मोमिलाका निबन्धहरूमा बौद्धिकताको उच्चतम प्रदर्शन छ । उनी जीवनका मौलिक प्रश्नहरूको उत्तर खोज्ने अथक प्रयास गर्छिन् । यस सङ्ग्रहमा मोमिलाको काव्यात्मक जीवनदृष्टि पर्गेल्न चाहनेले यसलाई दोहोर्याएर-तेहर्याएर पढ्नुपर्छ । उनको कल्पनाशीलता अनुपम र अद्वितीय छ । तर्कप्रधान दार्शनिक चेतना, भावप्रधान काव्यिक चेतना र अस्तित्वमै जीवनको अर्थमय उत्सव खोज्ने आस्तित्विक चेतना उनको अभिव्यक्तिको मूल विलक्षणता हो ।
यसमा हृदय र बुद्धिको सुन्दर समन्वय छ । यस कृतिमा जगतमा मानव अस्तित्व, जागरुकता, स्वतन्त्रता र दायित्वको साङ्गोपाङ्ग विवेचना छ । ‘म’को गहिरो बोध र वर्णन छ यहाँ । जिउनुको सार्थकता र निरर्थकताको गहिरो अन्वेषण छ । यसमा अल्बेयर कामुको प्रसिद्ध भनाइ ‘जीवन निरर्थक छ, तर त्यसलाई जिउनुपर्छ’ भन्ने उक्ति चरितार्थ भएको छ । मोमिलाले प्राज्ञिक बहसको एउटा गहन प्रसङ्ग खडा गरेकी छन् I परन्तु उनकै शब्दम ‘आकर्षक विज्ञापनसहित हिँड्न नसके गुणात्मक स्रष्टा र सिर्जना दुवै ओझेल पर्छन् ।’
मोमिला खुला आकाशमा उड्दी पक्षीझैं अराजक छन् । उनको शाब्दिक उडानमा कुनै निर्दिष्ट दिशा छैन । किन्तु त्यही अराजकता नै सृजनशील अलङ्कार बनेर आउनु उनको लेखकीय विजय हो । लेख्छिन्, ‘हुन त ढोका बन्द नै रहे पनि अर्थात यात्रामा निषेधहरूको जुलुस नै उर्लिएर पहाड उभिए नि मोडिएर बग्दोरहेछ जिन्दगी….। सत्यमा आफ्नो वर्तमान खोज्दा – नखोज्दै अतीतको हिस्सा बनिसकेको म, अब मात्र भविष्यको वर्तमान बन्न चाहन्छु ……।’ यसरी पङ्खफुका भएर स्वच्छन्द लेख्ने हिम्मत मोमिलामा मात्र छ । उनी एउटै वाक्यभित्र जैवनिक अस्तित्वका सुख, दु:ख, पीडा, उत्सव र आनन्दका घुम्ती खडा गर्न निपुण छन् । अत्यन्तै लामा वाक्य लेखेर पाठकलाई सास्ती दिन खप्पिस छन् उनी । तर उनको पाठक त्यो निर्मम सास्ती सहन सहर्ष तयार हुन्छ । तैपनि सास्तीमय प्रश्नहरू त बाँकी नै रहन्छन्……।
निर्मम दु:खको सीमान्तमा पुगेर पनि फेरि माथि उठ्न सकिन्छ भन्ने सन्देश मोमिलाको यस कृतिको सकारात्मक निचोर हो । बुझ्न कठीन लाग्दालाग्दै पनि सन्देशलाई ट्याप्प टिप्न सकिन्छ यसमा । यस कृतिमा जिउने प्रेरणा छ । दु:खमय संसारलाई नृत्यमय बनाउने आह्वान छ । समग्र कृति एउटा भुक्तभोगीका अनुभूतिहरूको सार जस्तो लाग्छ । ‘मैले बाँचेको धर्तीका असङ्गति – विसङ्गतिहरू, बेतुकका प्रहारहरू, घनघोर शून्यताहरू, बन्धनहरू, अँध्याराहरू एवं सीमान्त पीडाहरूसँग लड्दै भिड्दै मुक्त भएर आज आफूलाई देवतारूमाझ’ पाउनुमा आस्तित्विक सङ्घर्षको महती योगदान छ जस्तो लाग्छ ।
मोमिलाका शब्दमा गजबको जटिलता छ । निबन्ध विधालाई पढिदिने पाठकको घनघोर अनिकालको यो समयमा छिचोल्न कठीन पहेलीझैं लाग्ने वाक्यहरूको संयोजन अजब लाग्छन् । मोमिलाका नागबेली जस्ता अभिव्यक्तिहरू दुर्लङ्घ्य जङ्घार जस्ता छन् । उनलाई पढ्न सजिलो छ, किन्तु बुझ्नका लागि फेरि पढ्नुपर्छ । मोमिलाकै शब्दमा ‘घृणाको आशङ्कामा प्रेमशून्य रहन पनि कहाँ सकियो र ।’
कतै आशा त कतै निराशा, कतै सौम्यता त कतै उन्मत्तता, कतै राग त कतै वैराग्य, कतै जय त कतै पराजय । यिनै विरोधाभासी विवाद र संवादलाई उनेर सुन्दर माला तयार गर्न सक्नु नै मोमिलाको रचनात्मक वैभव हो । उनको रचना बस या रेलयात्राको एक बसाइमा पढी भ्याएर बिर्सने ‘टाइम पास’को फिराकमा रहेका पाठकका लागि पाठ्यवस्तु बन्न सक्दैन । उनले पस्केका रचनारूपी दहीभित्र नौनी छिपेको हुन्छ । त्यो अदृश्य रूपमा गर्भस्थ भएर बसेको सारलाई मन्थन गर्न सक्नेका लागि उनका हरेक वाक्य अमृतवाणी हुन् ।
मोमिलामा प्रखर अस्तित्ववादी चेतना छ । रहस्यझैं लाग्ने उनका उक्तिहरू जब बुझिन्छ, अनि ती स्वभावतः सूक्ति जस्ता लाग्न थाल्छन् । मोमिला लेख्छिन्, ‘एउटा गजब र सुन्दर सादृश्य । पछार्ने – उछिन्ने जीवनको अस्वस्थ भागदौडमा, मान्छेको घिनलाग्दो बौद्धिक प्रदूषणमा भ्यानगन, विथुवन, कामु, मोजार्ट, पारिजात, शङ्कर, सार्त्र, सिमोन, निर्मल वर्मा, अमृता जस्तालाई त मेरा मनका असङ्ख्य कोलाजहरूलाई उस्तै गरी दुरुस्त रङ्गबद्ध गर्ने लिपिबद्ध गर्ने, सुरबद्ध गर्ने फुर्सद भएछ नि ! जरूर तिनीहरूले मजस्तै धेरै युद्ध लडे होलान् । हो म उनीहरूलाई सम्झिरहेछु मेरा हर सम्बोधनहरूमा…..।’ मोमिला अन्ततः ती महानुभावहरू जहाँ छन् त्यहीँ जान चाहन्छिन् । अझ अगाडि लेख्छिन्, ‘कति एक्लो छ मान्छे आखिर ! हरपल ऊ एउटा सादृश्य साथ खोजिरहन्छ ।’
मोमिला स्वीकृत अस्तित्वका अस्वीकृत भोगाइको साथमा रहने पीडा र यातनालाई सुरुचिपूर्ण जीवन जिउने सशक्त प्रेरणा मान्छिन् । अस्तित्ववादी चेतनाले भरिली मोमिला लेख्छिन् ‘सपनाहरू चोइटिएर बाटाभरि छरिए पनि, चोइटिएर जहाँको त्यहीँ रोकिएका सपनाका लागि जिन्दगी कहाँ रोकिन्छ र !’ हो मोमिला ! जीवन एक सपना त रहेछ । सपना, फेरि सपना र अनन्त सपना । हो मोमिला ! जिन्दगी वास्तवमा सोच्नलायकभन्दा बढी भोग्न लायक रहेछ ।
मोमिला जिन्दगीको अन्तहीन पत्थर उचालिरहेको सिसिफस जस्तै लाग्छिन् मलाई । जब अस्तित्वले बोकाएको पत्थर बोक्नु नै छ भने खुशी भएरै किन नबोक्ने ? पीडा र दर्द देखाउँदैमा देखिदिने पो को छ र यहाँ । यो जिन्दगी मलाई जति विसङ्गत लाग्छ, अर्कोलाई पनि त्यस्तै त लाग्दो हो । आआफ्नो भागको पत्थर सबैले बोक्नुछ । आआफ्नो जीवनको अर्थ आफैंले खोज्नुछ । मोमिलाको ‘आदिम सन्दर्भ’मा झैं एकैसाथ गाई चराउने कृष्ण र रुसो कहाँ पाउन सकिन्छ र यहाँ । अब त्यो सपनाको आदिम देशमा जस्तो सप्रसङ्ग – अप्रसङ्ग आदिम प्यासहरू कहाँ त्यस्तो प्राकृत तवरले बुझाउन पाइन्छ र यहाँ । आजको आधुनिक समाजमा ती निर्दोष आदिम प्रियताहरू कहाँ भेट्टाउन पाइन्छ र ! हो मोमिला ! हामीले जस्तो समय र जीवन प्राप्त गरेका छौं, त्यसैमा अर्थ खोज्नुपर्छ । अन्ततोगत्वा हाम्रो अस्तित्व नै एउटा उत्सव रहेछ भनेर स्वीकार गर्नुपर्छ ।
मोमिला बडो सरस तवरले जटिल प्रसङ्गको उठान गर्दै लेख्छिन्, ‘जिन्दगीलाई आफ्नो इच्छानुसार समाप्त गर्नुपर्ने हो कि भनेर मैले पनि कहाँ नसोचेको हो र ! बाँचेपछि जिन्दगीलाई सहनु त पर्छ नै ! फेरि पनि यसै लागिरह्यो, म समाप्त भएँ भने तिमीलाई बचाउने को ?’ ………। मोमिला जिन्दगीलाई देखेर विस्मित छन् । उनी जागतिक जटिलतालाई देखेर विस्मित छन् । त्यसैले त उनी आफ्ना वाक्यलाई प्रायः विस्मयादिबोधक चिह्नबाट विराम दिन्छिन् । प्रखर अस्तित्ववादी चेतनामा लुछुप्प भिजेकी उनी लेख्छिन्, ‘हामीलाई कसैले केन्द्र मानून् नमानून्, हाम्रा लागि हामी आफैंमा केन्द्र हौं ।’ मोमिलाको अस्तित्ववादमा सार्थकता छ । दार्शनिक अल्बेयर कामुले ‘सिसिफस खुशी छ’ भनेर मान्नुपर्छ भन्ने सन्देश दिए जस्तै मोमिलाको दर्शनले पनि व्यक्तिको आफ्नो अस्तित्वलाई प्राथमिक स्थानमा राखेको छ । उनको निचोड छ, म नै मेरो केन्द्रविन्दु, म नै मेरो अस्तित्व, म जहाँ उभिन्छु त्यही नै मेरो आफ्नोपन र मेरो रथको सारथी पनि म स्वयं । उनी शर शय्यामा सुतेका भीष्म पितामहको सांसारिक अल्झाइ र लियो तोल्स्तोयको कथाको मनुष्यलाई आवश्यक पर्ने जमिनको प्रसङ्ग दिंदै जीवनको शाश्वत परिणतिबारे लेख्छिन्, ‘अन्तत: खरानीमाटो बनेर जमीनकै हिस्सा बन्नेछु ।’ मानव जुनीसम्बन्धी अत्यन्त गम्भीर चेतनाले सिक्त मोमिलाको सन्देश बडो प्रगाढ छ । मोमिलाका शब्द शब्दले सचेत पाठकलाई जीवनबोध मात्र नभई मृत्युबोधको समेत समीपमा पुर्याउँछन् ।
मोमिलाको सन्देशको मर्म हो, ‘बेतुकको जिन्दगी ।’ परन्तु उनी त्यही बेतुकापनमा गुम हुन चाहदिनन् । उनी बेतुकभित्रै तुकको खोजी गर्छिन् र सौभाग्यवश भेट्टाउँछिन् पनि । अस्तित्ववादी लेखनको सुन्दर उदाहरण हो मोमिलाको ‘प्रश्नहरू त बाँकी नै रहन्छन् …’ । मोमिलाले जीवनलाई अर्थहीन मान्छिन् । यसलाई अर्थहीनताको भुमरीमै छाडिदिएको भए उनको अस्तित्ववाद निराशावादको सन्देशबाहक बनेर टुङ्गिने थियो । परन्तु उनले अर्थहीन जीवनलाई अर्थ दिने प्रयास गरिन् र सफल पनि भइन् । यही नै उनको लेखकीय उपलब्धिको कडी हो ।
यति हुँदाहुँदै पनि मोमिला मामिलालाई टुङ्गो लगाएर थान्कोमा पुर्याउन चाहदिनन् । उनी जीवनको पेचिलो मुद्दामाथि फैसला गरेर विराम दिनमा रुचि राख्दिनन् । उनी त यो विषयलाई अविरलरूपमा उठान गरिरहन सबैमा उत्साह जगाउन चाहन्छिन् । किनकि यहाँ सदासर्वदा प्रश्नहरू त बाँकी नै रहन्छन्… ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










