विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले यस वर्षको ‘सुदीस निरौला स्मृति साहित्य पुरस्कार’ कवि शकुन्तला जोशीलाई प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १५ हजार राशिको सो पुरस्कार कवि जोशीलाई प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका वरिष्ठ कवि एवं समालोचक कृष्ण प्रधान, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख डा. बाबुराम तिम्सिना, प्राध्यापक कविराज न्यौपाने, प्राडा मेदिनीप्रसाद शर्मा, पुरस्कार संस्थापक टीका सुदिस निरौलालगायतले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरे थियो ।
विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय जोशी सञ्चार क्षेत्रमा समेत आबद्ध छिन् । सो पुरस्कारबाट यसअघि महेश पौड्याल, मिलन समिरलगायत पुरस्कृत भइसकेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रधानले विराटनगर भाषा, साहित्य, कला र संस्कृतिको उर्बर भूमिका भएको बताए । सो कार्यक्रममा साहित्यकार भेषराज पोखरेल, आयोजक संस्थाका महासचिव गोकुल अधिकारी, पत्रकारसमेत रहेका आयोजक संस्थाका सचिव मीनकुमार नवोदित, कवि लक्ष्मी पोखरेललगायतले सुदिस निरौलाको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरेका थिए ।
त्यसैगरी कार्यक्रममा कवि टीका आत्रेय, पराजित पोमु, अमित थेबे, किशोर कोइराला, विमला पोखरेल, टंक राजवंशीलगायतले कविता वाचन गरे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० असार २०८३, शनिबार 










