सागर गैरेको उपन्यास हो ‘मोहोर’ । उनले बाबाका हरेक क्रियाकलापहरूलाई आफ्नो कलमले उतारेका छन् । अर्थात् बाबाका आँखाबाट विगतदेखि वर्तमानका प्रत्येक घटना आफूले हेरेका छन् । बुझेका छन् । जान्ने चेष्टा गरेका छन् । संसारमा आमाका बारेमा थुप्रै साहित्य सिर्जना भएका छन् । बाबाका जिम्मेवारी र भूमिकालाई मसिनो गरी केलाएर मोहोरमा सागरले  उजागर गरेका छन् ।

मोहोर एक किसिमको बसाइसराइँको यात्रा उपन्यास हो । पाल्पाको गरनडाँडादेखि बर्दियाको ककौरासम्मको जीवनयात्राको भोगाई हो । यसमा समावेश भएका पात्रहरु, यहाँ समावेश सामाजिक, आर्थिक एवम् राजनीतिक परिवेशहरुले पाठकहरुलाई कही न कही पक्कै छुनेछन् ।

सागरका बाबा घनश्यामले पाल्पाको गरनडाँडा किन छाडे भन्ने कुरा त उपन्यासमा विस्तृत बयान गरेकै छन् । यहाँ बयान जरुरी छैन । तर नेपाली समाजमा बसाइसराइँ कहिलेसम्म निरन्तर चल्ने हो ? यसका बारेमा छलफल र विमर्श आवश्यक ठान्दैछु । यो चलन हिजोदेखि आजसम्म चल्दै आएको छ र भविष्यमा पनि रोकिने कुनै लक्ष्ण देखिदैन । यस्तै हो भने हिमाल र पहाडहरु रित्तिदै जाने र तराईमा खुट्टा राख्ने ठाउँ रहलाजस्तो लाग्दैन ।

गरनडाँडे घनश्यामले २०३८ सालमा बर्दिया बसाइसराइँ गरेका हुन् । पाल्पाको गरनडाँडा र बर्दियाको ककौरामा आएका परिवर्तनलाई उनका छोरा सागरले विस्तृत रूपमा उल्लेख गरेका छन् । सागरले सागरजस्तै फराकिला मनले आफूले भोगेजस्तै बयान गरेका छन् । नपढेका बाबाका मुखबाट कोहीकोही शब्द त आए होलान् र भन्ने लाग्न सक्छन् । उपन्यास हो स्वीकार गर्नुपर्छ । पहाडी बस्तीमा हुर्किएका सागरका बाबाले गाउँको मायालाई तराइका फाँटमा बीउ जस्तै छरेका छन् । स्नेहलाई छिमेकीसँग उमारेका छन् । ममताको कुन्यू लगाएका छन् सबै जातिसँग । लाग्छ यो मोहोर पढिरहँदा मैले कतै हलमा फिल्म त हेरेको छैन ? छर्लङ्गै हुन्छ ।

बर्दियाको बसाइले सागरको परिवारलाई सुख,सन्तोष त दिएकै छ तरपनि यादहरूले पाल्पा, गरनडाँडालाई उछिनिरहेका पाउँछौं । तराईका फाँटहरूमा उनका बाबा हिंडिरहँदा पहाडको चौतारोमा हावा खान पुगेकै छन् सम्झनामा । सागरका बाबामा नौलो चेतना देखिन्छन् तर कसरी ? उनमा पढाइले होइन, भोगाइले नयाँ नयाँ समस्याहरूसँग जुध्न सिकाएकै छन् । ठूलो परिवार, कम आम्दानी तर साहसिक यात्राले उनका बाबा घनश्यामलाई समाजमा सत्पात्रका रूपमा चिनाएकै छ ।

सागरले बाबाका राम्रा कुरालाई मात्र बढाइचढाइ गरेर मोहोरमा छापेका छैनन् । बरु उनले बाबाको तास खेल्ने, चुरोट, बिँडी, गुट्खाका लतहरूले गाँजेका कुराहरू समेत उल्लेख गरेका छन् । आमा रुकाले जुवाडेहरूलाई जुवा खेल्ने ठाउँ दिंदा आफू बच्चासँगै बाहिर सुत्नु परेको पीडाको सरलीकृत बयान उपन्यासमा छ । यो संसारमा मानिसका केही न केही कमजोरी हुन्छन् भन्ने कुरा उपन्यास पढेपछि अनुभूति हुन्छ ।

बाबाका खोटभन्दा पनि सयौं चोटहरूलाई सागरले खुबै मिहिन तरिकाले उल्लेख गरेका छन् उपन्यासमा । चौरासी पूजा सँगैको प्रसङ्गबाट सुरु भएको उपन्यास बाबाको मुखबाट सुनाइएको कथा हो । व्यथा हो । क्रन्दन हो । बन्धन हो । पीडा हो । सन्तानको खुसी र व्यवहार मिलनको चौतारो पनि हो । सन्तानका सुखका लागि घरका अभिभावकहरूले कतिसम्म दुःख भोग्न तयार छन्, कतिसम्म पीडा सहन तयार छन् भन्ने कुरा त उपन्यासका पानापानामा प्रायः उल्लेख छन् ।

बाबाले सन्चो नहुँदा देवी–देउतादेखि छोरो प्राप्तिका लागि पाल्पाको सत्यवती मन्दिरसम्म भाकल गरेको कुरालाई सागरले सलल बगाएका छन् अक्षरहरूमा । आमाले भैरवनाथ भाकेको कुरा पनि मज्जाको छ । हाम्रो समाजले देवी–देउतालाई भाक्ने कुरा यति बेला पनि सामान्य हुन सकेको छैन । समाजको रूप फेरि सार फेर्न सकेका छैनौं ।

उपन्यासमा गरनडाँडाको मात्र बयान छैन । ककौराको मात्र फेहरिस्त छैन । बरु सम्बन्धित स्थानहरूका चाडपर्व, रीतिरिवाज, परम्परागत चालचलनहरू, बिहे, व्रतबन्ध, पूजाआजा र मर्दापर्दाका कुराहरूलाई समेत उल्लेख गरिएका छन् । हेपाइ, खप्की, पिटाइ, चुटाइदेखि सरसल्लाह, कुराकानी र बेइमानीसम्मका विषयवस्तु ताजै छन् उपन्यासमा । खोला तर्दा पानी खाएदेखि गण्डकी तार्ने बोटेहरूका समेत बयान छन् । मकै, धान, गहुँ, कोदोका मात्र होइन कटहरको बयान सारगर्भित तरिकाले गरिएको छ ।

प्रकृतिमैत्री देखिन्छ उपन्यास घरीघरी । काटिएको कटहरको रुखलाई जोगाउन सकेको भए के हुन्थ्यो होला भन्ने प्रश्न तगडा लाग्छ । प्रकृति जोगाउन सक्नुपर्छ भन्ने तर्क बलियो छ । वनमा फुल्ने फूलहरूका बारेमा मात्र होइन मौसम अनुसारका वारी पाखाहरूमा फुल्ने फूलहरूले प्रकृतिमा दिएको सुन्दरताको बयान रहर लाग्दो छ । ऋतुको वर्णन मन पर्दो छ ।

सागरका बाबाका आँसु तुरिए होलान् लाग्छ घरीघरी तर उनका बाबासँग दुःख र आँसुको कारखाना नै रहेछन् । उनका बाबा व्यवहारले नरम छन् तर कर्तव्यमा कठोर लाग्छन् उपन्यासमा । लाग्छ उनका बाबा आरनबाट खारिएर तयार पारिएका धारिला हतियार हुन् । उनका बाबामा त्याग,तपस्या र भोगाइका शृङ्खला लामा छन् तर जीवनका हरेक हन्डरहरूलाई उनले छोट्याइदिएका छन् ।

यति बेलाका नौजवान युवाहरूले यो उपन्यास पढे भने पक्कै पनि ड्याड,फादर,बुवा हैन साँच्चिकै बा अर्थात् बाबा बुझ्ने छन् । त्यति मात्र होइन उति बेलाका समाज, आम्दानी, संस्कार, संस्कृति र चालचलन बुझ्न सक्नेछन् । पशुपालनदेखि घरव्यवहार बुझ्न सजिलो हुनेछ । परिवारको मेलमिलाप, सम्बन्ध, सहयात्रा र सहकार्य बुझ्न यो उपन्यासले हदैसम्मको सहयोग गर्नेछ ।

बाबाले आफ्ना सन्तानलाई आफ्नै जीवनको साँचो भोगाइ सुनाइरहेका छन् । सन्तानहरू बाबाका कथा सुनिरहेका छन् ।  मोहर पढ्दा रुपैयाँको काम छैन जस्तो भान हुन्छ । मोहरले मोहनी नै लगाएको छ । सबैलाई लगाउँछ भन्ने मेरो अनुमान न हो । उपन्यासमा प्रयोग भएका भाषा, उखान–टुक्काहरू मिठा र रसिला छन् । तराइ र पहाडमा बोलिने भाषा फरक छन् । भूगोल फरक भए पनि भावनाको डोरीमा बाँधिएका छन् उनीहरू । उपन्यासले नयाँपन दिन्छ । पढ्न मन लागिरहन्छ ।