विषय प्रवेशः

‘अठोट उज्वल भविष्यको’ लेखक तथा पत्रकार श्रीश भण्डारीको  प्रेरणादायी र जीवनमार्गदर्शक पुस्तक हो । यस पुस्तकमा जीवनलाई सफल र अर्थपूर्ण बनाउन आवश्यक सोच, दृष्टिकोण र व्यवहारगत पक्षहरूलाई सरल र प्रभावशाली शैलीमा प्रस्तुत गरिएको छ । विशेष गरी युवापुस्तालाई लक्ष्य बनाई लेखिएको यस पुस्तकले लक्ष्य निर्धारण, परिश्रम, आत्मअनुशासन, सकारात्मक सोच, समय व्यवस्थापन र निरन्तर प्रयासजस्ता विषयलाई केन्द्रमा राखेको छ ।

पुस्तक परिचयः 

‘अठोट उज्वल भविष्यको’ श्रीश भण्डारीद्वारा लिखित एक अत्यन्त प्रेरणादायी पुस्तक हो ।  यस पुस्तकले विशेष गरी बालबालिकालाई सकारात्मक सोच, आत्मविकास र अरु विभिन्न कुराहरू सरल रूपले उदाहरण दिएर सिकाउँछ । यो पुस्तक इन्टरनल पब्लिकेशन प्रा.लि. द्वारा प्रकाशित भएको हो र यसको तेस्रो संस्करण हामीले पढ्ने अवसर पायौँ । २० वटा सन्देशमूलक छोटा अध्यायहरू समावेश छन् यो किताबमा । त्यसमा पनि किशोर अवस्थामा वा बाल्यकालमा देखिने सामान्य समस्याहरू र त्यसका समाधान, जस्तै आत्मविश्वास, समय व्यवस्थापन, डर, लत, रीस नियन्त्रण, आदि विषय समेटिएका  छन् । सरल भाषा, व्यावहारिक दृष्टिकोण र विभिन्न सन्देश उल्लेख गरिएका कारण यो पुस्तक एक मार्गदर्शक स्वरूप पनि लिन सकिन्छ ।

कथावस्तुः 

पुस्तकको मुख्य विशेषता भनेको केवल उपदेश दिने होइन, व्यवहारमा सजिलै अपनाउन मिल्ने उपायहरू प्रस्तुत गर्नु हो जस्तो लाग्यो । जस्तै, रीस नियन्त्रण गर्ने खण्डमा लेखकले गहिरो सास फेर्ने, उल्टो गन्ती गर्ने, वा अनुहारमा चिसो पानी छ्याप्नेजस्ता सरल उपायहरू सिकाएका छन् । म पहिला सानातिना कुरामा पनि छिट्टै रिसाउने गर्थें, तर अहिले यी उपायहरूले मलाई निकै सहज बनाएका छन् ।

पढाइका सन्दर्भमा पुस्तकले सबैको अध्ययन शैली फरक–फरक हुन सक्छ भन्ने कुरा उल्लेख गरेको छ । कसैले चित्र बनाएर, कसैले आवाज निकालेर, त कसैले अरूलाई सिकाएर पढ्ने गर्छन् भन्ने कुरा पढेर मैले आफूअनुकूल तरिका अपनाउने प्रेरणा पाएँ । समय व्यवस्थापनसम्बन्धी अंशले काम थाल्न ढिला गर्दा पछि तनाव बढ्ने कुरा प्रस्ट्याएको छ । त्यसैले अहिले म सकेसम्म काम समयमै सक्ने प्रयास गर्न थालेको छु, जसले राम्रो नतिजा दिएको छ । जङ्क फुडको हानि दर्शाउँदै लेखकले “खानु हुँदैन” भन्ने शैलीभन्दा पनि त्यसले ऊर्जा घटाउने, ध्यान विचलित पार्ने र शरीर अल्छी बनाउने तथ्य प्रस्तुत गरेका छन् । त्यसैले अहिले म खानेकुरामा धेरै सचेत बन्न थालेको छु ।

आत्मविश्वास सम्बन्धी खण्डले मलाई धेरै प्रेरित गर्‍यो । अरूजस्तो बन्न खोज्नुको सट्टा आफूजस्तो बनेर अघि बढ्नु नै आत्मविश्वास हो भन्ने कुरा बुझाएको छ । पहिले म आफ्नो क्षमतामा शङ्का गर्थें, तर अहिले प्रयास गर्न हिचकिचाइ हटेको छ ।

पुस्तकको शुरुवाती भागमा ‘हामीसँग जे छ, त्यसमा सन्तुष्ट हुन सिक्नु’ भन्ने सन्देश दिइएको छ । बारम्बार तुलना गर्दा असन्तोष र तनाव बढ्ने मात्र होइन, स्वास्थ्यसमेत प्रभावित हुने कुरा देखाइएको छ । अहिले म आफूलाई अरूसँग तुलना नगर्ने अभ्यास गरिरहेको छु ।

डर सामना गर्ने कुरामा लेखकले चरणबद्ध अभ्यासको सल्लाह दिएका छन्— पहिले एक्लै, त्यसपछि परिवार र साथीहरूसामु अभ्यास गर्न भनिएको छ । म सार्वजनिक रूपमा बोल्न डराउँथेँ, तर अहिले म बिस्तारै आत्मविश्वासी हुँदै गएको छु ।

लतका बारेमा पनि पुस्तकले चेतावनी दिएको छ । मोबाइल, टिभी, गेम वा अनावश्यक सोच–चिन्ताले हाम्रो समय र उर्जा खेर जान सक्छन्, त्यसको सट्टा सिर्जनात्मक काम वा खेलमा ध्यान दिनु उपयुक्त हुन्छ भन्ने सोच मेरोमा विकसित भएको छ । साथीहरूको छनोटमा पनि सचेत हुन आवश्यक छ भन्ने पुस्तकको सन्देश महत्त्वपूर्ण लाग्यो । सबै साथीहरू सकारात्मक प्रभाव पार्दैनन् भन्ने कुरा अब मैले बुझेको छु, र साथीहरू छान्न सोचेर थालिएको छु । अन्त्यतिर लेखकले अभिभावक र बच्चाबीच संवाद कसरी प्रभावकारी हुन्छ भन्ने चर्चा गरेका छन् । चिच्याएर होइन, धैर्यपूर्वक बुझाएर कुराकानी गर्दा बच्चाहरूमा आत्मविश्वास विकास हुन्छ भन्ने सन्देश मलाई सार्थक लाग्यो । किशोरावस्थाको मानसिक र भावनात्मक उतारचढावबारे जानकारीले पनि आफूलाई बुझ्न सजिलो बनाएको छ ।

परीक्षाको तयारीसम्बन्धी अंशमा अन्तिम समयमा हतारहतार पढ्नुभन्दा नियमित रूपमा सानो समीक्षा गर्दै जानु उपयुक्त हुन्छ भन्ने सल्लाह दिइएको छ, जुन अहिले म अभ्यासमा ल्याउने प्रयास गरिरहेको छु ।

निष्कर्ष तथा सिफारिस : 

‘अठोट उज्वल भविष्यको’ पुस्तक राम्रो बानीको सूची मात्र नभएर जीवन परिवर्तन गर्ने तथा सही बाटोतर्फ जान उत्प्रेरित गर्ने पुस्तक हो । यसले किशोरकिशोरीहरूलाई सकारात्मक सोच कसरी राख्ने, र आत्मविकास कसरी बढाउने, अनुशासनमा कसरी बस्ने, समय व्यवस्थापन कसरी गर्ने आदि मार्ग देखाउँछ । यो पुस्तक म विद्यार्थी, अभिभावक, शिक्षक तथा युवाहरूलाई पढ्न सिफारिस गर्दछु किनभने यसले जीवनलाई सकारात्मक दिशामा लैजाने बाटो देखाउँछ । यस पुस्तकले कठिनाइलाई अवसरमा रूपान्तरण गर्ने उपायहरू बताउँदै हरेक व्यक्तिको भविष्य उसको अठोटमा निर्भर हुन्छ भन्ने सन्देश दिन्छ ।

पुस्तक पढ्दा पाठकले केवल ज्ञान मात्र प्राप्त गर्दैनन्, जीवन यात्रामा अगाडि बढ्न आवश्यक ऊर्जा र प्रेरणा पनि पाउँछन् । भाषाशैली सहज, सान्दर्भिक उदाहरण र सन्देशहरू व्यवहारिक भएकाले यसले विद्यार्थी, युवा तथा आम पाठक सबैलाई उपयोगी मार्गनिर्देशन प्रदान गर्छ । सरल भाषा प्रयोग गरिएका कारण यो पुस्तक पढ्न पनि सहज हुन्छ र हामीले धेरै कुराहरू सिकेर आफ्नो व्यवहार सुधार गर्न प्रेरणा पाउन सक्छौँ ।

कक्षाः १०,  ‘माछापुच्छ्रे

डियरवाक सिफल स्कुल