जापानी भाषामा ‘कोडोकुशी’ भनेको ‘लोअन्ली डेथ’ अर्थात् ‘एकान्त मरण’ हो ।

जापानमा सन् १९७३ मा राष्ट्रिय समाज कल्याण परिषद्ले एउटा सर्भे गरेको थियो । त्यस सर्वेमा के भेटियो भने एउटा ६९ वर्षको मानिस मरेको, तीन वर्ष पछि भेटियो । उसको शरीरका सबै भागहरू कुहिएर कीराहरूले खाइसकेका थिए । अस्थिपञ्जर मात्र बाँकी थियो । यो कुरा तब मात्र पत्ता लाग्यो कि जब उसको घरभाडा र पानी बत्तीको पैसा तिरिएन ।

उसको बैङ्क खाताबाट अटोमेटिक पैसा जाने गर्दथ्यो । उसको बैङ्क खातामा पैसा सकिएको रहेछ । यसरी बिल तिर्न क्रममा उसको खोजी भएको हो । अनि मात्र तीन वर्ष अगाडि नै उसको मृत्यु भैसकेको कुरा पत्ता लाग्यो । त्यसरी थाहा भएको कोडोकुशी १९९४ मा आइपुग्दा बढेर १०४९ पुगेको कुरा जापानी ब्रोडकास्टिङ कर्पोरेसनले सम्प्रेषण गर्‍यो ।

जापानी ब्रोडकास्टिङ कर्पोरेसनले सन् २००९ मा आइपुग्दा कोडोकुशी अकासिएर ३२००० पुगेको कुरा प्रसारण गर्‍यो । यसमा ५० वर्ष माथिका मानिसहरू रहेको रेकर्ड थियो ।

टोकियोमा मात्र सन् २००८ मा २,२०० जनाको मृत्यु भएको थियो । ओसाकाको एउटा प्राइभेट मुभिङ कम्पनीले वार्षिक ३०० कोडोकुशिका सामानहरू सार्ने गरेको जानकारी गरायो, जुन उसको कुल मुभिङ कार्यको करीब २० प्रतिशत हो ।

सामाजिक राष्ट्रिय प्रहरी एजेन्सीको तथ्याङ्कअनुसार सन् २०२४ को मध्यसम्म आइपुग्दा जापानमा कोडोकुशीका घटना ३७,२२७ पुगेका छन् । यीमध्ये करीब ७० प्रतिशत मृत्यु ६५ वर्षभन्दा माथिको उमेर समूहमा परेको छ । त्यसमध्ये करीब ४,००० लाश एक महिनाभन्दा बढी समयअघि नै मृत्यु भइसकेको अवस्थामा फेला परेका थिए भने १३० जनाको मृत्यु एक वर्षअघि नै भइसकेको अवस्था भेटिएको थियो ।

कोडोकुशीका विभिन्न कारण भए तापनि यसको प्रमुख कारण पुस्तौँदेखि बस्दै आएका पुर्ख्यौली घरमा एक्लै बस्ने अवस्था हो । सामाजिक तथा सामुदायिक क्रियाकलापमा सहभागी हुन उपयुक्त वातावरण नहुनु, परिवारमा सदस्य नहुनु वा भएका सदस्य तथा छिमेकीहरूसँग दूरी बढ्दै जानु र सम्पर्क विच्छेद हुनु पनि यसको अर्को कारण हो । साथै विविध कारणले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा पहुँच नहुनुले एक्लोपन झन् गहिरिँदै गएको देखिन्छ ।

जापानमा सन् १९९० को दशकमा आएको आर्थिक मन्दीको असरले पनि कोडोकुशीका घटना बढेको अनुमान गर्न सकिन्छ । उक्त मन्दीका कारण थुप्रै व्यापार–व्यवसाय बन्द भए । र धेरै मानिसहरू उमेर नपुग्दै रोजगारीबाट निवृत्त हुन बाध्य भए । चाँडो निवृत्त हुँदा पेन्सनको रकम न्यून हुनु, बेरोजगार अवस्थामा पुग्नु र सीमित आम्दानीले दैनिक आवश्यकता पूरा गर्न नसक्नुले जीवन अझ असहज बनायो । लामो समयसम्मको एकान्त बसाइले डिप्रेसनलगायत विभिन्न शारीरिक तथा मानसिक रोगहरू निम्त्यायो, तर उपचारका लागि पहुँच नहुनु अर्को गम्भीर समस्या बन्यो ।

यसका अतिरिक्त पछिल्ला वर्षहरूमा विवाह नगर्ने प्रवृत्ति बढ्नु र एक्लै जीवन बिताउने मानिसहरूको संख्या बढ्नु पनि कोडोकुशीका घटनामा वृद्धि हुनुका महत्त्वपूर्ण कारणका रूपमा देखिन्छ ।

हाम्रो नेपालमा पनि गाउँगाउँबाट युवा पुस्ताहरू अध्ययन र रोजगारीका लागि घर छोडेर जानेक्रम बढेर गएको छ । कति गाउँहरूमा जोतखन गर्ने मानिस नभएर जग्गा जमीन झाडीमा रूपान्तरण भएका छन् । छोराछोरीहरू गाउँ नफर्किए पछि गाउँमा वृद्ध बाआमा मात्र बस्ने गर्दछन् । गाउँहरूमा छरछिमेकी पनि टाढाटाढा मात्र हुने गर्दछन् । एउटा वृद्धलाई छिमेकीको घरमा पुगेर फर्किनलाई समेत मुश्किल हुने गर्दछ । नजिकै स्कूल, अस्पताल, हुलाक र कुनै सामुदायिक या सरकारी कार्यालयहरू नहुनाले गाउँमा वृद्धवृद्धाको  एकान्तवास बढ्दै गएको छ ।

आफ्नो जन्मभूमि पुर्खाको थलो भन्दै बसेका मानिसहरू हातपाउ बस्दै गए पछि एक्लो र असहाय भएका छन् ।

तीन वर्ष अगाडिको मात्र एउटा घटना हो । यो काठमाडौं भ्यालीभित्रै ललितपुरको लुबु नजिकको एउटा घटना हो । एक जोडी वृद्धवृद्धा मात्र घरमा बस्दा रहेछन् । बुढा मानिस लडेर खुट्टा भाँचिएछ । श्रीमतीले अस्पताल लान सक्ने अवस्था पनि थिएन । टाढा रहेको छिमेकीलाई खबर गर्न जाने शक्ति पनि उनमा थिएन । कराउँदा सुन्ने ठाउँ पनि थिएन । उनी आफैँ हिंड्न सक्ने अवस्थामा पनि थिइनन् । करीब छ दिनपछि संयोगले जनगणना गर्ने मानिस त्यस घरमा पुगेछन् ।

ती मानिसले त्यहाँको स्थिति देखेर बुझेपछि टाढाटाढा रहेका छिमेकीहरूलाई खबर गरिदिए । अनि मात्र ती बृद्धले उपचार पाए ।

यो त एउटा नमूना मात्र हो । अझ  एकान्तमा बस्ने वृद्धवृद्धालाई हुने लुटपाट र हिंसाको अर्को पाटो पनि उत्तिकै कहालीलाग्दो छ । मानवीयताको खडेरी लागेको छ । मानिसमा नैतिकता र जिम्मेवारी बोध प्रतिदिन स्खलित हुँदै छ । अशिक्षा र बेरोजगारीले मानिसहरूलाई विभिन्न अपराधमा सामेल हुन दुरुत्साहित गर्दछ ।

सामाजिक अभियन्ताहरू, समाजशास्त्री, राजनैतिक चिन्तकहरू र विश्लेषकहरू साहित्यकार र सञ्चारकर्मीहरू सजग बन्नु जरूरी छ । सबै सचेत बनेर सरकारलाई समयमै सजग नगराउने हो भने जापानी कोडोकुशीको महामारीले नेपालका गाउँगाउँमा पसेर नफैलेला भन्न सकिन्न !

क्यानडा