दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले चैत २३ गते वृहत बहुभाषी काव्य उत्सव आयोजना गर्ने भएको छ।
यस उत्सवमा नेपालीसहित कुमाल, अवधि, नेवारी, थारु, मगर र संस्कृत जस्ता विभिन्न भाषाका रचनाहरूको प्रस्तुति रहनेछ। विशेषतः लोपोन्मुख अवस्थामा रहेको कुसुण्डा भाषाका रचनाहरूलाई समेत समावेश गरी यस उत्सवले भाषा र साहित्यको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यस वर्ष पनि उत्सवमा स्रष्टा सम्मान तथा पुरस्कार वितरण गरिनेछ। राप्ती साहित्य परिषद् दाङ शाखा अन्तर्गत ‘यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार’, ‘वेदप्रसाद जयश्वरी राउत स्मृति पुरस्कार’ र ‘कृष्ण गायत्री प्रज्ञा पुरस्कार’ प्रदान गरिनेछन्। पुरस्कारका लागि दीपक शर्मा “समीर” (संयोजक), शारदा शर्मा र सुरेश कुमार पाण्डे सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरिएको छ।

परिषद्का अध्यक्ष यम रेग्मीका अनुसार, पहिचानको खोजी गर्ने युगमा मातृभाषा र साहित्यको संरक्षण अत्यन्त महत्वपूर्ण छ। कुनै पनि जातिको पहिचान जोगाउन मातृभाषा र साहित्यले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। उहाँले थप्नुभयो, “यस कार्यक्रमले मातृभाषाहरूको संरक्षणमा थोरै भए पनि टेवा पुर्‍याउनेछ। श्रोताहरूले एउटै मञ्चबाट विभिन्न भाषाका रचनाहरूको रसास्वादन गर्न पाउनेछन्, साथै साहित्यमा लामो समयदेखि योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान र पुरस्कृत गरिनेछ।”

बहुभाषी काव्य उत्सवले नेपालको सांस्कृतिक विविधतालाई झल्काउने र लोपोन्मुख भाषा तथा साहित्यको संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। यस कार्यक्रमले भाषा र साहित्यको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास पनि व्यक्त गरिएको छ।