डा. चन्द्र गिरीको यात्रा संस्मरण ‘संसारको सेरोफेरो’ प्रकाशनमा आउने भएको छ । पुस्तक भाद्र तेस्रो साताबाट बजारमा उपलब्ध हुने प्रकाशक साहित्यपोस्टले जनाएको छ ।

विश्वको मेन्ग्रोबको नक्सांकन र अनुगमन गर्ने गुरुका रूपमा चिनिएका लेखक तथा गीतकार गिरीको विश्वका विविध भूगोलका रोचक तथ्यसहितको पुस्तक प्रकाशनमा आउने भएको हो ।

गिरीका संस्मरणहरूमा उनले यात्रा गरेका ठाउँको संस्कृति, इतिहास, मानवीय क्रियाकलाप, खानापान तथा रहनसहन समेटिएका छन् । उनका व्यक्तिगत अनुभव, स्वभाव र जीवनयापन समेत पुस्तकमा प्रस्ट रूपमा चित्रित गरिएको छ ।

डा. गिरीले विश्वका १२६ देशको भ्रमण गरी त्यहाँका नेता तथा विशिष्ट व्यक्तित्वहरूसँगको सहकार्यमा काम गरेका छन् । एक दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गिरी आफ्नो त्यही औपचारिक र अनौपचारिक यात्राहरूको दस्तावेजका रूपमा यो कृति प्रकाशनमा आएको बताउँछन् ।

‘कतिपय लेखकले एउटा ठाउँ वा एउटा देश घुमेर पुस्तक लेख्नुहुन्छ ।’, लेखक गिरी भन्छन्, ‘मेरो हकमा धेरै देश घुमेर यो संस्मरण लेखेको हुँ । कतिपय ठाउँमा पटक–पटक गएको हुनाले मेरा अनुभव धेरै पटकको हुनसक्छ ।’

खोटाङको चिमचिमामा जन्मिएका डा. गिरी हाल अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार र ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसरका रूपमा कार्यरत् छन् । उनीसँग विश्वको विभिन्न देशमा बसेर सरकारी, शैक्षिक तथा निजी क्षेत्रमा काम गरेका अनुभव छ ।

नेपालमा सरकारी जागिरबाट करिअर शुरु गरेका गिरीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, राष्ट्र संघीय वातावरण कार्यक्रम (युपेन), कोलम्बिया युनिभर्सिटी, ड्युक युनिभर्सिटी, नर्थ क्यारोलिना स्टेट युनिभर्सिटी, साउथ डकोटा स्टेट युनिभर्सिटी र युनाइटेड स्टेट्स जिओलोजिकल सर्भेजस्ता विश्वप्रसिद्ध संस्थाहरूमा काम गरिसकेका छन् ।

डा. गिरीको यात्रा संस्मरणलाई प्रकाशनमा ल्याउन पाउँदा खुशी मिलेको बताउँछन् साहित्यपोस्टका प्रधान सम्पाद अश्विनी कोइराला । भन्छन्, ‘‘विश्वका १ सय २५ बढी देशको भ्रमण गर्नु सामान्य मानिसका लागि कल्पनाबाहिरको कुरा हो । यस किसिमको गहिकिलो पुस्तक पाठकहरूमाझ ल्याउन पाउँदा खुशी लागेको छ ।’

पुस्तकमा ३६ थान यात्रा संस्मरणहरू सङ्ग्रहित छन् । २ सय ५० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५० रुपियाँ (१० अमेरिकी डलर) रहनेछ ।