अघिल्लो साँझदेखि पानी पर्ने र रोकिने क्रम चलिरहेको थियो । मौसम सफा नभए पनि मैले काठमाडौंका लागि यात्रा प्रारम्भ गरेँ ।
बसमा चढेर आफ्नो सिट खोजें । बसमा हिँड्दा कहिलेकाहीँ बान्ता हुने भएकाले मैले झ्यालतर्फको सिट लिएको थिएँ तर मेरो सिटमा भने अर्कै केटी बसिसकेकी थिई । मैले आफ्नो टिकट देखाएँ, आफ्नो सिट छोड्न अनुरोध गरें ।
“उः त्यहाँ पनि सिट खाली छ, त्यहाँ बसे पनि हुन्छ ।” निकै लापरवाही साथ केटीले भनी । मैले पनि मेरो सिट चाहिने कुरामा अड्डी लिएँ ।
“आफ्नो कार भएझैं भनेकै सिट चाहिने…”, केटी फत्फताइ अनि एकपटक मतर्फ हेरेर नराम्ररी अनुहार कुच्याइ । उसको व्यवहार देखेर मलाई मनमनै हाँसो उठ्यो । बस चल्नअघि ऊ मेरो सिट छोडेर आफ्नो सिटमा (मेरै बगलमा) बसी ।
बसले बुटवल छोड्यो । रामनगरमा आर्मी चेकिङ्गपछि बसले गति लियो ।
‘तपाँई कहाँ पुग्ने ?’ पहिलो पटक उसले कुरा कोट्याई ।
“काठमाडौं ।” मैले छोटो उत्तर दिएँ ।
“ओह..” उसले पीडा महसुस गरी अनि अर्कोतर्फ फर्किएर बिस्तारै पीडा पोखी “..लंग जनीं विथ ओल्ड म्यान, हाउ बोरिङ जर्नी..!”
ऊ मभन्दा धेरै कान्छी जस्ती त देखिन्नथी तर पनि उसले मलाई बुढो मान्छे भनिरहेकी थिई । उसले मलाई ओल्डम्यान विशेषण दिँदा मनमनै रिस पनि उठ्यो ।
दौडिरहेको बस के भएर हो कुन्नि एक्कासी रोकियो । सबै यात्रुले सन्तुलन बिगारे । बसको झड्काले गर्दा सम्हालिन खोज्दा खोज्दै पनि म सहयात्री केटीतर्फ ढल्किन पुगेँ ।
“सिधा बस्न सकिन्न ? टाँसिनै आउन पर्छ र ?”, केटीले अनावश्यक रिस देखाई ।
“म मात्रै ढल्केको हो र ? बस नै ढल्केपछि म के गर्ने ?” मैले पनि रिसाएरै भनेँ ।
उसले हामी दुईको बीचमा आफ्नो सानो झोला राखेर सिमाना छुट्याई ।
सायद मसँग बस्नु परेकोले होला केटी निकै छट्पटाइरहेकी थिई । बारम्बार उसले बसमा खाली सिट खोजिरहेकी थिई । बसका पूरै सिट भरिएका थिए, त्यसैले ऊ अर्को सिटमा सर्न पाइन । बसले सुनवल पार गयो ।
सिमसिमे पानी परेकाले झ्यालबाट बसभित्र बाछिटो पस्यो । त्यसैले मैले झ्याल बन्द गरें ।
“झ्याल किन बन्द गरेको ?”– केटीले उत्तिखेरै प्रतिक्रिया जनाई – “गर्मीले मर्नै लागिएको छ ।”
मैले बाछिटो पसेकाले झ्याल बन्द गरेको कुरा बताएँ । “पानीले भिजाउँछ भनेर डराउने मान्छे पनि किन झ्याल नजिक बस्न हत्ते गरेको नि ?”– उसले चर्को स्वरमा भनी । वल्लोपल्लो सिटका मान्छेले टाउको घुमाएर हामीलाई हेरे । उसको रुखो व्यवहार देख्दा मलाई निकै रिस उठ्यो । तर पनि ऊसँग बढी वादविवाद गर्नु आवश्यक लागेन । चुप लागेर निदाएको अभिनय गरें । अभिनय गर्दागर्दै म साँच्चै निदाएछु । उठ्दा बसले कावासोती नाघिसकेको थियो । बसमा केही यात्रीहरू थपिएका थिए । तीमध्ये उभिएको एक यात्रीसँग मसँगै बसेकी केटीले निकै मिठासपूर्ण गफ गरिरहेकी थिई ।
“यस्तो बोरिङ जर्नी त कहिल्यै भएको थिएन ।”– केटीले आफ्नो नजिकै उभिएको केटालाई सुनाई ।
“किन ?”– केटाले उत्सुकता देखायो ।
केटी मतर्फ फर्किई । मैले उनीहरूको गफ सुन्न निदाएको अभिनय गरेको थिएँ, तर केटीले म निदाएको नै ठानी । “मलाई ओल्ड म्यानसँग ट्राभल गर्न निकै बोर लाग्छ”– उसले मतर्फ सङ्केत गर्दै भनी ।
“जर्नीमा राम्रो कम्पनी भेटिएन भने मलाई पनि बोर फिलिङ्ग हुन्छ” – उभिएको केटाले नेपाङ्ग्रेजी भाषामा केटीको कुरामा समर्थन जनायो ।
बस दौडिरहेको थियो । केटा र केटीको गफले घनिष्टता प्राप्त गरिरहेको थियो । अनि मैले निदाए झैँ गरी उनीहरूको कुरा सुनिरहेको थिएँ । केटीले घुमाईफिराई पाका मान्छेहरूको विरुद्धमा बोलिरहेकी थिई, अनि केटाले उसको कुरामा घिउ थपिरहेको थियो ।
“मलाई त ओल्ड म्यानहरूको नियत नै खराब लाग्छ ”– केटीले भन्दै थिई “ओल्ड म्यान आर डेन्जर देन हङ्ग्री क्याट ।”
“हङ्ग्री क्याट होइन हंग्री डग”– केटोले बीचमै थप्यो । दुबैजना गलल्ल हाँसे । मलाई उनीहरूको वार्तालाप पटक्कै मन परेको थिएन, त्यसैले निदाएको अभिनय गर्न छोडें ।
“कहाँ आइपुग्यो ?”, म निदाएको छैन भन्ने जानकारी दिन निरर्थक प्रश्न गरेँ ।
“बोर्डहरूमा लेखेको छ है ठाउँको नाम……”, केटीको सङ्केत सडकछेउका पसल अगाडि राखिएका साइनबोर्डतर्फ थियो ।
म उठेको थाहा पाएर उनीहरूले गफको विषयवस्तु बदले । नारायणगढ पुगेपछि नजिकैका दुई सिट खाली भए । मसँग बसेकी केटी र उभिएको केटो ती दुई सिटमा गएर बसे । मसँग बस्दा झर्को मानेकी केटी नयाँ केटोसँग बस्न पाउँदा भने प्रफुल्लित थिई ।
रामनगर पुग्दासम्म उनीहरु दुबै निकै घनिष्ट भैसकेका थिए । रामनगरमा खाना खान बस रोकिँदा दुबै ओर्ले । एकै ठाउँमा बसेर दुवैले खाना खाए । केटोले पैसा तिर्यो । त्यसको साटोमा केटीले चाउचाउ, बिस्कुट र जम्बो कोक किनिदिई ।
केहीबेरको विश्रामपछि बस फेरि मुग्लिङ्गतर्फ हुँइकियो । मलाई ती केटाकेटीहरूको व्यवहार निकै रोचक लागिरहेको थियो । मेरो ध्यान उनीहरूतर्फ नै केन्द्रित थियो ।
केटी निस्फिक्री केटोसँग टाँसिएकी थिई । केटोले कुरा गर्दा बारम्बार केटीको गाला नजिक आफ्नो ओठ पुर्याउँथ्यो । कहिलेकाहीँ केटोले केटीको कपाल तान्थ्यो, सुस्तरी कान बटाथ्र्यो अनि मायालु पाराले केटीको नाक समातेर हल्लाउन पनि पछि पर्दैनथ्यो । यसो गर्दा केटीले प्रतिवाद गर्दिनथी ! केही लजाउँथी मात्र । उनीहरूको व्यवहार र कुराकानी सबैका लागि रोचक बनिरहेको थियो ।
सिमसिमे पानी त परिरहेकै थियो । मुग्लिङ्ग पुग्दा कालो बादलले आकाश डम्म ढाक्यो । अनि बिस्तारै घनघोर बर्सा सुरु भयो । कृष्णभीरमा पैह्रो गएर बाटो बन्द हुने त होइन भनेर बसभित्र गाइँगुइँ चल्यो ।
मुग्लिङ्गमा धेरै मान्छे ओर्लिए र केही मान्छे चढे । बस फेरि आफ्नै गतिमा हुँइकियो । मुग्लिङ्ग पुगेपछि भने केटोको व्यवहारमा केही परिवर्तन आयो । उसले घरिघरि बसको ढोकातर्फ हेथ्र्यो । ढोका नजिकै मुग्लिङ्गबाट चढेकी एउटी युवती बसेकी थिई । सम्भवतः केटोको ध्यान त्यही युवतीतर्फ तानिएको थियो । केटो र केटीबीच त्यति सारो बोलचाल भएन । कुरिनटार पुग्दासम्म केटो धेरै पटक तन्कियो, धेरै छटपटायो । तेल भर्न बस रोकिएको मौका पारेर केटो पनि बसबाट ओर्लेझैँ गर्यो । बस चल्यो, तर केटो आफ्नो सिटमा फर्केन । बसले केही किलोमिटर दूरी पार गर्दा केटोले अघिल्लो सिटमा बसेकी यवतीसँग बोलचाल बढाइसकेको थियो । विवश केटी केटोको बदलिँदो व्यवहार हेर्न बाध्य थिई ।
मैले केटीलाई जिस्काउने पाराले हेरें अनि मनमनै उसलाई भने – खुच्चिङ्ग खाइस् ।
बर्षाले उग्र रुप देखायो । पहिरोले बाटो थुनिन्छ कि भन्ने त्रासले सबैजना डराइरहेका थिए । कृष्णभीर पुग्नै परेन । डाहकी खोलामा पुग्दा सानो पहिरो खस्यो । बस अगाडि जानै पाएन । म चढेको बस रोकिएपछि त्यस पछाडिका सबै बस रोकिए ।
घनघोर पानी परेकाले ओर्लने कुरा आएन । म सिटमै बसेर बाटो खुल्ने प्रतीक्षा गर्दै युवती र केटोका व्यवहार हेरिरहें ।
समय बित्दै गयो । काठमाडौं पुग्ने बेलासम्ममा त्यही रोकिनु पर्यो । डोजर आएर पहिरो हटाएपछि बस अगाडि बढ्यो तर यात्रा लामो हुन पाएन अगाडि झन ठूलो पहिरो गएको रहेछ । बस फेरि रोकियो ।
“यो पहिरो कटेपछि उता बस पाइन्छ रे !”, बसभित्र कसैले यो खबर सुनायो । धेरै यात्रीहरू बसबाट ओर्लेर हिँड्न थाले ।
“गए पनि के गर्नु, कृष्णभीरमा पहिरो गएको रैछ भने व्यर्थे दुःख पाइन्छ ।”, मैले सबैले सुन्ने गरी भनें । मलाई हिँडेर पहिरो कटे पनि काठमाडौं पुगिएला जस्तो लागेन ।
अरुसँगै केटो पनि ओर्ल्यो । ‘जाने होइन ?’ भनेर केटोले एकपटक केटीलाई सोधेको थियो तर केटीले जवाफ दिनुअघि नै ऊ अर्की युवतीसँग बाहिरिसकेको थियो । केटीले ओर्लने जाँगर देखाइन । बसमा केटी, म, ५–६ जना अरु यात्रु र बसका कर्मचारी मात्र बाँकी रह्यौं । केहीबेरमा बस नजिकै सानो पहिरो खस्यो । एउटा ढुंगा उछिट्टिएर बसको झ्यालको सिसा फुट्यो । नजिकको सिटमा कोही नभएको हुनाले दुर्घटना हुन पाएन ।
बसमा बसिरहनु झन जोखीमपूर्ण देखियो । प्रहरी आएर सकेसम्म छिटो त्यो ठाउँ छोड्न सुझाव दियो । त्यसपछि सबै आत्तियौं । बस फर्काउन मिल्ने नभएकाले हिँड्नुको विकल्प नै रहेन ।
बसबाट सबै ओर्लियौं । सबैजना हिँडिसक्दा पनि केटी बसको ढोका नजिक उभिइरही । ऊसँग दुईवटा साना ठूला झोला रहेछन्, त्यसैले ऊ उभिएकी रहिछ ।
“बैनीको झोला रहेछ । दुइटा झोला कसरी लग्नुहुन्छ ? बसमा छोड्नु भएन ।”, कन्डक्टरले सुनायो । मलाई उसको अवस्था देख्दा दया लाग्यो । उसले नराम्रो सोचे पनि मैले उसलाई दुःख पाएको देख्न उचित लागेन ।
“मेरा सामान छैन । यौटा झोला म बोकिदिउँला, हुन्न ?”, मैले केटीलाई सुनाएँ अनि उसको जवाफको प्रतीक्षा नगरी झोला उठाएँ । पानी परिरहेकै थियो । छाता ओढे पनि छाताले ओत दिन सकेको थिएन । केटी र म सँगसँगै हिँडेका थियौं तर एक आपसमा बोलेका भने थिएनौं ।
“अब के गर्छ्यौ ?”, मैले नै मौनता भङ्ग गरें ।
“बुटवल फर्कन्छु ।”, उसले छोटो उत्तर दिई ।
“म पोखरा जान्छु । बाटो खुले यतैबाट जान्छु नत्र प्लेनमा भए पनि काठमाडौं जानु पर्ला ।”, आवश्यक नभए पनि कुरा लम्ब्याउन उसलाई सुनाएँ तर उसले प्रतिक्रिया जनाइन ।
करिब ४५ मिनेट हिँडेपछि बुटवल फर्कन लागेको बस फेला पर्यो । ऊ बसमा चढेर गई । जाने बेलामा धन्यवादसम्म पनि भनिन ।
“कस्ती घमण्डी केटी ?” मैले आफैँसँग भनेँ ।
झमक्क साँझपर्दा म मुग्लिन पुगेँ । भोलि दिउँसोसम्म बाटो खुल्न सक्छ भन्ने हल्ला चलेकाले पोखरा फर्कन मन लागेन । निकै मेहनत गरेर होटलमा यौटा कोठा खोजेँ । पानी पर्न रोकिएकाले भोलिपल्ट बाटो खुल्छ भन्ने विश्वास लागेको थियो तर व्यर्थै होटललाई पैसा तिर्न पर्ने भयो भनेर दिक्क पनि लागेको थियो ।
खाना खाएर बाहिर सडक घुम्न निस्कँदा सकी नसकी झोलाहरू बोकेर बाटोमा हिँडिरहेकी उही केटीलाई भेटें ।
“बुटवल गइनौ ?”, सोधें ।
“पहिरोले बुटवल जाने बाटो पनि बन्द भएछ । यहाँ बस्न खोजेको होटलमा खाली कोठाहरू नै रहेनछ ।”, यसपाली भने ऊ राम्ररी बोली ।
“तपाईँ जानु भएन ?”, म बोल्न नभ्याउँदै उसैले सोधी । मैले छोटकरीमा आफ्नो स्थिति बताएँ ।
“मैले के गर्नेहोला ?”, उसले सुस्केरा छोड्दै भनी । बसमा उसले गरेको व्यवहार सम्झिँदा त उसलाई वास्तै नगरौं जस्तो लागेको थियो । तर मानवीय नाताले त्यसो गर्न दिएन । उसलाई समस्याको कुनै समाधान निस्केला भनेर आफू बसेको होटलमा लिएर गएँ तर त्यहाँ कुनै कोठा नै पाउन सकिएन ।
“मेरै कोठामा सुते हुन्न ।”, मैले प्रस्ताव राखें । मेरो प्रस्तावको उसले गलत अर्थ लगाउली भनेर झटपट भनें, “मसँग स्लिपिङ ब्याग छ । म बाहिर बरण्डामा कतै सुतिहाल्छु । तिमी कोठामा सुते हुन्छ ।”
बाध्यात्मक स्थिति थियो । केटीले नाइँ भन्न सकिन । खाना खाईवरी केटीलाई कोठामा पुर्याएँ । म कोठाबाट जोडिएको सानो बरण्डातर्फ लागें ।
“ढोकामा चुक्कुल लगाएर सुत्नु ।”, उसलाई मैले अह्राएँ ।
“अचेलको जमानामा कसैको नियत ठिक हुँदैन । अझ ओल्ड म्यान आर डेन्जर देइन हङ्ग्री क्याट ।”, उसले बसमा भनेको वाक्य उसैलाई सुनाएँ । केटीले अँध्यारो मुख लगाई । बाहिर निस्केर मैले ढोका ढप्काइदिएँ ।
जसोतसो बाहिर रात कटाएँ । म उठ्दासम्म केटी भने उठेकी थिइन । मैले ढोका ढक्ढकाएँ ।
“को हो ?” भित्रबाट आवाज आयो ।
“म ओल्ड म्यान ।”, मैले हाँस्दै भनेँ । अनि चिया पिउन बाहिर निस्कें ।
काठमाडौंतर्फको बाटो ४–५ दिनसम्म खुल्न नसक्ने जानकारी पाएँ । बुटवलतर्फको बाटो भने राती नै खुलिसकेको रहेछ । मैले यो कुरा केटीलाई सुनाएँ ।
केहीबेरपछि केटी र म बाटोमा थियौं – ऊ बुटवल फर्कने अनि म पोखरा जाने बस पर्खेर ।
“मैले तपाईलाई धेरै दुःख दिएँ हैन ?”, उसले सुनाई ।
“हो नि ।” मैले हाँस्दै भने ।
“मान्छेबाट गल्ती भैहाल्छ ।”, उसले शुष्क स्वरमा भनि “..प्लिज फरगिभ मी ।”
म केही बोलिनँ । बुटवल जाने बस भेटियो ।
“ह्याभ अ नाइस जर्नी ।”, केटी बसमा चढेपछि मैले भनेँ । केटी मुसुक्क हाँसी ।
बस चल्न सुरु गर्यो ।
“गुडबाई ओल्ड म्यान..” हाँसी हाँसी उसले हात हल्लाई । यसपाली उसले ओल्ड म्यान भन्दा मलाई रमाइलो लाग्यो ।
“बाई… ” मैले हात हल्लाएँ । बसले गति लियो । अनि केही क्षणमै नारायणगढ जाने बाटोतर्फ मोडिएर आँखाबाट ओझेल भयो ।
मैले उभिएर बस गएको दिशातर्फ हेरिरहेँ । यात्रा निरर्थक बनेको थियो तैपनि त्यति दुःख लागेको थिएन ।
“ओल्ड म्यान….” यौटा रमाइलो विशेषण पाएको थिएँ मैले ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










