(वरिष्ठ अधिवक्ता)

तिमीलाई देखेर जहिल्यै सम्वाद गर्छु
पल्टाएर तिम्रो अन्तस्करणसँग
अधैर्य बनेर आँखा दौडाउँछु
सद्य रूपमा डुबेर पौडन्छु

तिम्रा ती सुललित हरफहरू
सौन्दर्य जडित सुमधुर शब्दहरू
विश्व विचरण गराउने तिम्रा भावहरू
मनभरि समेटिने सूचनाहरू
मसँग बोल्न थाल्छन् र सोध्न लाग्छन्

तिम्रो पवित्रतामा लुटपुटिदै
तिम्रा सन्देशहरू बिस्तारै छर्दै
तिम्रा भावहरू धेरैतिर बाँढ्दै
तिम्रा अन्तर्यहरू खोतल्न मन लाग्छ

तिमी कहिले मलाई गिज्याउँछौ
कहिले मलाई कसिलो व्यङ्ग्य गर्छौ
कहिले मलाई छामेर हौस्याउँछौ
कहिले उत्प्रेरित गरेर माथि उचाल्छौ

तिमीसँग भेट नहुँदा म छिट्टै न्यास्रिन्छु
तिम्रा सौता बनेका डिजिटल अक्षरसँग
लहस्सिएको देखेर मुर्झाउँछ्यौ थोरै
प्रतिक्षा गरिरहन्छ्यौ मेरो स्पर्शको

तिमीसँग मोहभङ्ग हुनेहरू धेरै भइसके
त्यसैले अचेल तिमी फ्याँकिन्छ्यौ जताततै
उपेक्षाका र विस्मृतिका तरेलीहरूमा
आधुनिकता र तिरस्कारका फाँटहरूमा

तिम्रा पूर्खाहरू त सजिएकैछन् ठाउँ ठाउँमा
विद्वता र विवेकका हृदयहरूमा
तिमीलाई अझै सजाउँ भन्ने मेरा भित्री भाव छन्
तिम्रा सन्तति पो नाशिने हुन् कि भन्ने
आशंकाका सन्ताप पनि छन्।