रङ्गोली हुन् जसलाई आफ्नो संस्कृतिप्रति अगाध आस्था भएकी लौकिक देवीले आफ्नो सुकोमल हातले बढो तन्मयताका साथ रङ भरिरहेकी छन् । अथवा रङ्गीचङ्गी पुष्प दल सम्हालेर एक एक रङ्गिन दलद्वारा हल्कासँग बढो प्रेमले रङ भरिरहेकी छन् । मानौँ त्यो रङ्गोली भर्खरै जुरुक्कै उठेर उसको अगाडि स्नेहपूर्वक हेरेर मन्द मन्द मुस्कान छरिरहने छ । संसारमा भाव छ र भावक पनि छन् । त्यसैले त कविता लेखिन्छ, पढिन्छ र काव्य संस्कृतिलाई अगाडि बढाइन्छ । तन्मयताका साथ काव्य संस्कृतिलाई अगाडि बढाउने कवि हरिदेवी कोइराला र हरिदेवी कोइरालाहरूलाई प्रत्येक काव्यप्रेमी भावकले आह्लादित मनले अनुग्रहण प्रक्षेपित गरिरहेका हुन्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










