काठमाडौं । साहित्यिक पत्रकार तथा निबन्धकार रोचक घिमिरेलाई यस वर्षको ‘लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार’ प्रदान गरिने भएको छ ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाका अनुसार नेपाली उपन्यासमा पहिलोपटक मदन पुरस्कार प्राप्त साहित्यकार लीलाध्वज थापाको स्मृतिमा स्थापित उक्त सम्मान घिमिरेलाई अर्पण गर्न लागिएको हो ।
विगत ६५ वर्षदेखि निरन्तर रूपमा ‘रचना’ साहित्यिक पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आउनुभएका घिमिरे नेपाली साहित्यिक पत्रकारिताका अग्रणी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । हालै ‘रचना’ले आफ्नो २००औँ पूर्णाङ्क प्रकाशित गरेको छ ।
प्रकाशनकालदेखि नै राजधानीबाहिरका प्रतिभालाई प्राथमिकता दिँदै आएको ‘रचना’ नेपाली साहित्यिक पत्रकारिताको सबैभन्दा पुरानो निरन्तर प्रकाशित पत्रिकामध्ये एक मानिन्छ । उक्त पत्रिकामार्फत थुप्रै साहित्यिक प्रतिभाले परिचित हुने अवसर प्राप्त गरेका छन् ।
प्रतिष्ठानका अनुसार सम्मानित व्यक्तित्वलाई सम्मानपत्रसहित २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।
यसअघि ‘लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार’बाट सत्यमोहन जोशी, वासुदेव त्रिपाठी, तारानाथ शर्मा, तुलसी दिवस, गोपीकृष्ण शर्मा, ज्ञानमणि नेपाल, प्रा. डा. दयाराम श्रेष्ठ तथा गीता केशरी सम्मानित भइसक्नुभएकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










