कृष्ण कुसुमको कथासङ्ग्रह पार्श्वधुनमाथि परिचर्चा सम्पन्न भएकाे छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस अमेरिकाको आयोजनमा परिचर्चा कार्यक्रम सम्पन्न भएकाे हाे ।

पछिल्लो समय डायस्पोराबाट नेपाली साहित्यले पाएको उत्कृष्ट कृति भएको समीक्षकहरुले बताएका छन् । वक्ताहरूले प्रवासी जनजीवनका विषयलाई मिहिन ढंगले उतार्न कथाकार कुसुम सफल भएको धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा समीक्षकको रूपमा लेखक शतिश त्रिपाठीले कथाकारको लेखनलाई झण्डै दुई दशकदेखि नियाल्दै आएको र कुसुमले कथासंग्रहको रुपमा पहिलो संग्रहमा नै उत्कृष्ट पुस्तक दिन सफल भएको टिप्पणी गरे । उनले संग्रहमा संग्रहित तेह्रै वटा कथाको विषयले आफूलाई छोएको बताए ।

साथै, हरेक कथाहरुमा उपकथाहरु जोडिएर आएको कुरा उल्लेख गर्दै हरेक कथा उपकथासंग्रह भएकोले यौटै कथामा पनि विविध विषय समेटिएकाले यो संग्रह आफूलाई विशेष लागेको कुरा व्यक्त गरे ।

त्यसैगरी, अर्का वक्ता निर्मला राईले पार्श्वधुनका कथा सरल भाषामा लेखिएको आफ्नै वरपरका कथाहरु भएकाले सबै कथामा आफ्नै कुराहरु आएको टिप्पणी गरिन् । यौटा पुरुष लेखकले महिलाको कुराहरु महिलाले जस्तै न्याय गरेकोमा कथाकारलाई धन्यवाद दिइन् । साथै, कुसुमका कथामा प्रयोग गरिएको बिम्बहरुले आफूलाई पूर्वी पहाडको बाल्यकालमा पुराएको भन्दै कथाकारको लेखनशैलीको प्रशंसा गरिन् ।

कार्यक्रमका अन्तिम टिप्पणीकार भिम कार्कीले पार्श्वधुनमा विदेशी परिवेश, नेपाली राजनीति, सामाजिक चेतना र मनोविज्ञान गरी चारवटा विषय सजीव रुपमा चित्रण भएको व्याख्या गरे । कति कथा पढ्दा आफैंलाई जिरिंग बनाएको बताउँदै कथाकार विषय छनौटमा ऑंटिलो भएको र उठाएको विषयलाई राम्रोसँग न्याय गर्न सफल भएको कुरा बताए ।

अन्त्यमा, लेखकले आफू एक असन्तुष्ट पाठक भएको र सो असन्तुष्टि पूरा गर्न अरुले लेख्न छुटाएको विषयलाई प्रमुख विषय बनाएर आफूले कथा लेखेको बताए ।

झण्डै सय जनाको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन अनेसास ड्यालस च्यापटरका उपाध्यक्ष सुमन काजीले गरेका थिए भने उपस्थित समूहलाई संस्थाका सचिव पवन लामिछानेले स्वागत गरेका थिए ।