द्रोण अधिकारी, भद्रपुर । लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि लामो समयदेखि क्रियाशील झापा भद्रपुरका इन्द्रप्रसाद ओलीले लागूपदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धी चेतनामुलक पुस्तक ‘दिव्य दृष्टि’ प्रकाशित गरेका छन् ।
चेतना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक, राष्ट्रिय हिन्दु एकता मंञ्चका अध्यक्ष समेत रहेका ओलीको यो पुस्तक पाँचौं कृतिका रूपमा प्रकाशित भएको हो ।
कृतिभित्र कहिलेदेखि र कहाँबाट नेपाली समाजमा लागूऔषधको प्रकोप प्रवेश गर्यो भनेर खोज्ने प्रयास गरिएको छ । नेपालमा लागूऔषध ल्याउने र नेपाली युवा युवतीहरूलाई दुर्व्यसन बनाउने काम हिप्पी–जिप्सीहरूबाट स्थापित भएको मानिन्छ । विदेशी पर्यटक सहज आवतजावतको वातावरण बनेपछि यो विनाशकारी कुलतले खासगरी देशको भविष्यका कर्णधार युवा पिँढीलाई नष्टभ्रष्ट तुल्याउने अवस्था बढ्दो छ ।
खासगरी १५ देखि १९ वर्ष उमेर समूहका किशोर—किशोरीलाई लागूपदार्थको दुर्व्यसनमा फसाउन सफल भएका माफियाहरूले आफ्नो कालो व्यापार फस्टाउन सफल भइरहेको चिरफार गर्ने प्रयास लेखकको छ । दुर्व्यसन रोकथाम गर्ने आवश्यकता दुर्व्यसनी भएका पीडित घरपरिवारले गरिरहेको भए पनि समाज र राष्ट्रको नेतृत्व गर्ने अगुवाहरूको प्राथमिकतामा नपरेका कारण लागूऔषध कारोवार तीव्र गतिमा वृद्धि भइरहेको पुस्तकले संकेत गरेको छ ।
यसअघि उनले लागूऔषधसम्बन्धी नै विभिन्न पुस्तकहरू प्रकाशित गरेका थिए । नेपाल प्रहरीमा लामो समय सेवारत रही लागूऔषध दुर्व्यसन नियन्त्रणको क्षेत्रमा २०५६ सालदेखि उनी क्रियाशील छन् । प्रहरी नायव निरीक्षक पदबाट उनले २०६२ सालमा स्वेच्छिक अवकास पाएका थिए । त्यसयता झापामा रहेर लागूऔष दुर्व्यसन विरूद्ध विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेका ओली धार्मिक जागर अभियानमा समेत कृयाशील छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 










