साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई नियात्राकार हेम अधिकारीकृत नियात्रासङ्ग्रह “उत्तरी ध्रुवतिर टहलिँदा” प्राप्त भएकाे छ ।
३ सय ३८ पृष्ठमा फैलिएको यस पुस्तकमा इस्तानबुलमा १२ घण्टा, वसन्त आउँछ रे, निर्वाचन : पर्व कि कर्म ?, थगरीथरीका असार पन्ध्र, पानीजहाजको यात्रा र टापुको गुप्तवास, प्रसन्नताको खोजीमा, त्यो रात ! लगायत ४८ थान शीर्षकमा क्यानाडाली यात्राको वर्णन छ । विशेष गरी एक नेपाली स्रष्टा नवभूमिमा पुग्दाको अनुभूति तरङ्गले बनिएको छ ।
“हामीलाई विश्वव्यापीकरणले छोपिसक्यो । जीवन पद्धति त्यही हावाले बदल्यो, गाउँगाउँमा विश्वबजार पस्यो तर सरकारहरू उनै सामन्ती कालका छन्, पार्टीहरू भर्तीकेन्द्र नै छन् । आफ्नो देशको यस्तो अवस्था देखेर क्यानडा नियालिरहेका लेखकलाई दुःख लाग्छ । यताका एकएक दृष्टान्त टिप्तै आफ्नो देशको स्थितिको तुलना गर्दछन् ।” भूमिकामा डा. गोविन्द भट्टराई लेख्छन्, “कृषिप्रधान विगत र वर्तमान शीर्षक आलेखमा त्यो विरक्ति छ । यता ढाँट, ठग र दलालहरूले आफ्नो देशको गाउँदेखि ‘केन्द्र’ सम्म कब्जामा लिएका छन्, उता विश्वलाई खुला शिक्षाले उदारता पढाइरहेको छ, शासनपद्धतिका उदारता सिकाइरहेको छ । किन मानिस क्यानडा, युरोप, अमेरिका र अस्ट्रेलिया जस्ता खुला मुलुकतिर खनिएका छन् ? किन कोही पनि अधिनायकवादी देशतिर बसाइँ जाने आकाङ्क्षा राख्दैनन्- ती यावत् कुराको उत्तर यिनै निबन्धमा पाइन्छ ।”
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “माथि सफा निलो आकासमा सेता घुर्मैला बादलका कत्लाहरू कताकता केही पर्खिरहेजस्ता देखिन्छन् । कुनैकुनै केही खोजिरहे जस्ता पनि देखिन्छन् । तिनका मुनि भएको त्यो सफा र व्यवस्थित सफारीमा दिनहुँ हजारौँ हजार पर्यटकहरू खुसीले पैसा तिरेर आउँदा रहेछन्, हेर्दा रहेछन्, घुम्दा रहेछन् र रमाइलो गरेर फिर्दा रहेछन् ।”
भुँडीपुराण प्रकाशनबाट बजारमा ल्याइएको पुस्तकको मूल्य ५ सय ९० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










