यो संसारमा कहिल्यै बिर्सन नसकिने आमा मात्र रहिछन् । जीवनको उत्तरार्धमा आइपुग्दा पनि आमाकै सम्झना आइरहन्छ मलाई । कस्तो अनौठो ! ७५ वर्षसम्ममा मैले जीवनमा कति उकाली ओराली गरेँ होला ! कति दुःख गरेँ होला ! कति संघर्ष गरेँ होला ! यी त भए जीवनका अँध्यारा पाटाहरू । यस्तैगरी मेरो जीवनका उज्याला पाटाहरू पनि निश्चय नै थिए । बाल्यकालमा कसैले एउटा सानो चकलेट दिँदा अथवा दुई चार पैसा हातमा राखिदिँदा पनि मन कति  प्रफुल्ल हुन्थ्यो । कसैले बाबु मात्र भनेर वा कान्छा भनेर बोलाउँदा पनि मन त्यसै त्यसै खुशी हुन्थ्यो । पछि एसएलसी उत्तीर्ण हुँदा झनै खुशी भएको थिएँ । पढाई सकेपछि जागिरे हुँदा जीवनले अर्कै बाटो लिँदो रहेछ । भित्रैदेखि मन खुशी हुनु स्वाभाविकै थियो । यसरी जीवनमा कहिले खुशी कहिले दुःखी हुनु सामान्य नै हुँदा रहेछन् ।

समयको अन्तराल पछि त्यसरी मन छोइरहने घटनाहरू पनि क्रमशः मानसपटलबाट हराउँदै जाँदा रहेछन् । अहिले मेरो मानसपटलबाट धेरै पुराना घटनाहरू हराइसकेका छन् । धमिलो सम्झना भएका घटनाहरू भए पनि तिनीहरूले मेरो जीवनमा खासै अर्थ राखेका छैनन् । तर, आमासँग सम्बन्धित घटना भने अझै जीवन्त छन् । आमा सँगसँगै हिँडेका पल अझै पनि ताजै छन् । ती यादहरूले मलाई सताइरहेका हुन्छन् । आमासँग बिताएको त्यो बाल्यकाल अहिले फर्केर आए हुन्थ्यो जस्तो लाग्दछ ! तर यो मेरो कल्पना मात्र हो । किनभने मेरी आमा बितेको पनि पाँच वर्ष भइसक्यो । बितिसकेकी मेरी आमा कसरी फर्केर आउनुहुन्थ्यो र !

मैले मेरा बालाई देख्न पाइनँ किनभने म जन्मनुभन्दा छ महिना अघि नै उहाँको मृत्यु भएको रहेछ । आफूले नदेखेको वस्तुप्रति जसरी कुनै तृष्णा हुँदैन मेरो लागि बा पनि त्यस्तै भए । तर, एउटा कुराले भने मलाई सधैं सताइरहन्थ्यो । मेरा बा कस्ता थिए होलान् ? कहिले नदेखेको बाको अनुहार कस्तो थियो होला ? मैले कसरी अनुमान लगाउन सक्थेँ र, अहँ कहिल्यै सकिनँ ।

कसैले प्रसङ्गबश भन्दछन्– तिम्रा बा त तिम्रो दिदी जस्तै सानो कठको, कसिलो र छरितो हुनुहुन्थ्यो । त्यो भनिरहँदा दिदीको अनुहार हेरेर बाको आकृति मनभित्र बनाउँथेँ । बाको अनुहारको झल्को दिने ती एउटी दिदी थिइन् । तिनी पनि यो धर्तीबाट बिदा भइन् । अब त बाको आकृति मनमा सजाउने कुनै वस्तु पनि मसँग छैन । बा बसेको घर छैन । बा सुतेको खाट छैन । बाले भात खाने थाल छैन । बाले प्रयोग गर्ने कुनै पनि र केही पनि मसँग छैनन् । एउटी दिदी थिइन्, उनले पनि बाको अनुहार आफैँसँग लिएर गइन् । अब त बाको झल्को मेटाउने सबै कुरा हराए ।

लाग्छ, जीवनको उत्तरार्धमा आइपुग्दा आफ्नो सबै कुरा गुुम्दा रहेछन् । गुमेका चिजहरू फिर्ता ल्याउन सकिँदो रहेनछ । न सम्झना नै जीवन्त बनाउन सकिँदो रहेछ । शायद यसैलाई भनिँदो हो जीवनको नियति ।

हो, बाको विषयमा मलाई थाहै भएन किनभने आमाले मलाई कहिल्यै तेरा बा यस्तो हुनुहुन्थ्यो भनेर बताउनुभएन । कलिलो बच्चालाई भनिदिँदा नराम्रो असर पर्छ भनेर पनि हुन सक्छ । मेरो कौतुहलता कहिल्यै पूरा हुन सकेन ।

बाको माया पाउन नसके पनि आमाको माया भने मैले राम्रोसँग पाएँ । साथीहरूसँग कति खेलेँ होला । कति झगडा गरेँ होला । कति रमाइलो गरेँ होला । ती क्षणहरू अहिले म पटक्कै सम्झिन सक्दिनँ । तर आमासँग टुकु टुकु पछि लागेर हिँडेको भने अझै सम्झना छ । खेतबारीको डिलडिल हिँडेको । घाँस काटेको । आमाले सकी नसकी भारी बोकेको सम्झना झलझली आइरहन्छ । इष्टमित्रकहाँ जाँदा आमाले सँगसँगै लगेको सम्झना ताजै छ अहिले पनि । बाटोमा हिँड्दा कहिले अघि र कहिले पछि लागेको पनि दिमागमा रहेकै छ । 

आमाले बेलाबेलामा, “पढ्नुपर्छ है कान्छा” भनेको अहिले पनि कानमा गुञ्जिरहन्छन् । कतै जाँदा कुनै किताब फेला पार्नुभयो भने कान्छाले पढ्छ भनेर ल्याइदिनुहुन्थ्यो, तर त्यस्ता किताब मैले कसरी पढ्न सक्थेँ र ! शायद त्यसबेला मैले कखरा मात्र चिनेको थिएँ ।

म जहिले पनि आमाको छाया जस्तो थिएँ । आमालाई छोड्दै नछोड्ने । अर्को कुरा, म आमासँग मात्र जिद्दी गर्न सक्थेँ, अरुसँग सक्दिनथेँ । अरुसँग बोल्न त के अघि पर्न पनि सक्दिनथेँ । बच्चादेखि नै अन्तर्मुखी स्वभावको त्यो बानी अहिले पनि हटाउन सकेको छैन । अरुले जे भने पनि, जे गरे पनि सहन सक्ने र प्रतिवाद गर्न नसक्ने बानीले अहिले पनि मलाई दुःख दिइरहेको छ । बाल्यकालमा त कसैले केही भने आमाले प्रतिवाद गरिदिनुहुन्थ्यो । अहिले त मेरो लागि प्रतिवाद गरिदिने कोही पनि छैनन् । बरु सकेसम्म र पाएसम्म दु:ख दिने मात्र छन् ।

सन्तानका लागि आमा जस्तो ठूलो कोही हुँदो रहेनछ । मानिसका लागि मात्र नभई अन्य प्राणीका लागि पनि आमा जस्तो कोही पनि हुँदा रहेनछन् । बाटोमा हिँडिरहँदा गाइका पछाडि बाच्छाबाच्छी र भैँसीको पछाडि पाडापाडी हिँडेको दृश्यले मन चसक्क दुख्छ । कुनै बेला म पनि आमाको पछिपछि यसरी नै हिँडेको थिएँ । यसैगरी कुकुरनीले आफ्ना छाउरा छाउरीलाई सँगै लिएर हिँडेको देख्दा आमाको सम्झना आउँछ । यस्ता दृश्यहरूले धमिलिँदै गएका याद पनि जीवन्त बनाउँदा रहेछन् ।

प्रत्येक मानिसको पाइताला पाइतालामा आमा देखिएकी हुन्छिन् । आमा नभएको कुनै ठाउँ नै हुँदो रहेनछ । कुनै वृद्ध आमालाई देख्दा आफ्नै आमा जस्तो लाग्दछ । कुनै चराले ठुँडमा कुनै वस्तु लिएर हिँडेको देख्दा पनि आफ्नै आमाको याद आउँछ । बिराल्नीले छाउरा बोकेर हिँडेको देख्दा पनि आमाकै झल्कै आउँछ । यसरी आमा नदेखिने कुनै ठाउँ नै हुँदो रहेनछ । जहाँ पनि आमै आमा ।

आमासँग सम्बन्धित यहाँ म एउटा घटना सम्झन्छु । म धेरैजसो घरको पूर्वतिरको बरण्डामा टोलाएर हेरिरहेको हुन्छु । मेरो घरको ठीक अगाडि एउटा रुख छ । त्यो रुखमा कौवाको गुँड पनि रहेछ । एकदिन आमा कौवाले चुच्चोमा मासु झुन्ड्याउँदै ल्याएको दृश्य मैले देखेँ । जब बच्चाले आमालाई देखेपछि, कराउँदै माथिमाथि मुख आँ गर्थ्यो । अनि कौवाले बच्चाको मुखमा मासु राखिदिन्थी । मलाई लाग्यो, एउटा कौवाले पनि आफ्नो बच्चालाई कति धेरै माया गररे हुर्काएकी रहिछे । अनि मनमनै सम्झिएँ धन्य आमाको माया !

यो घटना देखेपछि मेरो मनमा पनि आँधीबेरी नै आयो । मेरी आमाले पनि मलाई यसैगरी हुर्काउनुभएको थियो । किनभने आमा कतै बाहिर जाँदा केही पाउनुभयो भने आउँदाआउँदै मलाई दिनुहुन्थ्यो । कौवाको बच्चाले सानो मासुको टुक्रा पाउँदा जसरी खुशी भएको थियो त्यसरी नै म खुशी हुन्थेँ । यस्ता साना कुराहरूले म धेरै पटक खुशी भएको छु । आमाले मलाई केही कुरा दिँदा म जसरी खुशी हुन्थेँ, यसरी नै अरुले दिँदा पनि खुशी भएको थिएँ होला । अहिले त्यस्ता घटना म कत्ति पनि सम्झिन सक्दिनँ । तर, आमाले दिएको खुशी भने सम्झिरहेको छु अहिले पनि ।

लाग्छ– जीवनभर सम्झिरहने भनेकी नै आमा रहिछिन् । अरु अस्थायी, आमा भने स्थायी । आमाको सम्झना र माया कहिले पनि घट्दो रहेनछ । जति सम्झियो उति बढ्ने । बच्चाको लागि आमा जति नजिक हुन्छिन् अरु कोही हुँदा रहेनछन् । एकैछिन दूध खुवाउन ढिलो भयो भने बच्चालाई के कसो भयो होला भन्दै हस्याङ फस्याङ गरेकी हुन्छिन् आमा । एउटी आमाले मात्र आफ्नो सन्तानप्रति माया गरेकी हुन्नन् । यो ब्रह्माण्डका हरेक आमामा यो संवेदनशीलता हुँदो रहेछ । मानिस त यसै विवेकशील प्राणी हो, उसमा नहुने त कुरै भएन ।

मेरी आमाले छोडेर जानुभएको धेरै नभए पनि न्यास्रो लागेर आउँछ । आमा हिँडेको बाटो, उकाली ओराली गरेको गोरेटो, खेतबारीमा हिँडेको डील, बोकेको भारी, थाप्लोमा नाम्लो सधैँ देखिरहेको हुन्छु । त्यसैले लाग्छ, मेरी आमा मसँगै हुनुहुन्छ । 

आमा जस्तै सम्झनामा आइरहन्छ आफू जन्मिएको ठाउँ पनि । सम्झनाले गर्दा बेलाबेलामा त्यहाँ गएको हुन्छु । जति जति जन्मथलोको नगिच पुग्छु, उति उति मनभरङ्ग हुन्छ । मनले ठाउँ छोडेको हुन्छ । किनभने त्यहाँ मेरी आमा हुनुहुन्न । आमा त यसै हराउनु भयो, आमासँग जोडिएका सबै वस्तु पनि हराइसकेछन् ।

आमा हराउनु भए पनि आमाले मलजल गरेको बारीको छेउ देख्दा कतै मेरी आमा त्यहाँ हुनुहुन्छ कि जस्तो लाग्दछ । मेरी आमाको दाह संस्कार गरेको नदीको त्यो ठूलो ढुंगा देख्दा त्यहीँ कतै छेउ लागेर बस्नुभएको छ कि भन्ने कल्पना गरेको हुन्छु । आखिर त्यो भ्रम मात्रै ! 

आमा हराउनु भए पनि आमाका पैतालाका डोबहरू अहिले पनि जीवन्त देख्दछु । कतै धुलो माटोमा कुर्कुचा र औंलाका डोबहरू देख्दा आमाका पाइताला हुन् जस्तो लाग्दछ । जंगलमा गोरेटो बाटो देख्दा आमा भर्खरै यही बाटो भएर जानुभएको जस्तो लाग्दछ । पर टाढाबाट भारी बोकेर आउँदै गरेको मानिस देख्दा पनि आमाकै झल्को लाग्दछ । यसरी आमाका पाइतालाको डोबहरूले अहिले पनि मलाई खोजिरहेका छन् । आमाका पाइतालाका डोबहरू हेर्नका लागि मात्र भए पनि त्यहाँ गइरहेको हुन्छु । लाग्छ– मेरी आमाका पैतालाका डोबहरू कहिले पनि हराउने छैनन् ।