जीवनमा समयको गतिले मानिसहरूलाई छुट्याउँछ । कार्यव्यस्तता, भौगोलिक दूरी र दैनन्दिन जीवनका चुनौतीहरूले सम्बन्धलाई छायाँमा पार्न सक्छन् । एउटा सानो भेटघाटले यी सबै दूरीहरूलाई एकै झट्कामा मेटाउन सक्छ ।
…
भेटिएपछिको भेटले जीवनका भावनात्मक पलहरूको गहिरो कथा बयान गर्छ । यो भावना र सम्झनाको खेल हो । त्यहाँ भेटघाटले सम्झनाहरू सिर्जना गर्छ । छुट्टिने पलले ती सम्झनाहरूलाई धुमिल पार्ने प्रयास गर्छ, तर तस्वीरले तिनलाई फेरि जीवित गरिदिन्छ ।
यसको सौन्दर्य भनेकै भेटघाट र बिछोडको चक्रले मानिसको जीवनलाई अझ रङ्गीन बनाउँछ । तस्वीर एउटा समयको फ्रेम हो, जसले ती पलहरूलाई पुनर्जीवित गराउँछ ।
मानव जीवनको आयाम र अर्थ भेटघाट र बिछोडको परिधिमा घुमिरहन्छ । यो चक्र, जसले कहिले हामीलाई हर्षित बनाउँछ त कहिले भावुक, हाम्रो अस्तित्वको एक अभिन्न हिस्सा हो । भेटघाटको प्रत्येक पलले स्मृतिहरूको निर्माण गर्छ । बिछोडले ती स्मृतिहरूलाई आँशु र मौनताका परालमा बेर्न खोज्छ । तर यिनै स्मृतिहरूलाई पुनर्जीवित गर्ने एउटा अद्भुत साधन हो तस्वीर ।
भेटघाटको क्षणहरू हामीलाई आफ्नो प्रियजनहरूको समीपमा ल्याउँछन् । ती पलहरूमा गरिएको संवाद, हाँसोका तरङ्गहरू, र आँखाहरूमा देखिएको भावुकता समयको भिन्न धरोहर हुन् । तर, समय कहिल्यै स्थिर रहँदैन । बिछोडको पल आउँछ, जसले ती क्षणहरूलाई बिर्साउन खोज्छ । हृदयले महसुस गरे पनि, जीवनको प्रवाहले हामीलाई ती पलहरूको यादलाई पछि धकेल्न बाध्य बनाउँछ ।
यद्यपि, तस्वीर भने समयलाई स्थिर गर्न सक्छ । यो एउटा झ्याल हो, जसबाट हामी विगतको त्यो सुनौलो क्षणलाई फेरि हेर्न सक्छौं ।
तस्वीरले विगतका दृश्यहरू पुनः स्मरण गराउँछ, तर ती दृश्यहरूको भावनात्मक गहिराइलाई पनि हामीसम्म ल्याउँछ । एक पुरानो तस्वीरले कुनै त्यस्तो क्षणको कथा सुनाउँछ, जहाँ हामी भेटिएका थियौं, मस्तले मन खोलेर गफिएका थियौँ, हाँसेका थियौँ, हँसाएका थियौँ । र सँगै बिताएका ती क्षणहरूलाई महसुस गरेका थियौं ।
तस्वीरमा खिचिएको हरेक अनुहार, पहिरन र भावनाले त्यस समयको परिचय दिन्छ । भविष्यसम्म त्यसले मीठो सम्झनाको चिनो राखिरहन्छ ।
यस चक्रको सौन्दर्य भनेकै यसले हाम्रो जीवनलाई गहिरो अर्थ दिन्छ । भेटघाटले हाम्रो जीवनलाई नयाँ रङहरू भर्छ भने बिछोडले ती रङहरूको महत्त्वलाई बुझ्न मद्दत गर्छ । तस्वीरले ती रङहरूलाई कहिल्यै मेटिन नदिने अद्वितीय माध्यमको रूपमा कार्य गर्छ ।
भेटघाट र बिछोडको यात्रा जीवनको एउटा कविताजस्तै हुन्छ । त्यहाँ हरेक पंक्तिले आफ्नै कथा बोल्छ । तस्वीरले त्यस कविताको सुन्दरता झल्काउँछ । जीवनको यो चक्रले हाम्रो अस्तित्वलाई अझ रङ्गीन बनाउँछ । हामीलाई विगतसँग जोडेर भविष्यप्रति आशावादी बनाउँछ । तसर्थ, तस्वीर मात्र चित्र होइन । यो समयको दस्तावेज हो । यसले हामीलाई जीवनको वास्तविक मूल्य चिनाउँछ ।
जीवनको व्यस्ततालाई थाँती राखेर, मनका कुरा खोल्न सक्ने क्षणहरू हाम्रो लागि सजीव ऊर्जा बनिदिन्छन् । प्रत्येक भेटघाट, सम्बन्धहरूको नवीकरण मात्रै होइन, आत्मीयताको पुनर्जागरण हो । यो एक स्वर्णीम अवसर हो, जहाँ एकअर्काको कुशलमंगल जान्न सक्छौं । आफ्ना अनुभव र विचारहरू बाँड्न पनि सक्छौं ।
विशेषतः शहरको व्यस्त जीवनशैलीमा यस्तो भेटघाटका पलहरू झन् गहकिला र महत्त्वपूर्ण हुन्छन् । फुर्सद निकालेर मित्रजन वा साथीभाइहरूसँग बिताएको समयको आफ्नै महत्त्व हुन्छ । ती क्षणहरू जहाँ न कुनै औपचारिकताले बाँध्छ, न कुनै अपेक्षाले । यो समयको मापन घडीले होइन, आत्मीयता र माया–प्रेमले हुन्छ ।
खासमा हामीकहाँ भेटिनलाई हामीसँग फुर्सदिलो समय पनि छैन । उपयुक्त ठाउँ पनि उपलब्ध छैन । त्यसका लागि खानपानसहित रेष्टुरेन्टकै भान्सा भित्रिनुपर्ने हुन्छ । फुक्का फकिर भएर खुल्ला आकाशमुनि प्रकृतिको सौन्दर्य नियाल्दै गफिनलाई त्यस्तो सुरम्य स्थानको पनि अभावै छ । त्यसैले हामी पनि मिथिला थालीसहित १४ जना मित्रगण मैत्रीपूर्ण भलाकुसारीको मेलोमेसो बुन्दै मान्छेको भीडलाई पन्छाएर गैह्रीधारामा एकाध घण्टा स्वच्छन्द संवाद र संलापमा चुर्लुम्बै डुब्यौं ।
पौष ११ गते ११ बजेको भेटघाट मेरा लागि यस्तै एक प्रेरणादायी अवसर बन्यो । विद्वान लेखक तथा सर्जकहरूको संगतले मलाई एक सिकारु सर्जकका रूपमा आफूलाई बुझ्ने अवसर दियो । उहाँहरूको गहिरो ज्ञान र सिर्जनात्मक क्षमताले मलाई साहित्यको महत्त्वलाई थप नजिकबाट महसुस गरायो । अनुभव र विचारको यस्तो आदान–प्रदानले एउटा नयाँ ऊर्जा भर्न सफल भयो ।
यस विशेष अवसरलाई सम्भव तुल्याउने अग्रज साहित्य साधक भागवत खनालज्यूको योगदान स्मरणीय छ । उहाँले सिर्जना गर्नुभएको यो वातावरणले साहित्यिक चर्चा र मन्थनलाई प्रोत्साहन मात्र गरेन, भविष्यका सर्जकहरूलाई उत्प्रेरणा पनि दियो । उहाँप्रति म आफ्नो आभार व्यक्त गर्छु । उहाँको मनले संयोजन गरिएको भेटमा हामी सबैले आफ्नो लेखनकर्ममा कसरी, किन, कहिले र केका लागि लेखिरहेका छौं भन्ने प्रश्नको उत्तर आफैंसँग खोज्न लगायो । लेखकीय मनहरूलाई गम्भीर जिम्मेवारीको ज्ञान दिलायो । भेटिनु र छुटिनु त स्वाभाविक हो तर भेट अविस्मरणीय भएर प्रत्येकका मन–मुटुमा स्पन्दित भइरह्यो ।
समग्रमा हरेक भेटघाट र भलाकुसारीले सम्बन्धहरू नवीकरण गर्ने, भावनाहरू साटासाट गर्ने र जीवनलाई थप सार्थक बनाउने शक्ति बोकेको हुन्छ । यसले हामीलाई वर्तमानसँग जोड्छ । भविष्यप्रति नयाँ दृष्टिकोण दिन्छ । यस्तो सजीव अनुभव सधैं प्रेरणादायी रहन्छ ।
सम्बन्ध भनेको एउटा अमूल्य सम्पत्ति हो । यसले मानिसलाई आत्मीयता, माया र विश्वासको अनुभूति गराउँछ । समयको प्रवाहसँगै सम्बन्धहरू कहिलेकाहीँ कमजोर बन्दै जान्छन् । विस्मृतिमा हराउँदै जान्छन् । अन्ततः कहिलेकाहीँ बिर्सने रोग लागे झैं हुन्छन् । तर यस्ता सम्बन्धहरूलाई फेरि ताजा र ऊर्जा भरेर जीवन्त बनाउन भेटघाटको महत्त्व अपार छ । भेटघाट कुनै विशेष अवसरमा मात्र हुँदैन । यो सम्बन्धको नवीकरणको अदृश्य पुल हुन्छ ।
हरेक भेटघाटले एउटा होइन अनेकौँ कथा बनाउँछ । ती कथाहरू हाँसोले भरिएका हुन्छन् । आँशुले भिजेका हुन्छन् । कहिलेकाहीँ शब्दविहीन मौनतामा गहिरो अर्थ बोकेका हुन्छन् । जब दुई व्यक्ति लामो समयपछि भेट्छन्, त्यतिबेला कुराहरूको ओइरो लाग्छ । बाल्यकालका सम्झनाहरू, युवावस्थाका जोशिला पलहरू, नभेटिँदाका घटनाहरूको बेलिबिस्तार र वर्तमानका कुरा यी सबैले सम्बन्धलाई पुनः ऊर्जा प्रदान गर्छन् ।
जीवनमा समयको गतिले मानिसहरूलाई छुट्याउँछ । कार्यव्यस्तता, भौगोलिक दूरी र दैनन्दिन जीवनका चुनौतीहरूले सम्बन्धलाई छायाँमा पार्न सक्छन् । एउटा सानो भेटघाटले यी सबै दूरीहरूलाई एकै झट्कामा मेटाउन सक्छ । ‘तिमी कस्तो छौ ?’ भन्ने साधारण प्रश्नले समेत सम्बन्धमा गहिरो सन्देश दिन्छ– ‘म तिमीलाई अझै सम्झन्छु ।’
मानिसको जीवनमा कृतज्ञताको भाव, सहानुभूति र प्रेरणा जति आवश्यक छ, त्यति नै सम्मान र योगदानको कदर पनि अनिवार्य छ । ‘तपाईंका परिवारमा सबैलाई सञ्चै छ ?’ जस्तो सोधिने सामान्य प्रश्न मात्र होइन, यसमा व्यक्त हुने आत्मीयता हाम्रो समाजको सजीवता हो । हाम्रो संस्कृति नै यस्तो छ, जहाँ मानिसका दुःख–सुखका सम्बन्धमा चासो राखिन्छ । यो आत्मीयता र सामुदायिकतासँगै व्यक्तिको योगदानको उपेक्षा र प्रतिभाको कदरको अभावले धेरैको मनमा गहिरो चोट पुर्याएको छ ।
नेपालजस्तो देशमा सिर्जनशीलताले समाजलाई समृद्ध पार्न सक्छ । त्यहाँ ‘तपाईंले लेख्नुभएको त्यो किताब वा त्यो रचनाले धेरैलाई प्रभावित पारेको छ । गजबै लेख्नुभएको छ ।’ भन्ने प्रशंसा त सुन्न पाइन्छ, तर यस प्रशंसाको ठोस मूल्याङ्कन प्रायः गरिँदैन ।
एउटा साहित्यकारले आफ्नो जीवनभर समाजलाई प्रेरणा दिने रचनाहरू लेख्दा, उनीप्रतिको सम्मान शब्दमा मात्र सीमित हुँदा, त्यो साहित्यकारको मनमा के हुन्छ होला ? उनले सोच्न बाध्य हुन्छन्– ‘खै, नेपालमा योगदानको कुनै कदर नै हुँदैन ।’
त्यही भएर, ‘प्रतिभा पलायनको संकट किन नआओस् र ?’ भन्ने गुनासो आज सामान्य बन्दै गएको छ । हाम्रा डाक्टर, इन्जिनियर, साहित्यकार, वैज्ञानिकहरू विदेशमा राम्रो अवसर खोज्न जान्छन् । आफ्नै देशमा उनीहरूको योगदानलाई महत्त्व नदिएपछि, उनीहरूले आफ्नो प्रतिभाको सही प्रयोग गर्न सक्ने ठाउँको खोजी गर्छन् । यो समाजका लागि अभिशाप र राष्ट्रका लागि क्षति हो ।
यसमा समाधान के हुन सक्छ ? हामीले समाजलाई कृतज्ञताको संस्कार दिनुपर्छ । ‘तपाईंले गर्नुभएको त्यो फलानो कामको धेरैले सम्झिन्छन् ।’ भन्ने शब्दमा मात्र होइन, त्यसलाई व्यवहारमा पनि देखाउनुपर्छ । प्रतिभावान व्यक्ति जो कुनै क्षेत्रमा योगदान गर्छन्, उनीहरूको कदर गर्दै उनीहरूलाई सम्मानजनक अवसर दिनुपर्छ । सरकार, संस्थाहरू र हामी सबैले यो जिम्मेवारी लिनुपर्छ ।
साँचो कदर भनेको सम्मान दिने मात्र होइन; त्यो प्रतिभाको विकासको अवसर सिर्जना गर्नु पनि हो । जबसम्म हामी योगदान गर्ने व्यक्तिहरूलाई सच्चा मूल्याङ्कन गर्न सक्दैनौँ, तबसम्म हाम्रो समाजमा गहिरो पीडा र निराशाको बादल मडारिइरहन्छ । हामीले योगदानको कदर गर्न नसक्ने हो भने, सिर्जनशीलताको दीपकको उज्यालो मेटिन सक्छ ।
यसकारण हरेक व्यक्तिले आत्मीयताको कुरा मात्र होइन, योगदानको कदर गर्ने समाज बनाउन हामी सबै लाग्नुपर्छ । हामीले भनेका शब्द र गरेका व्यवहारले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । त्यसैले आजैबाट आफूलाई र आफ्नो समाजलाई यो गहन भावनाको मार्गमा अघि बढाऔं ।
जीवनमा कदर र योगदानको सही मूल्याङ्कनले सधैँ समाजलाई उज्यालो बनाउँछ । यही क्रममा भेटघाट नहुँदा सम्बन्धले बिरानोपनको स्वरूप लिन थाल्छ र कदर, सम्मानको पाटो पनि ओझेल पर्न जान्छ । भेटमा केवल शारीरिक उपस्थितिमा मात्र सीमित हुँदैन । यो भावना र स्मृतिको आदान–प्रदान हो । कुनै पुरानो साथीले पठाएको सन्देश, घरपरिवारका सदस्यहरूसँगको भ्रमण वा प्रेमिल जोडीबीचको मौनसंवाद यी सबै भेटघाटका सुन्दर रूप हुन् ।
सम्बन्ध नवीकरणको लागि भेटघाट भनेको प्रज्वलनको बिन्दु हो । यसले पुराना रिसराग मेट्न मद्दत गर्छ । माफ गर्ने र भुल्ने अवसर प्रदान गर्छ । भेटघाटले सम्बन्धलाई पुनः सुन्दर बनाउन सक्छ । बिर्सिएका सम्झनाका धमिला रङहरूलाई पुनः जीवन्त पार्न सक्छ ।
सम्बन्ध जोगाउनु भनेको फूलको मालीजस्तै हो । त्यस निम्ति निरन्तर माया, समय र ध्यान दिनुपर्छ । भेटघाट भनेको यस बगैँचाको सिंचाइ हो । यसरी नै बेलाबखत समय निकालौं, प्रियजनसँग भेटौं र सम्बन्धलाई नवीकरण गरौं । जीवन छोटो छ; यसलाई प्रिय सम्बन्धहरूको मिठासले भरौं ।
(पुनश्चः सो भेटघाटमा सहभागीहरू : भागवत खनाल, कृष्णमुरारी भण्डारी, अभय श्रेष्ठ, सागर पण्डित, राजेश खनाल, गोपीकृष्ण ढुंगाना, अश्विनी कोइराला, पूर्ण ओली, श्रीधर खनाल, ज्ञानेन्द्र विवश, सिद्धराज उपाध्याय, चन्द्रशेखर कार्की, आनन्द पुन, आशिष ज्ञवाली, सुशील खनार र शिशिर खनाल)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










