(आज प्रस्तुत गर्दैछौं— भाषामाथिको आक्रमणबारे न्यायक्षेत्रको, वरिष्ठ भौतिकविज्ञानीको, प्राध्यापक अनि साहित्यकारहरूको अभिमत एवम् प्रतिक्रिया । –सम्पादक ।)

नेपालको वर्तमान संविधान, नेपाल कानून र शैक्षिक पाठ्यसामग्रीमा प्रयोग भइरहेको साबिकको लेख्य भाषा नै मानकका रूपमा रहे एकरूपता कायम हुने हुनाले यसतर्फ सम्बद्ध निकायले पहलकदमी चलाउनु आवश्यक छ ।

===

राजधानी दैनिक, २७ भदौ २०७३ ।

काठमाडौं । पूर्व न्यायाधीशहरूले वर्णविन्यासमा नयाँ नियम लागू गर्ने नाममा नेपाली भाषाको अस्तित्वलाई प्रायोजित रूपमै संकटमा पारिएको भन्दै गम्भीर चासो व्यक्त गरेका छन् ।

भर्खरै गठन गरिएको पूर्व न्यायाधीश फोरमको आइतवार सम्पन्न साधारण सभाले नेपाली भाषामा भइरहेको अतिक्रमण रोक्न सम्बन्धित निकाय (सरकार) को ध्यानाकर्षण समेत गराएको छ ।

‘हिजोआज नेपाली भाषाको लेख्य मानक प्रयोग वा वर्णविन्यासलाई केही व्यक्ति र निकायबाट प्रायोजित रूपमा अस्तव्यस्त पारी भाषाको अस्तित्वलाई संकटग्रस्त तुल्याइएको छ,’ पूर्व न्यायाधीश फोरमको साधारण सभापछि जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्व न्यायाधीशहरूले भाषा संस्कृतिको संवाहक र मुलुकको पहिचान भएको उल्लेख गर्दै भनेका छन्, ‘नेपालको वर्तमान संविधान, नेपाल कानून र शैक्षिक पाठ्यसामग्रीमा प्रयोग भइरहेको साबिकको लेख्य भाषा नै मानकका रूपमा रहे एकरूपता कायम हुने हुनाले यसतर्फ सम्बद्ध निकायले पहलकदमी चलाउनु आवश्यक छ ।’

पूर्व प्रधान न्यायाधीश केदारनाथ उपाध्यायको अध्यक्षतामा गत ९ साउनमा गठन भएको पूर्व न्यायाधीश फोरमले फोरमका सल्लाहकारहरू पूर्व प्रधान न्यायाधीश रामकुमारप्रसाद साह, सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरू कृष्णजंग रायमाझी, टोपबहादुर सिंह, पवनकुमार ओझा र गिरिशचन्द्र लाल, पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश केशवप्रसाद मैनाली तथा पूर्व जिल्ला न्यायाधीश शिवप्रसाद पराजुलीको सुझावका आधारमा यस्तो निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्व न्यायाधीशहरूले राजनीतिक दलबाट न्यायपालिकामा कुनै पनि प्रकारको प्रभाव पारिन नहुनेमा जोड दिंदै अदालतमा न्यायाधीशको दरबन्दी तय गर्ने कार्य न्यायपालिकालाई नै दिनुपर्ने धारणा समेत सार्वजनिक गरेका छन् ।

गलत फरमानका कारण हाम्रो भाषा मृत्युशय्यातिर

(कान्तिपुर २०६८ चैत २३)

तपाईंको पत्रिकाले नेपाली भाषाबारे बहस चलाएकामा धन्यवाद दिन चाहन्छु । मलाई भाषाबारे अति नै न्यून ज्ञान भए पनि मनमा लागेका केही कुरा भन्ने आँट मात्र गरेको हुँ । भाषा वैज्ञानिकका फरमान अनुसार भाषा लेखिनु र बोलिनुपर्छ भन्ने भ्रममा हाम्रा विज्ञहरू छन् । प्राकृतिक विज्ञान नै वैज्ञानिक सोचको जननी हो, तर यसले प्रकृतिको नियम लेख्ने होइन कि नियमको खोज मात्र गर्ने हो । न्यूटनले नियम बनाएर गुरुत्वको रहस्य खोलेका हुन्, न कि गुरुत्वलाई त्यो नियम अनुसार चल्न बाध्य तुल्याएका । पाणिनिको व्याकरण अनुसार वेद लेखिएको होइन, उनले त वेदमा प्रयोग भएको भाषाको विश्लेषण मात्र गरेका हुन् । त्यस्तै, भाषा वैज्ञानिकले त भाषा कसरी लेखिन्छ र बोलिन्छ, त्यसको अध्ययन गर्ने हो ।

कुनै नियम प्रचलनमा ल्याउनु छ भने त्यस अनुसारको लोकप्रिय साहित्य रचना गरेर सबैको जिब्रोमा बस्ने हिम्मत गर्नुपर्छ । उहाँहरूको जेमन्तले भाषिक अराजकता ल्याएको छ । दीर्घ, ह्रस्व, स, ष, श, जे लेखे पनि भयो ? ‘नाबालिग’ को अनर्थ गर्दै ‘नाबालक’ जस्ता शब्द बनाएर बृहत् नेपाली शब्दकोशमा हाल्नेलाई कुनै शब्दको अघि ‘न’ थपे के अर्थ लाग्छ, त्यति पनि थाहा रहेनछ । यस्ता विज्ञले भैंसी बराबरका अक्षर नै निर्माण गरेका छन् । जस्तै : श्रृ । यो अक्षर बनाउनेलाई श् र, श्र, शृ, श्रृ जस्ता अक्षरहरूको भेद नै थाहा रहेनछ । श्रृ लेखिएका कितापहरू स्कूलका सबै कक्षाका विद्यार्थीहरूलाई वर्षौंसम्म बेचियो । हाम्रा भाषाविदका यस्ता फरमानले नेपालीलाई सरल होइन, झन् जटिल र अनियमित बनाएर मृत्युशय्यातिर घिसार्दैछ ।

उदयराज खनाल

त्रिवि भौतिकशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर ।

भाषिक प्रतिगमन : कसको स्वार्थमा ?

(कान्तिपुर, २४ जेठ, २०७०)

नेपाली भाषालाई सामन्ती एवं जातिवादी रूप दिन लागिपरेका भाषिक मठाधीशहरूको हठले राष्ट्रिय भाषाभाषीहरूमा यस भाषाप्रति द्वेष र अलगावको भाव कसरी बढाउँदैछ र मुलुकमा भाषिक कलह तथा वैमनस्यको बीउ कसरी रोप्दैछ भन्ने तीतो सत्य पत्रकार एवं विचारक  चन्द्रकिशोरको लेख ‘नेपाली भाषामा लोकतन्त्रको खोजी’ ले छर्लंग पारेको छ ।

प्रश्न उठ्छ, मैथिली, अवधी, भोजपुरी, नेवारी, राई, लिम्बु, गुरुङ, शेर्पा आदि आफ्नै राष्ट्रिय भाषा–परिवारका शब्दहरूलाई समेत ‘आगन्तुक’ अर्थात् ‘केही दिनपछि फर्केर जाने/पराई’ घोषित गर्ने र हिज्जे बिगारेर तिनको हुर्मत लिने पञ्चायती हठवादलाई आजको नेपालमा पनि लाद्न मरिहत्ते गर्नुको नियत के हो ? अब पनि नेपाली भाषालाई त्यही प्रतिगामी बाटोमा हिंडाइरहन खोज्नुको उद्देश्य के हो ? अनि यसलाई झन्–झन् हेपाहा, असहिष्णु एवं संकीर्ण बनाएर गैर खस बृहत्तर नेपाली समुदायबीच नेपाली भाषाप्रति साझा घृणाभाव थप्दै, बढाउँदै लैजानका निम्ति कटिबद्ध देखिएको यो रहस्यमय हठ कसको स्वार्थबाट अभिप्रेरित छ ?

भाषिक ठेकेदारहरूका कारण, नेपाली भाषा जातिवादी र साम्प्रदायिक चरित्रको भाषा हो भन्ने पञ्चायती व्यवस्थाले दिएको सन्देश झन्–झन् गाढा हुँदै गएको छ । त्यसैले भाषामाथिको यो निरंकुश हस्तक्षेपलाई, पञ्चायत व्यवस्थालाई झैं उल्टाउनुपर्छ, नत्र भाषाकै नाममा अर्को अझ गहिरो द्वन्द्व निम्तिन सक्ने सम्भावनालाई नकार्न सकिंदैन भन्ने चन्द्रकिशोरको भनाइ ज्यादै गम्भीर छ । यसले भाषा र शब्दको मर्यादा गर्न मात्र होइन, धरातलीय यथार्थ महसूस गर्न र समयको आवाज सुन्न पनि शिष्टतापूर्ण आग्रह गरेको छ । संकीर्णता र हठवादबाट मुक्त भएर यो आवाज नसुन्ने हो भने वास्तवमै नेपाली भाषालाई भविष्यको दुर्घटनाबाट जोगाउन सकिने छैन । चेतना भया !

आदित्य नेपाल, काठमाडौं ।

भाषालाई बिगार्ने कि सपार्ने ?

(कान्तिपुर २०६८ चैत १४)

धेरै वर्ष अगाडि एउटा बैंकमा सबै सेवाग्राहीले देख्ने गरी ‘सके सपारौं, नसके नबिगारौं’ भन्ने विचार लेखेर टाँसेको देखेको थिएँ । त्यो विचार सबै क्षेत्रमा लागू भइदिनसके कुनै क्षेत्रमा पनि बेथितिका बाढीहरू निम्तिने थिएनन् । परन्तु वर्तमान नेपालमा सर्वत्र उक्त विचारको उल्टो यात्रा भइरहेको छ, जसले गर्दा भाषाजस्तो संवेदनशील विषयमाथि पनि फिंजाइएको सीमित विद्वान्को उर्दीले असीमित विद्वान् र पाठकहरूलाई गम्भीर असर परिरहेको छ ।

यसै सन्दर्भमा नेपाली भाषाका मर्मज्ञ र जागरूक प्रयोगकर्ताहरूले हालै जारी गरेको ‘ललितपुर घोषणापत्र–२०६८’ ले भाषा बिगार्नेलाई सचेत गराउँदै भाषा बिग्रेकोमा चिन्ताको चितामा जलिरहेका विद्वान् र सबै सर्वसाधारण पाठकहरूलाई शीतलता प्रदान गर्दै ब्यूँझाएको छ र नेपाली भाषा भत्ता पचाएर भाषाको संविधान जारी गर्न सत्तामा बस्न खोज्नेहरूको होइन, आफ्नो र परिवारको गाँस कटाएर निःस्वार्थ नेपाली भाषामा जीवन समर्पण गर्न खोज्ने प्रयोगकर्ताहरूको हो भन्ने कुरालाई प्रमाणित गरेको छ ।

प्रारम्भिक कदमका रूपमा जारी गरिएको ‘ललितपुर घोषणापत्र–२०६८’ मूलतः ह्रस्व र पातलो स को भाँडभैलोको विरुद्धमा उत्रिएको छ । संस्कृतेतर भए पनि लोकव्यवहारमा पचिसकेका ‘डीन, गरीब, नमूना, शहर, होश’ जस्ता सीमित शब्दलाई मात्र ‘तत्सम’ मानेर प्रयोग गर्नुपर्छ भन्ने मान्यताले यिनको ऐतिहासिक प्रयोग र महत्वलाई सुरक्षित गर्न सघाउ पुर्‍याए पनि भविष्यमा प्रयोग हुने अन्य नवआगन्तुक शब्दलाई ‘तत्सम’ नमानिने भएकाले यस मान्यताले नेपाली भाषालाई बिगारेर कुनै बेथिति निम्त्याउला भन्न सकिंदैन । शिष्ट परम्परा र क्षतिपूर्ति दीर्घीभवनका आधारमा दीर्घ लेखिंदै आएका ‘कीरो, तीतो, बीस, दूध, फूल’ जस्ता सीमित शब्दलाई यथावत् राख्नुपर्छ भन्ने मान्यताले हाम्रै आर्यपरम्पराको सम्मान गर्न एवं संस्कृत र प्राकृत हुँदै विकसित नेपाली भाषाको व्युत्पादन प्रक्रियालाई नै बुझ्न सघाउँछ । ‘जोश, वर्ष, स्वीकार, पूर्व’ जस्ता आगन्तुक वा तत्सम शब्दमा ‘इलो, एनी, नु, एली’ जस्ता विशुद्ध नेपाली प्रत्यय लगाउँदा पनि प्रकृतिलाई यथावत् राख्नुपर्छ भन्ने मान्यताले तत्सम वा अतत्सम दुवै किसिमका प्रत्यय लगाएर निर्माण गरिएका शब्दको प्रकृति पत्ता नदेखिएको अन्योल समाप्त भई प्रकृति पत्ता लगाउन सहज र सरल हुनेछ ।

यसरी नेपाली भाषालाई गुरुहरूको जंगी आदेशले होइन, प्रयोगकर्ताको कोमल व्यवहारले जीवन्तता प्रदान गर्न सम्भव छ भन्ने सन्देश दिएर पहिलो पाइलो बढाएको ‘ललितपुर घोषणापत्र–२०६८’ ले आगामी दिनमा पनि आफ्ना अविश्रान्त पाइलाहरू अगाडि बढाइरहनसके नेपाली भाषाको संवेदनशीलतामाथि सुनियोजित ढङ्गले प्रहार गरेर भाषालाई कमजोर र सङ्कुचित बनाइरहनेहरूले यथोचित जवाफ पाउँदै जाने थिए कि ?

डा. मतिप्रसाद ढकाल

सहप्राध्यापक, कालिका विद्यापीठ, गैंडाकोट, नवलपरासी ।

भाषा बिगार्नेको हात अस्वीकार

नागरिक दैनिक, ३१ भदौ २०७३ (शुक्रवार) .

काठमाडौं । नेपाली वाङ्मय प्रतिष्ठानले बिहिवार आयोजना गरेको महाकवि देवकोटा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि थिए, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती ।

साहित्य क्षेत्रमा योगदान पुर्‍याउने एक व्यक्तिलाई प्रदान गर्दै आएको पुरस्कार लगातार पाँच वर्षदेखि प्रदान हुन सकेको थिएन । २०६८ सालदेखि ०७२ सालसम्मका पाँच पुरस्कार विजेताको क्रमशः नाम बोलाइयो ।

२०६८ साल मनिराज जोशी, ०६९ प्राध्यापक कृष्ण गौतम, ०७० भुवनहरि सिग्देल, ०७१ डा.महादेव अवस्थी– क्रमशः मञ्चमा गए र पुरस्कार थापे प्रमुख अतिथिको हातबाट । २०७२ सालकी महाकवि देवकोटा पुरस्कार विजेता बुनु लामिछाने मञ्चमा पुगिन्, तर प्रमुख अतिथिको हातबाट पुरस्कार लिन अस्वीकार गरिन् । लामिछानेले भनिन्, ‘महाकवि देवकोटा, भानुभक्त जस्ता महान् साहित्यकारको नाम बिगार्नेको हातबाट महाकविकै नामको पुरस्कार कसरी थापौं ?’

महाकाव्य रचयिता लामिछानेले आँखाभरि आँसु पार्दै थपिन्, ‘मलाई माफ गर्नुहोला, म गंगा दाइको हातबाट पुरस्कार ग्रहण गर्दिनँ । अन्य जोकसैको हातबाट पुरस्कार लिन तयार छु, तर मेरा अग्रज पुर्खाले प्रयोग गरिआएको भाषा बिगार्न लागेको समूहका व्यक्तिको हातबाट पुरस्कार ग्रहण गर्न मेरो मनले मान्दैन ।’

लामिछानेले यसो भन्दै गर्दा उपस्थित सबैले उनको भनाइलाई समर्थन गर्दै डिल्लीरमण पुस्तकालयको हल तालीमय बनाए । प्रमुख अतिथि गंगाप्रसाद उप्रेती दयनीय देखिए । उप्रेतीको हातबाट पुरस्कार लिन अस्वीकार गरेपछि वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालले उनलाई पुरस्कार दिए । पुरस्कारको राशि १० हजार रूपैयाँ थियो ।

अहिले नेपाली भाषामा चर्को विवाद छ । संयुक्त अक्षरका खुट्टा काटेर भाषालाई अपांग बनाइयो भनेर भाषाप्रेमीहरू आन्दोलनरत छन् । खुट्टा काट्ने काममा उप्रेतीको पनि संलग्नता रहेको भन्दै लामिछानेले उनलाई अस्वीकार गरेकी थिइन् । कुलपति उप्रेतीले भने भाषामा आफूबाट कुनै गल्ती नभएको बताए ।