ललितपुरको हृदयस्थल, पाटन दरबार क्षेत्रभित्र अवस्थित पाटन सङ्ग्रहालयको शान्त, शिल्पमय आँगनमा त्यो दिन कला एउटा उत्सवझैँ फक्रिएको थियो । पुराना इँटाका भित्ताहरू, काठका कुँदिएका झ्यालहरू र इतिहासका मौन प्रतिध्वनि बीच एक फरक किसिमको कलाप्रदर्शनी प्रारम्भ भएको थियो– विदेशमा बसेर पनि माटोको सुगन्ध नबिर्सिएका कलाकार शैलेन्द्र महर्जनका चित्रहरूका साथ ।
सङ्ग्रहालय आफैँमा नेपाली कला–संस्कृतिको जीवित धरोहर हो । त्यही परिवेशमा जब उनका क्यानभासहरू टाँगिए– जहाँ हिमालको नीलो सास, गाउँको धुलाम्मे बाटो, नेवार बस्तीका इँटाहरू, जात्रापर्वको रङ्गीन उल्लास र खेतका हरिया आलापहरू एउटै दृश्य–भाषामा मिसिएका थिए– त्यो क्षण प्रदर्शनीको उद्घाटन मात्र थिएन, त्यो नेपाली कलाको पुनः आविष्कार थियो । विदेशी कलापारखीहरू समेत ती चित्रहरू अगाडि रोकिएर मन्त्रमुग्ध भइरहेका थिए । मानौँ रङ्गहरूले उनीहरूलाई शब्दविहीन कथा सुनाइरहेका थिए ।
म सम्झन्छु– २०४२ साल मंसिर २७ गते बिहीबार, गोरखापत्रको ‘फ्रन्ट पेज’ मा उनको तस्बिरसहित छापिएको समाचारले त्यस समयको सिर्जनात्मक तरङ्गलाई सार्वजनिक बनाएको थियो । उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)– को ‘प्रतीक चिह्न’ डिजाइन गरेका थिए । त्यो लोगो एउटा आकृति थिएन, त्यो दक्षिण एसियाली राष्ट्रहरूको साझा आकाङ्क्षा, सहकार्य र सांस्कृतिक सेतुको प्रतीक थियो । एक युवा कलाकारका रेखाहरूले क्षेत्रीय पहिचानको अनुहार कोरेका थिए ।
त्यति बेला उनी प्रतिभाशाली मात्र थिएनन्, उनी सम्भावनाका प्रतीक थिए । अन्तर्राष्ट्रिय युवा वर्ष राष्ट्रिय समिति र फोहोरमैला व्यवस्था समितिको प्रतीक चिन्ह बनाउनेदेखि ‘गाईजात्रा पोस्टर प्रतियोगिता’ मा उत्कृष्ट पुरस्कार जित्नेसम्म– उनको सिर्जनात्मक यात्रामा आत्मविश्वास र प्रयोगशीलताको चमक साथै पुरस्कारहरूको लहर एकपछि अर्को ओइरिरहेका थिए ।
युनेस्कोद्वारा सञ्चालित ‘युवा वर्ग तथा साक्षरता’ विषयक पोस्टर प्रतियोगितामा नेपालको तर्फबाट छनोट हुनु वा ‘नेपाल–जापान मैत्री संघ’ द्वारा आयोजित ‘चङ्गाको स्वरूप’ चित्र प्रतियोगितामा प्रथम हुनु– यी सबै उपलब्धिहरूले उनको रेखा र रङ्गको विश्वव्यापी संवाद क्षमतालाई प्रमाणित गर्थे । २१ वर्षको उमेरमा यति परिपक्व अभिव्यक्ति ! पिपुल्स क्याम्पसमा अध्ययन गर्दै जनक शिक्षा सामग्री केन्द्रमा चित्रकला सम्बन्धी काम गर्ने उनी, जीवनका व्यावहारिक पाठ र कलाका सौन्दर्यबोधलाई सँगसँगै अघि बढाइरहेका थिए ।
त्यसपछिको त्यो दिन थियो– २०७३ साल कात्तिक ३ गते बुधबार ! पाटन सङ्ग्रहालयमा आयोजित उनको पहिलो एकल प्रदर्शनीमा म स्वयं उपस्थित हुँदा, त्यो क्षण मेरो लागि कुनै साधारण भेट थिएन । म स्कूल पढ्दै गर्दा २०४२ सालमा ‘सार्क लोगो’ बनाउने युवा कलाकारको नाम सुनेर मनमा रोपिएको जिज्ञासाको बिरुवा त्यही दिन आएर फूलझैँ फक्रिएको थियो । उद्घाटन समारोहपछि कलाकारसँग भेट्ने अवसर पाउँदा, मैले उनका अनुहारमा कुनै आडम्बर देखिनँ । सरलता, एकाग्रता र आफ्नो माटोसँगको गहिरो सम्बन्धको उज्यालो देखेँ ।
शैलेन्द्र महर्जनको व्यक्तित्वलाई ‘लोगो डिजाइनर’ वा ‘अन्तर्राष्ट्रिय कलाकार’ भनेर सीमित गर्न सकिँदैन । उनी ती कलाकार हुन्, जसले परदेशको भूमिमा बसेर पनि आफ्नो देशको रङ्गलाई मेटिन दिएनन् । उनका क्यानभासहरूमा नेपाल दृश्य होइन, संवेदना बनेर बाँचिरहेको छ । उनी रेखामा इतिहास कोर्छन्, रङ्गमा स्मृति घोल्छन्, अनि आकृतिमा भविष्यको संकेत छोड्छन् ।
यसरी हेर्दा, पाटन सङ्ग्रहालयको त्यो, प्रदर्शनी चित्रहरूको जमघट थिएन । त्यो कलाकार शैलेन्द्र महर्जनको जीवनयात्राको एउटा उज्यालो अध्याय थियो, जहाँ बाल्यकालको स्वप्न, युवावस्थाको संघर्ष र अन्तर्राष्ट्रिय अनुभवको परिपक्वता एउटै ‘फ्रेम’मा समाहित भएर उभिएको अनुभव मैले गरेँ ।
कलाकार शैलेन्द्र महर्जन, जसका फ्रान्समा दशभन्दा बढी एकल प्रदर्शनी भइसकेका छन्, अहिले साढे तीन दशकभन्दा बढी समयदेखि पेरिसमा कला–साधनामा निमग्न छन् ।
तर अनौठो कुरा के छ भने– यति लामो समय विकसित मुलुकमा बिताउँदा पनि उनका क्यानभासमा ‘आधुनिकता’ को चर्को घाम लागेको छैन । बरु, मौलिक नेपालीपनको गहिरो रङ्ग पोखिएको छ । उनका चित्रमा पेरिसको सडक होइन, पहाडको बाटो; युरोपेली आकाश होइन, असारको मेघ गुञ्जिन्छ, आधुनिक संरचनाको ज्यामिति होइन, नेवार बस्तीको लयात्मक वास्तुकला झल्किन्छ ।

उनका सिर्जनामा नेपाली जनजीवन सजीव छ– गाईजात्राको रौनक, चाडपर्वको उल्लास, गाउँको श्रमशीलता, संस्कारको अनुशासन । विदेशमा बसे पनि उनले आफ्नो दृष्टि कहिल्यै देशबाट हटाएनन् । नेपालमा उनका कलाकृतिको प्रदर्शनी लामो समयदेखि मनभित्र थन्किएको सपना जब साकार हुन्छ, त्यसमा शब्दभन्दा बढी आँखा बोल्छन् । उनको आँखामा त्यही चमक देखिन्थ्यो– सपना पूरा भएको उज्यालो ।
विदेशमा बस्ने नेपालीको स्वदेशप्रतिको आस्था र प्रेम उनका चित्रबाट सहजै पढ्न सकिन्थ्यो । उनी भौगोलिक रूपमा टाढा थिए, तर सांस्कृतिक रूपमा कहिल्यै अलग भएनन् । उनका रङ्गहरूमा दूरी थिएन, निकटता थियो ।
“अहिले सबै कुरा अनुकूल हुँदा मेरो इच्छा पूरा भएको छ ।” उनले प्रदर्शनी गर्न पाउँदाको सुखीमा भनेका थिए । सानैदेखि कलामा सौखिन उनी, जीवनका विभिन्न मोड पार गर्दै, अन्ततः आफ्नै देशको दर्शकमाझ उभिएका थिए । यो प्रदर्शनी उनले आफ्नो ‘अनुपस्थिति’ हटाउनका लागि गरेका थिए ।
शैलेन्द्र महर्जनको व्यक्तित्वमा परदेशको ‘परिपक्वता’ र हृदयमा स्वदेशको ‘कोमलता’ छ । उनी आधुनिक शहरमा बस्छन्, तर हृदय अझै परम्पराको चौतारोमै विश्राम लिन रमाउँछ । उनका चित्रहरू हेर्दा लाग्छ– कला भनेको स्थान होइन, पहिचान हो । उनले आफ्नो पहिचान कहिल्यै हराउन दिएनन् ।
यसरी दोस्रो भेटमा मैले उनलाई सफल अन्तर्राष्ट्रिय कलाकारका रूपमा होइन, आफ्नो माटोसँग गहिरो नाता गाँसेका संवेदनशील स्रष्टाका रूपमा चिन्ने अवसर पाएँ । उनको यात्रा परदेशको हुनसक्छ, तर उनका रङ्ग सधैँ यहीँका हुन्– हिमालका, मन्दिरका, गल्लीका, स्थानीयपन र पहिचानले भरिएका हाम्रो सामूहिक स्मृतिका ।
शैलेन्द्र महर्जनका धेरै चित्रहरूमा उनी दृश्य कोर्दैनन्, समयको साक्ष्य लेख्छन् । परिवर्तित सामाजिक परिवेशमा नेपाली जीवनपद्धतिको महत्वलाई उनले सहज र आत्मीय ढङ्गले प्रस्तुत गरेका छन् । उनका चित्रहरू कुनै दार्शनिक जटिलतामा अल्झिएका छैनन् । बरु जीवनलाई जस्ताको तस्तै, इमानदारीपूर्वक प्रस्तुत गरेका छन् ।
उनका कलामा जोगीका अनुहारमा देखिने वैराग्य, वृद्धहरूको आँखामा जमेको अनुभव र सामान्य जनजीवनका श्रमशील हातहरू चित्रमा उत्तिकै जीवन्त र सुन्दर छन् ।
पुरस्कार र सम्मानहरूले पनि उनको यात्रालाई पुष्टि गरेका छन्– गोरखा दक्षिणबाहु चौथो, युवा पुरस्कार, शिक्षा पुरस्कार लगायतका उपलब्धिहरूले उनको साधनालाई राज्यस्तरबाट समेत मान्यता दिएका छन् । तीन दशकअघि नेपाल सरकार र फ्रान्स सरकारको छात्रवृत्तिमा पेरिस पुगेर ललितकलामा स्नातक अध्ययन गर्नु उनका लागि शैक्षिक उपलब्धि थिएन; त्यहीँबाट उनको कलाकारिताको जीवन औपचारिक र पेशागत रूपमा विकसित भएको हो ।
लामो समय फ्रान्समा बसे पनि उनको सिर्जनामा नेपाली मौलिकता झल्किनु कुनै संयोग होइन– यो सचेत प्रतिबद्धता हो । परदेशको आधुनिक कला–परिवेशमा रहेर पनि उनले आफ्ना रङ्गहरूलाई माटोबाट टाढा हुन दिएनन् ।
काठमाडौं ज्ञानेश्वर–कालोपुलका यी कलाकारको अनुभवमा आजकल सबै शैली र माध्यममा चित्रहरू सिर्जना भइरहेका छन् । तर उनी मूलतः मूर्तशैलीमा मानवीय आकृतिलाई नै आकार दिन रुचाउँछन् । मानिस, उसको अनुहार, उसको मौनता, उसको संघर्ष यी सबै उनका स्थायी विषय हुन् ।
कला–जगतको ठूलो र प्रभावशाली शहर पेरिसमा काम गर्नुको आफ्नै आनन्द छ, तर चुनौती पनि कम छैन । उनले स्वीकारेका छन्– कला बिक्री गरेर मात्र जीवन धान्न सकिने स्थिति त्यहाँ पनि सजिलो छैन । तर शायद साँचो कलाकारको जीवन बजारको सुनिश्चितताभन्दा बढी विश्वासको यात्रामा अडिएको हुन्छ ।
शैलेन्द्र महर्जनको व्यक्तित्वलाई समेट्दा लाग्छ– उनी दुई भूगोलका बीच उभिएका एक सेतु हुन् । शरीरले परदेश, मनले स्वदेश बोकेका कलाकार । उनका क्यानभासमा नेपाल चित्रित हुँदैन, धड्किन्छ ।
अन्ततः, उनको सम्पूर्ण कला–यात्रालाई हेर्दा स्पष्ट हुन्छ– यो एक कलाकारको कथा होइन; यो आफ्नो पहिचान जोगाउँदै विश्वसँग संवाद गर्ने नेपाली आत्माको कथा हो । समय, दूरी र परिस्थितिले जति टाढा पुर्याए पनि, उनको रङ्गभित्र सधैँ आफ्नै प्यारो देश बाँचिरहेको हुन्छ– अक्षुण्ण, आत्मीय र अमर !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










