काठमाडौं । रोल्पा कला–साहित्य प्रतिष्ठानको आयोजनामा ‘कुइख्याङ’ विमर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ । रोल्पाबारे एकाउन्न जना कविहरुले लेखेका एकाउन्न कविताहरु सङ्ग्रहित ‘कुइख्याङ’लाई युग सर्वनामले सङ्कलन र सम्पादन गर्नुभएको छ भने कृतिको प्रकाशन रोल्पा कला–साहित्य प्रतिष्ठानले गरेको हो ।
कविता सङ्ग्रहको विमर्शमा वक्ताका रुपमा जनसाँस्कृतिक महासंघका अध्यक्ष भीम कुमाखी, लेखक बन्दना ढकाल र अनुसन्धाता तथा लेखक नवीन विभास हुनुहुन्थ्यो।
जनसाँस्कृतिक महासंघका अध्यक्ष कुमाखीले शोषित–पीडित वर्गको आवाजलाई कविता सङ्ग्रहले सशक्त बनाएको बताउनुभयो । जनयुद्धको उद्गमस्थल रोल्पाका नागरिकहरुमा अझै पनि उत्तिकै प्रखर विद्रोहात्मक चेत रहेको उहाँको जिकिर थियो ।
उहाँका अनुसार सङ्ग्रहले इतिहासका गहन प्रश्नहरुको निरुपण गर्नुका साथै साँस्कृतिक पक्षहरु बारे पनि बहसको उठान गरेको छ । जनयुद्ध बारे लेखिएका कविताहरुमा जनयुद्धताका र त्यसपछिको समाजमा परेको साँस्कृतिक प्रभावको सचित्र वर्णन रहेको उहाँले बताउनुभयो । कुमाखीले भन्नुभयो, ‘जनयुद्धमा सक्रिय रुपमा सहभागी भएको हैसियतले रोल्पा र जनयुद्धको इतिहासप्रति हामीलाई सदैव गर्व महसुस हुनेछ ।’
लेखक बन्दना ढकालले राजनीतिक संवेदनशीलताको दृष्टिकोणबाट हेर्दा सङ्ग्रहका कविताहरुले जनयुद्ध बारे आम जनमानसलाई बुझाउन अहम् भूमिका खेल्ने बताउनुभयो । सङ्ग्रहका कवितामा रोल्पावासीको विद्रोह र संघर्ष बारे पढ्दा पाठकहरु उद्वेलित हुने र यस्तो उद्वेलन स्वाभाविक रहेको बताउनुभयो ।
रोल्पावासीले राज्य उत्पीडनका विरुद्ध सधैं विद्रोह रोजेको उहाँले जिकिर गर्नुभयो । यही विद्रोहात्मक चेत नै रोल्पावासीको पहिचान भएको उहाँको भनाइ थियो । उहाँका अनुसार सङ्ग्रहका कविताले विभिन्न समयमा भएका युद्धहरुबारे राज्यनिर्मित गौरवगाथामाथि आलोचनात्मक मत राख्न मद्दत गर्नेछन् ।
ढकालले भन्नुभयो, ‘यो सङ्ग्रहमार्फत् इतिहासलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्न सहयोग पुग्नेछ ।’
अनुसन्धाता तथा लेखक नवीन विभासले सङ्ग्रहका कविताहरु जनयुद्धको संस्मरण मात्रै नभएर न्यायप्राप्तिको यात्रामा यस्तो साहित्यले ठोस भूमिका खेल्ने बताउनुभयो। सङ्ग्रहले समकालीन राजनीतिक परिस्थितिमा नयाँ संघर्षको लागि वैचारिक मार्ग प्रशस्त गर्ने जिकिर गर्नुभयो । सङ्ग्रहले जनयुद्धलाई दार्शनिक र साँस्कृतिक दृष्टिकोणबाट चित्रण गरेको उहाँको भनाइ थियो । युद्धको स्वरुप आफैमा भयानक र विभत्स भएता पनि सङ्ग्रहले यसको रचनात्मक प्रतिबिम्ब देखाउन सफल भएको उहाँले बताउनुभयो।
विभासले भन्नुभयो, ‘सङ्ग्रहको नामले नै रोल्पा र जनयुद्धको साँस्कृतिक पहिचानमाथि अपनत्व महसुस गराउँछ ।’
सम्पादक युग सर्वनामका अनुसार कुइख्याङ शब्द मगर खाम भाषाबाट लिइएको हो । जसको अर्थ कोसेली दिनु, कोसेली चढाउनु भन्ने हुन्छ ।
रोल्पा मगर खामभाषीहरुको बाहुल्य भएको जिल्ला हो । रोल्पा कला–साहित्य प्रतिष्ठानका अध्यक्ष जीवनप्रवेश रोकामगरको अध्यक्षतामा सम्पन्न विमर्शको सहजीकरण बच्चु हिमांशुले गर्नुभएको थियो । सङ्ग्रहको विमोचन भने गत बिहिबार जनयुद्ध दिवसको अवसर पारेर पेरिसडाँडामा गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










