यो न्यूयोर्क शहरको अति गोप्य कथा हो । किनभने न्यूयोर्कमा वेश्यावृत्ति गैरकानुनी छ । तर पनि र्वीन्सको Roosevelt Avenue भन्ने ठाउँमा पर्दा भित्र र बाहिर गरी दुई थरी वेश्यावृत्ति चल्छ । सडक किनार र गल्लीमा उभिएर ग्राहक खोज्ने र सटर भाडामा लिएर सस्तो मूल्यमा यौनसेवा दिने भएकाले यो क्षेत्रलाई अङ्ग्रेजीमा “Market of sweet heart“ भनिन्छ र अघोषित रेडलाइट एरियाको रूपमा चिनिन्छ ।
यौनकर्मीका बारे संसारमा धेरै बहस हुन्छन् । साहित्यमा लेखिन्छन्, कति कथा बन्छन् र बनाइन्छन् डकुमेन्ट्रीहरू पनि । तर तीनका ग्राहकहरूका विषयमा भने कमै छलफल गरिन्छ । तीनै रेडलाइट एरियाका ग्राहकहरूको कथा हो यो जुन कथा र साहित्यमा समेत ओझेलमा परेका र पारिएका छन् ।
कथाका पात्र एक, उसका नजरहरू अश्लील पटक्कै छैनन् । ऊ कुनै पनि महिलालाई जिस्क्याउने, लाइन मार्ने र जिब्रो पड्काउने वा अनलाइनमा बसेर हाई हेल्लो, के छ भन्दै बिस्तारै जिस्क्याउँदै हार्ट र चुम्बनका इमोजीहरू पठाउने काम कहिल्यै गरेको छैन र गर्दैन पनि । सबै महिलालाई सम्मान जनक व्यवहार गर्छ ।
तर कहिलेकाहीँ यौन प्यास लागेको बेलामा वेश्यागमन भने गर्छ । करिब डेढ तोलाको होला उसको साहिँली औलाको औंठी, चमक हेर्दा कि त उसको औंठी नयाँ हुनुपर्छ कि त सम्बन्ध नयाँ हुनुपर्छ । मात्र अनुमान लगाउन सकिन्छ ।
औंठीमा अङ्ग्रेजी अक्षर ‘R’ लेखिएको हुनाले ‘र’ बाट नाम आउने महिलासँग उसको बिहे भैसकेको हुनुपर्छ । ग्रोसरी गर्ने निहुँमा घर बाहिर निस्कँदा चोकमा धपक्क बल्ने गरी सिंगारपटार गरेर ग्राहकको प्रतीक्षामा उभिएका यौनकर्मीको हावाको स्पर्शले उसलाई कताकता भित्रभित्रै काउकुती लगाउन थाल्छ । दायाँबायाँ केही नसोची Roosevelt Avenue मा लहरै खुलेका मसाजसेन्टर मध्येको एउटाको ढोका भित्र पस्छ ।
एक सय डलरबाट बार्गेनिङ गर्दै पैँतालिस मिनेटको पैँसठ्ठी डलरमा कुरा मिलाउँछ । यो पैसा तिरिसकेपछि उसलाई चाइनिज मूलकी युवतीले मुस्कानसहित अर्को कोठामा लैजान्छे । अनि त्यसपछि त्यहाँ के हुन्छ0कसैलाई अत्तोपत्तो हुँदैन ।
कोठामा पर्दाभित्र मधुरो बत्ती बालिएको छ । ठ्याक्कै पैँतालिस मिनेटमा “धन्यवाद” भन्दै अरू २० र ५ डलरको दुई वटा नोट गरी २५ डलर बक्सिस दिएर दायाँ बायाँ हेर्दै फुत्त बाहिर निस्कन्छ । केही नभएको जस्तो गरेर सर्टको माथि पट्टिको दुई वटा टाँक फुकाएर छातीमा हावा खुवाउँदै ग्रोसरी स्टोरमा पुग्छ र घरमा चाहिने जति माल सामान किन्छ ।
फोनमा कसैसँग भनिरहेको छ, “ग्रोसरी स्टोरमा भयानक लामो लाइन रहेछ, फेरि साथीहरू पनि भेटिएर गफगाफमा भुलिएर अलिक ढिलो भयो है ।” घर फर्कन्छ । घर पुगेर उसले कतै केही नभएको जस्तो गरेर “मेरी डार्लिङ” भनेर श्रीमतीलाई अँगालोमा बाँधेर किस पनि गरिहाल्छ होला सायद । अरूका अगाडी राम्रो गतिलो देखिन खोज्नु उसको मात्रै नभएर धेरैको प्रवृत्ति हो । साइकोलोजीमा यो मानसिक रोग भित्र कै परिभाषा गरिन्छ ।
त्यस्तै, पात्र दुई – ऊ १६ घण्टा छ दिन मेसिन जस्तै काम गर्छ । छुट्टीको दिनमा साँझ परेपछि “Market of sweet heart“ एरियामा घुम्न जान्छ । एक राउण्ड लगाएर सबै sweetheart लाई सरसरती हेरिसकेपछि पुरानै ग्राहक समात्छ । यो एरियामा ऊ अभ्यस्त हुनुपर्छ सायद । किनभने आँखा सन्काएकै भरमा बाहिर ग्राहकको प्रतीक्षामा उभिएकी युवती भित्र जान्छे । ढोकाभित्र ऊसँग कुनै बार्गेनिङ पनि चल्दैन । सायद उसले छानेकी युवति आफ्नो पेशामा दक्ष र उत्कट होली ।
केहीबेर यौन प्यास मेटाइसकेपछि हप्ताभरि घण्टा हानेर कमाएको डलर मध्ये केही तिरेर बाहिर निस्कन्छ र नजिकै रहेको एउटा रेस्टुरेन्टमा पस्छ । मेनु पनि नहेरी Beef Chilli र एक पेग ज्याकडानियल ह्विस्की अर्डर गर्छ । खल्तीबाट किस्ताबन्दीमा भर्खरै किनेको आईफोन -१५ निकाल्छ अनि त्यहीँ वीर्य लतपतिएको हात पनि नधोईकन फेसबुकमा नेपालीमा कनीकुथी एउटा स्ट्याटस लेख्छ – “नेपालमा हिन्दु राजतन्त्र कायम हुनुपर्छ । गाई खान पाइँदैन ।” अनि एकैछिनमा अर्को स्ट्याटस लेख्छ, “टिकटक बन्द गरेको राम्रो । छोरीचेली बिग्रिए ।”
यो भूमिगत र आकासे दुवै ट्रेन स्टेसन बाहिर रहेको रेडलाइट एरियाको दृश्य हो । यो एरिया घुम्न जाने जो कोहीले पनि देख्न सक्छ । अहिले चाहिँ न्यूयोर्कमा जाडो मौसम चलिरहेको छ । जाडोमा हुडी र टोपी अनि मास्क लगाएर सुटुक्क वेश्यालयमा पस्ने ग्राहकहरूको गोप्य कथा पनि हो । यसो पर्दा खोलिएको बेला आक्कलझुक्कल कोठाभित्र चिहाउँदा मधुरो बत्तीमा मसाजका लागि राखिएका ससाना बेड, साइड टेबुलमा चाइनिज अक्षरमा लेखिएका लोसनहरू छन् । तर ती सामग्री कहिल्यै प्रयोगमा आउँदैनन् । संसारका सबै देशका मानिसहरू यो रेडलाइट एरियाका ग्राहक बन्न पुग्दा रहेछन् ।
हुन त मैले नेपालमा लोग्नेमान्छेहरू लुकिलुकी भट्टीपसल छिरेको चाहिँ पटक पटक देखेकी थिएँ तर रेडलाइट एरियामा ग्राहक बनेर ढोकाभित्र छिरेको भने देखेकी थिइनँ ।
उहिल्यै गाउँमा एउटी हजुरआमाले आफ्नी नातिनीको बिहेमा बेहुली अन्माउनु अगाडी अर्ती बुद्धि दिएको सुनेकी थिएँ, “लोग्नेमान्छे ओछ्यानमा असन्तुष्ट भयो भने बाहिर नजर लगाउँछ र वेश्यागमन गर्छ अनि स्वास्नी छोडिदिन्छ । लोग्नेसँग नाइँ नास्ति कहिल्यै नगर्नू, सहनू ।”
बेहुलीको सिंगारिएर चम्किलो पारिएको अनुहारमा ओढाइएको घुम्टोभित्र भविष्यमा हुने थुप्रै पीडाहरू लुकेर बसेका हुने रहेछन् भन्ने कुरा मेरो कलिलो मस्तिष्कमा गढेर बसेको थियो । तर रेडलाइट एरियाका ग्राहक देखेपछि ती हजुरआमाले भनेको कुराको याद आइरहन्छ । सायद ती हजुरआमाले रिसर्च गरेरै नातिनीलाई अर्ती उपदेश दिएकी होलिन् ।
त्यति मात्रै नभएर यो रेडलाइट एरियामा नामी नामी प्रतिष्ठित पुरुषहरूको समेत कपडा उतारिन्छ । रोचक कुरा त के छ भने, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्न स्टारसँग यौन सम्पर्क गर्ने गर्थे र यो समाचार बाहिर आउन नदिन ठूलै रकम खर्चेका थिए । तर त्यो कुरा बाहिर आएरै छाड्यो । धनी र पैसावालाहरूको धेरै महिलासँग सम्बन्ध हुनु सायद सामान्य कुरा होला ।
हुन त यौनलाई नैतिकता र प्रेमसँग जोडेर नहेर्ने हो भने, यो जैविक र मानसिक आवश्यकता मात्रै हो । बिहे एउटा सामाजिक संस्कार हो । त्यो संस्कार भित्रको प्याकेजमा आर्थिक, शारीरिक, मानसिक, भावनात्मक र परम्परा लगायतका थुप्रै कुरा जोडिएर आउँछन् । बिहे भन्ने संस्था नै सामाजिक सन्तुलन कायम राख्न र मानिसहरूलाई पशु झैँ छाडा हुन नदिन खडा भएको हो । तर रेडलाइट एरियाका ग्राहकहरू हेर्दा विवाह सम्बन्ध विश्वासिलो र स्वास्थ्यकर बनेर कसरी टिकेको होला जस्तो लाग्छ । कतै यो विवाह संस्था फेल भइरहेको त छैन ?
त्यति मात्रै नभएर यसरी वेश्यालयमा कपडा उतारिएर नग्न बनाइएका ती पुरुषहरूले दिने माया र खुशी चोखो नभएर जुठो पनि हुने रहेछ । अनि ती लोग्नेमान्छेहरू फिक्का पनि हुने रहेछन् ।
जीवनमा पटक पटक मैले सुनिरहेको कुरा हो ‘आइमाई मान्छेको विश्वास /भरोसा हुन्न’। तर लोग्ने मान्छेको चाहिँ खै त विश्वास ? बाटो हिँड्नेहरू प्राय: सबै हतारमा हुन्छन् । हतारिँदै भिडभित्र छिरेर हराएको एक्लो लोग्ने मान्छे बाटो हिँड्दा हिँड्दै अर्की महिलाको गोरो, सुडौल शरीर र स्तनसँग आकर्षित हुँदो रहेछ र भड्किँदो पनि रहेछ । अनि श्रीमती / प्रेमीकाको मन र व्यवहारदेखि वाक्क, दिक्क र थकित भएकाहरूको मन बिसाउने एउटा चौतारी रहेछ – “Market of sweet heart“ । एक्ला आप्रवासीहरूको लागि त झनै मन बहलाउने ठाउँ होला ।
बेडबाईबल रिसर्च सेन्टरका अनुसार संसारमा वेश्यावृत्ति पेशामा संलग्नहरूको सङ्ख्या ५२ मिलियन छ भने अमेरिकामा १-२ मिलियन रहेको जनाएको छ । हरेक दशजना पुरुषहरू मध्ये एकजना पुरुष वेश्यालयको ग्राहक बन्न पुग्दो रहेछ । र सबैभन्दा अनादर गरिएको पेशा पनि वेश्यावृत्ति नै हो ।
अमेरिकामा मात्रै वर्षेनी झण्डै १५ अर्ब डलर बराबरको देहव्यापार कारोबार हुन्छ । मान्छेहरूको झगडाका अनगिन्ती शीर्षकहरू मध्येको मुख्य विषय कि त सम्भोगबाट हुन्छ कि त सम्पत्तिबाट । सायद समाजले सीमान्तकृत पारिएका वर्ग पनि यौनकर्मीहरू नै हुन् । तर लुकिछिपी उनीहरूकै कम्बलभित्र छिरेर वा दिनदहाडै अँगालोमा च्यापिएर सुखद अनुभूति गर्नेहरूको जमात पनि निक्कै ठूलो नै हुँदो रहेछ।
जब साँझ पर्न थाल्छ अनि एक एक गर्दै Roosevelt Avenue को Market of sweet heart एरियामा sweet heart हरूको बजार लाग्न थाल्छ । तीनका ग्राहकहरू आइपुग्छन् कोही गाडी लिएर, कोही बस/ ट्रेनमा त कोही पैदल । ग्राहकहरू हतारहतार तानातानमा पर्छन् र मोलतोल हुन्छ । अँध्यारोको मौका छोपेर कति त सडकमै पनि समायोजन भैरहेका हुन्छन् । सायद उनीहरूले जीवनलाई मस्तसँग भोग गरेको भन्ने ठान्दा हुन् ।
रेडलाइट एरियामा यौन कर्मीहरू आत्मविश्वासले भरिपूर्ण र निर्धक्कसँग टाउको ठाडो पारेर ग्राहकहरू बोलाइरहेका हुन्छन् । तर तिनका ग्राहकहरू प्राय: टाउको लुकाएर भित्र पस्छन् । सायद इज्जतको डरले होला ।
र अन्त्यमा … गीताका अनुसार मान्छेलाई दुःख दिने पाँच कर्महरू काम, क्रोध, लोभ, मोह र अहङ्कार हुन् । मान्छेलाई जसरी भोक तिर्खा लागिरहन्छ, यौन प्यास पनि जागिरहन्छ । आफ्ना अतृप्त चाहना पूरा गर्दा कतिका आफ्ना भइरहेका सुमधुर सम्बन्धहरू पनि एकैछिनमा ध्वस्त भैरहेका होलान् । कतिपय आजीवन ढाँटछल गरेर सम्बन्ध टिकाइ राख्न पनि सफल होलान् ।
तर रेडलाइट एरियाका ग्राहकहरू बर्षेनी जतिसुकै बढिरहेका भए पनि गाली खाने भनेको तिनै यौनकर्मी हुन् । नियम कानुनलाई समेत चुनौती दिएर भैरहेको यो काममा प्रशासनले कुनै दिन नियन्त्रण गर्यो भने यिनका ग्राहकहरूको चाहिँ के हाल होला ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










